दमौली । तनहुँको सदरमुकाम दमौलीस्थित खुला मैदानमा रु पाँच करोडको लागतमा पार्क निर्माण गरिने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाले वडा नं ३ स्थित खुला मैदानमा पार्क निर्माण गर्न लागिएको हो । काठमाडौँस्थित जिओ कन्सर्न प्रालिले पार्कको नमूना तयार गरेको छ ।
यसअघि फुटबल मैदानका रुपमा रहेको व्यास नगरपालिका वडा नं ३ को उक्त ठाउँलाई नगरपालिकाले पार्कको रूपमा विकास गर्न लागेको वडा नं ३ का सदस्य रविन पौडेलले जानकारी दिए । उनले भने, “नगरपालिकाले जिल्ला प्रशासन कार्यालय अगाडिको मैदानलाई खेल मैदान बनाएर उक्त ठाउँमा पार्क निर्माणको योजना बनाएको हो ।
पार्क निर्माणका लागि रु पाँच करोड अनुमान गरिए पनि विस्तृत अध्ययन गर्दा यसको लागत परिवर्तन हुनसक्ने उनले जानकारी दिए । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विस्तृत अध्ययन भएपछि पार्क निर्माण गर्ने जानकारी दिँदै भने, “यसले समग्र व्यास नगरपालिकाकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ ।
प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ
म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयले प्राविधिक शिक्षा सञ्चालन तथा पूर्वाधार निर्माणका लागि आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना गर्ने भएको छ । आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञानमहायज्ञ गर्न लागिएको विद्यालयले जनाएको छ ।
प्राविधिक शिक्षा पढ्नका लागि यहाँका बालबालिका पोखरा वा काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य गरी यही नै यस्तो सुविधा उपलब्ध गराउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज खनालले बताए ।
उनले भने, “यस क्षेत्रमा प्राविधिक शिक्षाको माग छ, यहाँका बालबालिका प्राविधिक शिक्षा पढ्नका लागि अन्यत्र जानु नपरोस् भनेर प्राविधिक शिक्षा सञ्चालनार्थ महायज्ञमार्फत रकम सङ्कलन गर्न लागेको हौँ । महायज्ञका लागि १०८ सदस्यीय मूल समारोह समिति र ५२ विभिन्न उपसमिति गठन गरिएको छ ।
महायज्ञबाट करीब रु तीन करोड सङ्कलन गर्ने लक्ष्य रहेकोे विद्यालयले जनाएको छ । बालयोगेश्वर महाराज प्रमुख वाचक रहने महायज्ञमा विवाह, ब्रतबन्ध, तुलादान, चौरासीपूजा, लक्ष्यवर्ती लगायत कार्यक्रम सञ्चालन हुनेछन् । महायज्ञमा दान दिने दानवीरलाई सम्मान गरिने विद्यालयले जनाएको छ ।
प्रतिक्रिया