दुर्घटना न्यूनीकरणका लागि आँखा जाँच

ताप्लेजुङ । दुर्घटना न्यूनीकरणका लागि पहिलोपटक ताप्लेजुङमा सार्वजनिक सवारी साधन चालकहरूको आँखा जाँच गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्ला अस्पताल ताप्लेजुङ र डिचेन डोङ्गला आँखा अस्पतालसँगको सहकार्यमा आइतबार चालकको आँखा जाँच गरेको हो ।

ट्राफिक प्रहरीले जिल्ला सदरमुकामको प्रवेशद्वारमा सार्वजनिक सवारी साधन चलाउने चालकको निःशुल्क आँखा चेकजाँचका साथै सामान्य स्वास्थ्य परीक्षणसमेत गरेकोे छ । जिल्ला प्रहरी ट्राफिक कार्यालय ताप्लेजुङका प्रहरी हवल्दार दलबहादुर खत्रीले सवारी चालकबाट दुर्घटना हुने भएकाले सुरक्षाका लागि आँखा चेक जाँच गरिएको बताए ।

‘स्वास्थ्य प्राविधिक टोलीले चालकका आँखा जाँच गरे, हामीसवारी साधन चेकजाँच गर्दैर्छौं, ‘उनले भने, ‘यसबाट चालक र सवारी साधन सुरक्षित राख्न सकिन्छ ।’ ट्राफिक इन्चार्ज खत्रीले पहिलो पटक ताप्लेजुङमा चालकका आँखा चेकजाँच गरेको बताए । उनका अनुसार एकदिनमै ५२ जना सवारी चालकको आँखा परीक्षण गरिए्को बताए ।

परीक्षणमा चालकहरूको आँखामा सबैभन्दा बढी दृष्टीदोषको समस्या देखिएको आँखा चिकित्सक काजिमान थेवेले वताए । त्यसमध्ये ६ जनामा भने आँखाको जटिल प्रकारको समस्या देखिएको आँखा चिकित्सक थेवेले बताए । त्यस्ता सवारी चालकहरूलाई सुविधा सम्पन्न आँखा अस्पतालमा सम्पर्क गर्नसमेत सुझाव दिइएको छ ।

आँखा तथा स्वास्थ्य परीक्षणमा जिल्ला अस्पताल ताप्लेजुङ र डिचेनडोङ्गला आँखा अस्पतालका स्वास्थ्यकर्मी एवं चिकित्सकको सहभागिता रहेको छ । ट्राफिक सचेतनाका लागि पनि आँखा परीक्षण कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यस्तो कार्यक्रमलाई महिनामा एकपटक सञ्चालन गर्ने तयारी गरिएको पनि प्रहरी हबल्दार खत्रीले बताए ।

प्रतिक्रिया