एकताको बाँकी काम सचिवालयबाट

काठमाडौं । एकताको विषयमा कार्यदलमा विवाद देखिएपछि नेपाल कम्युनिष्ट पार्टीले बाँकी काम सचिवालयबाटै गर्ने भएको छ । लामो समय दिदा पनि शक्तिशाली भनिएको कार्यदलले सात वटा बैठकबाट केही पनि काम गर्न नसकेपछि सचिवालयबाटै थप प्रक्रिया शुरु गर्न लागिएको हो ।

सोमबार बोलाइएको सचिवालय बैठकले एकताका बाँकी काम दुवै अध्यक्षलाई दिने तयारी गरेको छ । पार्टीको एकताको सम्पूर्ण सांगठिक काम पूरा गर्ने जिम्मेवारी दिएर गठन गरिएको कार्यदलले काम गर्न नसकेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एकताको बाँकी काम आफैले गर्नेगरी अधिकार आफ्नो हातमा लिने तयारी गरेका हुन् । कार्यदलमा विशेषगरी प्रदेशका विषयमा विवाद निस्किएको थियो । दोहोरो जिम्मेवारी दिने कि नदिने भन्नेमा विवाद भएपछि पछिल्लो समय बैठक नै बस्न सकेको थिएन ।

केन्द्रमा दुई पार्टी (तत्कालीन एमाले र माओवादी)बीच एकता भए पनि एकताका बाँकी काम टुंगो लगाउन नेकपाको स्थायी समिति बैठकले गएको पुस १३ गते ९ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलको बैठक अगाडि बढ्नै नसकेपछि दुई अध्यक्षले सचिवालयको निर्णय गराई अधिकार आफ्नो हातमा लिने तयारी गरेका हुन् । पुस मसान्तसम्म काम सम्पन्न गरिसक्ने भनेको कार्यदलको मुस्किलले सात वटा बैठक मात्र गर्न सकेको छ ।

यसविचमा कसरी एकतालाई टुंगोमा पु¥याउने भनेर दुई अध्यक्षबीच पछिल्लो समय निरन्तर छलफल हुँदै आएको छ । शनिबार पनि दुईअध्यक्ष अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । छलफलपछि सचिवालय बैठक बोलाउने निर्णय भएको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताको प्रक्रिया अगाडी बढाउन सचिवालय बैठक बोलाइएको जानकारी दिए । उनले भने,‘सोमबार विहान १० बजे सचिवालयको बैठक बोलाइएको छ, एकताका बाँकी सो बैठकले अगाडी बढाउने छ ।’

मंसिर २९ देखि पुस १३ सम्म चलेको स्थायी कमिटीको बैठकले सचिवालय सदस्य रामबहादुर थापा ’बादल’को नेतृत्वमा ९ सदस्यीय शक्तिशाली कार्यदल गठन गरेको थियो । एकताको काम पूरा गर्नका लागि गठन गरिएको यो चौथो कार्यदल हो । यसअघि विभिन्न समयमा विभिन्न नेताहरूको नेतृत्वमा तीन वटा कार्यदल बनाइएको थियो । ती कार्यदलले पनि अधुरो काम मात्रै गरेका थिए ।

चौथोपटक गठन गरिएको कार्यदललाई जिल्लाको नेतृत्व टुंग्याउने सहित बाँकी एकताका सम्पूर्ण काम पुरा गर्नेगरी अन्तिम खाका तयार पार्नेगरी अधिकार दिइएको थियो । प्रदेश कमिटीमा १० प्रतिशत छुटेका नेताहरू थप्ने भन्ने विषयले प्रवेश पाएपछि बिवाद चुलिएको हो । कार्यदलमा अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका ३–३ जना नेता सदस्य छन् ।

प्रतिक्रिया