सहिदको अवमूल्यन

राणा शासनविरुद्ध पहिलो राजनीतिक आन्दोलनका क्रममा राज्य सत्ताद्वारा फाँसी दिइएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । उनीहरूलाई १९९७ साल माघ १० देखि १६ गतेभित्र जेलबाट निकाली राजधानीका विभिन्न स्थानमा लगेर तत्कालीन राणा सरकारद्वारा फा“सी दिइएको थियो । २००७ सालको जनक्रान्तिद्वारा राणा शासन समाप्त भएपछि उनीहरूलाई सहिद घोषणा गर्दै सम्मान दिन थालिएको हो । जनअधिकार प्राप्तिका लागि नेपालमा धेरै लामो आन्दोलन भएको छ । यो लामो आन्दोलनका क्रममा राज्यसत्ताको प्रहारबाट ज्यान गुमाउनेहरूको संख्या निकै ठूलो छ । यीमध्ये कतिपय अझै गुमनाम छन् भने धेरैले सम्मान पाउँदै आइरहेका छन् । यसरी सम्मान पाउने सबैभन्दा भाग्यमानी सहिदमध्ये शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्द हुन् । हुन त गोरखाका लखन थापालाई राज्यले प्रथम सहिदका रूपमा मान्यता दिएको छ । उनी तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुरलाई पदच्युत गर्ने सांगठानिक अभियानमा लागेबापत राज्यसत्ताद्वारा मारिएका थिए । लखन थापाभन्दा अघि मारिएका अछामका बाकावीर शाहीलाई प्रथम सहिदको मान्यता दिनुपर्ने कुरा पनि उठिरहेका छन् । तर, १९९७ सालमा जीवन आहुती दिएका ४ सपूतहरूको चर्चा बढी हुनुको मुख्य कारण पनि विश्लेषण गर्नुपर्ने हुन्छ । त्यो कारण हो यी चारजनाले निरंकुश राणा शासन अन्त्यका लागि मात्रै नेपाल प्रजापरिषद् नामक राजनीतिक दल स्थापना गरेर आन्दोलन अघि बढाएका होइनन्, उनीहरूको लक्ष भनेको मुलुकमा प्रजातन्त्र स्थापना गर्नु हो ।

एउटा निरंकुश शासन अन्त्य गरी अर्को निरंकुश शासन स्थापनाका लागि संघर्षमा गरेर गुमाउनेहरूलाई सहिदका रूपमा सम्मान गर्न मिल्छ कि मिल्दैन ? भन्ने प्रश्न पनि त्यतिकै पेचिलो बनेको छ । यो प्रश्न अहिलेसम्म अनुत्तरित नै छ । उदाहरणका लागि २००७ सालमा नेपाली कांग्रेसले बहुदलीय प्रजातन्त्र स्थापना गर्ने घोषित उद्देश्यका साथ सशस्त्र जनक्रान्ति आरम्भ गर्यो । तत्कालीन राजा त्रिभुवन शाहले पनि साथ दिएका कारण उक्त जनक्रान्ति छिटो सफल भयो । तर, राजा शाहले जनक्रान्तिमा साथ दिनुको उद्देश्य बहुदलीय प्रजातन्त्र स्थापना गर्नु थिएन । केवल राणाहरूमा रहेको निरंकुश अधिकार आफूमा फिर्ता लिने मात्रै उद्देश्य थियो । यो कुरा २००७ सालको जनक्रान्ति सम्पन्न भएलगत्तै पुष्टि भयो ।

मुलुकको ऐतिहासिक अभिलेखमा राजा त्रिभुवनको नाम निरंकुश शासकका रूपमा उल्लेख गर्ने कि ? २००७ सालको जनक्रान्तिमा योगदान पु¥याउने अग्रगामी नेताका रूपमा उल्लेख गर्ने ? भन्ने प्रश्न निकै पेचिलो बनेको छ । २००७ सालपछि २०६५ साल सम्मको अधिकांश समय त्रिभुवन र उनका सन्ततिहरूले मुलुकमा निरंकुश शासन चलाए । निरंकुश शासन चलाउने क्रममा उनीहरूले त्रिभुवनको नाम चारजना सहिदहरूको भन्दा पनि माथिल्लो श्रेणीमा राखे । यसको उदाहरणका रूपमा राजतन्त्रले राखेका ऐतिहासिक अभिलेखहरू पढिरहनै पर्दैन, सहिद गेटमा राखिएका पा“चवटा सालिकलाई हेरे पुग्छ । सहरको मध्यभागमा रहेका यी पाँचवटा सालिक जो कोहीले पनि देख्न सक्छ । जसमा त्रिभुवन शाहको सालिक सबैभन्दा माथि राखिएको छ भने शाहको सालिकको मुनि चारजना सहिदको सालिक राखिएको छ । सहिदहरूको यहाँभन्दा ठूलो अपमान तथा अवमूल्यन अरू के हुन सक्छ ? जनअधिकार प्राप्तिका लागि ज्यान गुमाउनेभन्दा प्राप्त जनअधिकार खोस्नेलाई बढी सम्मान दिनु भनेको उल्टो बाटो हिँड्नु हो । वास्तवमा शाह शब्द र सहिद शब्द फारसी भाषाबाट आएका आगन्तुक हुन् । यी दुबै शब्दले महान् भन्ने जनाउ“छन् । त्यसमध्ये शाहभन्दा सहिद पद्वी कैयौँ गुणा ठूलो हुन्छ । तर, राजाको प्रत्यक्ष शासनमा सहिदभन्दा शाह पद्वीलाई ठूलो बनाउन खोजियो । आज सहिदको अपमान हुनुको मुख्य कारण यही हो । कतिसम्म गरियो भने सहिद शब्दलाई सहिद लेख्न शाहहरूले निर्देशन दिए । तर, शाह शब्द भने यथावत राखे । अर्थात् आफूहरूले साह लेखेनन् । सहिदमाथि अपमान सुरु भएको यहीँबाट हो । शाहहरूबाट भएको यो भाषिक आक्रमणलाई सच्याएर अघि बढ्न सकियो भने मात्रै सहिदहरूको वास्तविक सम्मान हुन्छ ।

प्रतिक्रिया