महिला लघुवित्त संस्थाको आन्तरिक तालिम

काठमाडौं । महिला लुघुवित्त वित्तीय संस्था लिमिटेडले अर्ध वार्षिक समीक्षा गोष्ठी तथा व्यवस्थापन तालिमको आयोजना गरेको छ । राजधानीमा आयोजना गरेको उक्त तीनदिने तालिममा संस्थाका ४१ वटै शाखाका मेनेजर र प्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा शाखाको तर्फबाट मेनेजर र प्रतिनिधिले वार्षिक रिपोर्टका साथै आगामी योजना प्रस्तुत गरेका थिए । उनीहरूले महिलाहरूलाई अझै बढी उत्पादनमूलक क्षेत्रको तालिममा जोड दिनुपर्ने मागसमेत गरे । त्यसले महिलाको जीवनमा आर्थिक रूपमा सक्षम बनाउन अझै बढी सहयोग पुग्ने उनीहरूको धारणा थियो ।

रिपोर्ट प्रस्तुत गर्ने क्रममा उनीहरूले लघुवित्त कार्यक्रमप्रति महिलाको आकर्षण रहेको र उनीहरूले लिने ऋणमा कम जोखिम हुने गरेको उल्लेख गरेका थिए । महिलाहरूले लिने ऋण दुरुपयोग नहुने गरेको समेत उनीहरूले जानकारी गराए । महिलाहरूले लिएको एकाध स्थानबाहेक समयमै असुल हुने गरेको उनीहरूले बताएका थिए । संस्थाले विभिन्न जिल्लामा ४१ वटा शाखा कार्यालयमार्फत २९ हजार ८ सय महिलालाई संगठित गरेको प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए । उनका अनुसार हाल संस्थाले  महिला समूहहरूमा करिब ९८ करोड रुपैयाँ लगानी गरेको छ । त्यो रकमले महिलाले आफू मात्रै नभई घर परिवारलाई आर्थिक रूपमा सबल बनाउन भूमिका खेलेको उनले बताए ।

उक्त लघुवित्त संस्थाले महिला समूहको जमानीमा विनाधितो ऋण प्रवाह गर्नुको साथै महिलाहरूलाई विभिन्न प्रकारका उद्यमशील तालिमसमेत दिँदै आएको निर्देशक न्यौपानेले बताए । उनले भने, ‘हाम्रो लक्षित समूह भनेको निम्नआय भएका, सामाजिक आर्थिक रूपमा पछि परेका र केही गरौँ भन्ने भावना भएका महिला हुन् ।’ उक्त संस्थाको कार्यक्रम राजधानीका साथै विभिन्न जिल्लाका ग्रामीण भेगमा समेत सञ्चालन भइरहेको छ । सो संस्थामार्फत राजधानीमा सामान्य पसलदेखि मोटरसाइकल वर्कसपसमेत महिलाले सञ्चालन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया