भरतपुरमा बन्ने अन्तराष्ट्रिय क्रिकेट रंगशालाको घोषणा

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनको अग्रसरमा चितवन भरतपुर महानागरपालिकामा बन्ने गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको आज घोषणा भएको छ । काठमाडौँस्थित राष्ट्रिय सभागृहमा सम्पन्न उक्त कार्यक्रममा फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले उक्त रंगशाला अनुमानित रकम करिब ३ अर्बको लागतमा बन्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भएको सोही कार्यक्रममा भरतपुर महानगरपालिका कि मेयर रेणु दाहाल, उपमेयर पार्वती शाह, पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्मकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका नेता तथा महामन्त्री डा. सशांक कोइराला, नेकपाका नेता तथा सभामुख कृष्ण बहादुर महरा, खेलकुद मन्त्री जगत बिश्वकर्मा, नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल, बरिष्ठ हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठ लगायत विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ता, कलाकार एवं पत्रकारहरुको सहभागिता रहेको थियो ।

२० बिघा ६ कट्ठा क्षेत्रफ़ल भएको महानगरपालिका १६ को जमिनमा करिब २५ हजार दर्शक अट्ने अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिने संस्थाका अध्यक्ष सिताराम कट्टेलले बताए । सोही समारोहमा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल र भरतपुर महानगरओपलिका कि मेयर रेणु दाहालले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् ।

 भरतपुरको चितवनमा निर्माण गरिने गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रङ्गशालाका निम्ति फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर तथा निर्माणको घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर  रासस ।

त्रिभुवन विश्वविद्यालयको मातहातमा रहेको भरतपुर महानगरपालिका– १६ को उक्त जग्गा कृषि तथा वन विश्वविद्यालयले फाउन्डेसनलाई उपलब्ध गराएको हो । आफुले सोचेको जस्तो भएसम्म २ बर्ष भित्रै रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गर्ने अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले जानकारी दिए ।

रंगशाला निर्माणका लागि चाहिने रकम नेपाल सरकार लगायत विभिन्न संघ संस्था तथा देशबिदेशमा रहेका नेपालिहरुको सहयोगबाट नै संकलन गरिने सिताराम कट्टेलले बताएका छन् । भरतपुर महानगरपालिकामा विश्वमै चिनाउने रंगशालाको आवश्यक भएको र यसको निर्माण गर्न सरकारले चाहेरपनी रंगशाला निर्माण गर्न नसकेको मेयर रेणु दाहालले बताईन् ।

‘हाम्रो पनि यस्तै ठुलो चाहना थियो, तर काम सुरु गर्न सकिएको थिएन, तर धुर्मुस सुन्तलीले पनि योजना बनाएर जग्गाको खोजीमा भरतपुर पुग्नु भयो र त्रिभुवन विश्वविद्यालयको मातहातमा रहेको जग्गा कृषि तथा वन विश्वविद्यालयले फाउन्डेसनलाई उपलब्ध गरायो, ‘मेयर दाहालले भनिन् ।

क्रमसः उनले थपिन्, ‘यस नेपालको ऐतिहासिक गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण भएपछी भारत र पाकिस्तानबीचको खेलबाट सुरु गर्ने लक्ष्य रहेको छ, नत भारत पाकिस्तान गएर क्रिकेट खेलेको छ, न पाकिस्तान भारतमा, त्यसैले हाम्रो देश नेपालमा यी दुई देशको खेलबाट देशलाई विश्वमा चिनाइने छ ।

 भरतपुरको चितवनमा निर्माण गरिने गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रङ्गशालाका निम्ति फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर तथा निर्माणको घोषणा कार्यक्रममा सहभागी प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्वीर  रासस ।

सोही समारोहमा अध्यक्ष पुष्पकमल दाहालले यो ऐतिहासिक अभियानलाई नेपाल सरकार र विभिन्न निकायबाट सहयोग गर्नमा पछि नहट्ने प्रतिबद्ध जनाएका छन् । सोही क्रममा दाहालले राजनीति भित्रको भ्रष्टाचार राजनीतिकबाटै सफा गर्ने र एक दशक भित्र पुरै सफा हुने दाबि गरे ।

त्यस्तै खेलकुद मन्त्री जगत विश्वकर्माले पनि नेपाल क्रिकेटले अहिले अन्तराष्ट्रिय स्तरमा सिरिज जित्दै गरेको स्मरण गर्दै युवा तथा खेलकुद मन्त्रालयबाट पनि नेपालकै गौरव यस महान अभियानलाई सकेको सहयोग गर्ने बताएका छन् ।

सोही क्रममा नेपालि कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले पनि नेपाल क्रिकेटले विश्वमा चिनाइसकेको र यस ऐतिहासिक अभियानलाई सबैले सहयोग गरेर अझै ठुलो कृतिमान कायम गर्नु पर्नेमा जोड दिंदै आफुले पनि फाउन्डेसनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरकै यस क्रिकेट रंगशाला निर्माण अभियानमा नेपाल सरकारको तर्फबाट ठुलो सहयोग मिल्ने बताएका छन् । नेपालमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला नहुँदा नेपालमा अन्तर्राष्ट्रियस्तरका कुनै पनि प्रतियोगिता हुन नसेकेकोले यस महान अभियानको आवश्यकता भएको बताएका छन् ।

धुर्मुस सुन्तली फाउन्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) ले विभिन्न संघ संस्था तथा देशबिदेशमा रहेका व्यक्तिहरुले गरेको सहयोगलाई खेर जान नदिने र आफुहरुले चालेको यस अभियानलाई रंगशाला निर्माण गरेरै छाड्ने बताएकी छन् ।

प्रतिक्रिया