मणिपुरबाट १ सय ३६ को उद्धार

काठमाडौं । दलालले अवैध रूपमा वैदेशिक रोजगारीमा लैजान लागेका १३६ नेपाली महिलाको भारतको मणिपुरबाट उद्धार गरेको छ । भारतको उत्तरपूर्वी राज्य मणिपुरबाट बिहीबार १०५ र शुक्रबार ३१ जना गरी १३६ जना नेपाली महिलाको उद्धार गरेको हो ।

उनीहरूलाई म्यानमारको बाटो भएर इराक र दुबई लगायतका स्थानमा लैजान लागिएको आशंका गरिएको छ । इम्पल्स एनजीओ नेटवर्कको सहयोगमा मणिपुर पुलिसले म्यानमारसँग सीमा जोडिएको क्षेत्र, होटल र विमानस्थलबाट उद्दार गरिएको हो । नेपाली महिलालाई अवैध रूपमा मणिपुरको बाटो भएर म्यानमार लैजान खोजेको सूचना माइती नेपालले दिएपछि प्रहरीले सर्च अभियान थालेको थियो । त्यसक्रममा विभिन्न ७ वटा सेल्टरमा राखिएको अवस्थामा उनीहरूलाई फेला पारेको प्रहरीले जानकारी दिएको छ । उद्धार गरिएका अधिकाशं १९ देखि ३१ वर्ष उमेर समूहका रहेका छन् ।

सेल्टरमा रहेकी महिलाका अनुसार उनीहरूलाई सुनौलीको नाकाबाट विभिन्न समयमा छुट्टाछुट्टै लिएर नयाँदिल्ली पु¥याइएको हो । ‘हामी चारजना आएको हौं, एक दिदी दुईजना केटा ।’, नाम नबताउने शर्तमा उनले भनिन्,‘शुरुमा दिल्लीमा एक साता राख्यो, त्यसपछि ६ दिनअघि मणिपुर आएको हौं, यहा एक नेपाली दाइले लिएर आएका हुन् ।’ निकै साँघुरो जस्तो देखिने घरमा उनीहरूलाई राखिएको थियो । उनले काम लगाईदिने र बाहिर लैजाने भन्दै ल्याएको बताइन् । तर, कुन देश हो भनेर आपूmलाई पनि थाहा नभएको बताइन् ।

उद्धार गरिएका महिलालाई समाज कल्याण विभागको आश्रम गृहमा राखिएको छ । उनीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई अवैध रूपमा लैजाने खोज्ने दुईजना नेपाली पनि पक्राउ परेका छन् । एक सिन्धुपाल्चोकका ४२ वर्षीय आशाकाजी तामाङ भएको इण्डियन एक्सप्रेसले जनाएको छ । नेपालले महिला घरेलु कामदारको रूपमा लैजान रोक लगाएपछि दलालहरूले विभिन्न मार्ग प्रयोग गर्दै आएका छन् ।

सुरुमा काठमाडौंबाट हवाईमार्फत प्रयोग गरेर पठाउथे । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कडाइ गरेपछि तस्करहरूले नयाँदिल्लीलाई केन्द्र बनाए । पछिल्लो समय दिल्लीस्थित महिला आयोगले लगातार नेपाली महिलाको उद्दार गर्न थालेपछि तस्करहरूले मणिपुरलाई नयाँ बाटो बनाएको पाइएको छ ।

भारतीय प्रहरीले यो अहिलेसम्मकै ठूलो अपरेसन भएको जनाएको छ । मणिपुर कमिसन फर प्रोटेक्सन अफ चाइल्ड राइट्सका सदस्य केइशम प्रदीपकुमारले भने, ‘यो सबैभन्दा ठूलो रेसक्यु अपरेसन हो । जहाँ एकैपटक सयौं महिलाको उद्धार गरिएको छ ।’ प्रहरीले नेपालीसहित ३ सय बढीको उद्धार गरिसकेको छ ।

प्रतिक्रिया