खुकुरी बनाउने पेसाले स्वदेशमै राम्रो कमाइ

भोजपुरका सुनिल गजमेहर रोजगारिका लागि ७ वर्षअघि मलेसियाको क्वालालम्पुर गएका थिए । मलेसियामा राम्रो कमाइ नभएपछि उनी टेम्केमैयुङ गाउँपालिका–६, कोट सिक्तेल नै फर्किए । ३१ वर्षीय सुनिलले मलेसियामा कमाएको पैसा जाँदा र आउँदा हवाइ हजाज चढ्दै र ऋण तिर्दैमा सकियो । ऋmण तिर्दातिर्दै कमाएको पैसा सकिएपछि उनी पुनः रोजगारीका लागि कतार गए । कतारमा पनि उनले सोचेजस्तो कमइ गर्न सकेनन् । कम्पनीले राम्रो तलब नदिएपछि डेढवर्ष नपुग्दै घर फर्किए ।

पटक–पटकको वैदेशिक रोजगारबाट घर समेत नचलेपछि गजमेहरले आफ्नै पुख्र्यौली पेसा खुकुरी बनाउने आरनलाई अँगाले । मलेसिया र कतारमा बगाउने पसिना आफ्नै ठाउँमा बगाउनुपर्छ भन्ने उद्देश्यले ०७० सालबाट बाबुसँगै खुकुरी बनाउने कारखाना खोलेर व्यवसाय सुरु गरेका उनले अन्ततः विदेशभन्दा स्वदेशमै राम्रो आम्दानी गरेका छन् । निरन्तरको मिहनत र परिश्रमले खुकुरी कारखानाबाटै उनी र उनका परिवारले सदरमुकाम छेउमै पक्कि घरसमेत जोडेका छन् ।

पञ्चायतकालदेखि बहुदलिय व्यवस्थासम्म आउँदा यहाँ उत्पादित खुकुरी धरान, विराटनगर, काठमाडाैं लगायतका सहरहरू तथा भारत, चीन, बङगलादेश पाकिस्तान, ब्रुनाई, सिंगापुर, हङकङ, जापान, कोरिया, बेलायत लगायतमा विदेशमा पनि लाखौको मुल्यमा निर्यात हुदै आएको थियो । खुकुरी बनाउने पेसाप्रतिको हिचकिचाहट छोडेर काम गर्ने हो भने यहिँ विदेशको कमाइभन्दा बढि आम्दानी गर्न सकिने अर्का उद्यमी ५१ वर्षीय गणेश गजमेरले बताए

विदेशमा अर्काको गुलामीको सट्टा आफ्नै घरमा परिवारको साथ सहयोगमा परिश्रम गरे जे पनि हुने बताउँछन् उनी । उनी भन्छन्, ‘विदेशमा काम गर्दा बिरामी परेका वेलासमेत आरम गर्न पाइँदैनथ्यो, काममा गइएन भने मालिकले तलब काटिदेला भन्ने डर हुन्थ्यो, ज्यानले सकि नसकि दबाबमा गर्नुपर्ने बाध्यताको नोकरी भन्दा त स्वदेशमै दुःख गरे परिवारसँग बसेर एकछाक आनन्दले खान राम्रो ।’ उनी अहिले काम र कमाइमा सन्तुष्ट छन् ।

विदेशमा १ं८ घण्टा काम गर्दा पनि महिनाको ३० देखि ३५ हजार कमाउन मुस्किल परेको अनुभव सुनाउने सुनिल अहिले खुकुरी बनाएरै मासिक ७० हजारसम्म कमाइ हुने गरेको बताउँछन् । भोजपुरे खुकुरीको निकै ठूलो माग रहेकाले यसबाट लाखौँ रुपैँयाको खुकुरीहरू जिल्ला बाहिर निकासी हुने गरेको छ । खुकुरी बनाउने पेसा अन्य पेसाभन्दा निकै मेहनत र परिश्रम गर्नुपर्ने भए पनि समयमै आर्थिक उन्नति गर्न सकिने गजमेर बताउँछन् । ‘पैसा कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने होइन । आफ्नो हातमा जुन सीप छ त्यही पेसालाई माया गरेर परिश्रम गरे विदेशमा कमाइने तलब भन्दा दोब्बर कमाइ गर्न सकिन्छ ।’ उनले भने ।

त्यस्तै, खुकुरी बनाउने उद्यमबाटै सफल बनेका अर्का भोजपुर नगरपालिका १०, भैँसीपंखा खुरिल्लाका ३० वर्षीय घनश्याम विश्वकर्मा रोजगारको शिलशिलामा ०६७ सालमा कुवेत गएका थिए । राम्रो कमाइको आस गरेर ऋण गरी कुवेत गएका घनश्याम ३ वर्षमा वदेश फर्किए ।

कुवेतमा मासिक ४५ हजार कमाउन दैनिक १६ घण्टा काममा जोतिए पनि घरखर्च धान्नै गाह्रो हुने भएपछि आफ्नै ठाउँमा पुख्र्यौली पेसा गरी खान उनी लागेका हुन् । पुनः विदेश जाने सोच बदलेर आफ्नै पुख्र्यौली सीपलाई आत्मसात गर्दैै ०७० सालतिर उर्मिला आरन उद्योगमा काम गर्न थालेपछि उनलाई यहिँ विदेश लाग्न थालेका छ । खुकुरी बनाउने कामबाट राम्रो आर्थिक श्रोत बनेको यो पेसाले आफ्नो परिवारलाई खानलाउन र घरखर्चबाट बचाएर महिनामा कम्तिमा २० हजारदेखि ३५ हजारसम्म बचाउने गरेका छन् उनले ।

‘सीप हुँदा नेपालमै राम्रो कमाइ हुन्छ, विदेशै जानु पर्छ भन्ने छै, विश्वकर्माले भने, ‘यो पेसालाई व्यवस्थित बनाउन सिपको जरुरी छ । विदेशमा गरीने श्रम र पसिनालाई यहि लगानी गरे हाम्रै पाखो भित्तामा पनि सुन फलाउन सकिने रहेछ ।’ प्रत्येक १० इन्चका खुकुरी बराबर ५ सय रुपैँया पारिश्रामिक लिने घनश्यामले दिनमा चारवटासम्म खुकुरी बनाउन भ्याउँछन् । उनी उक्त कारखानामा काम गरेको ५ वर्ष भयो ।

उनका घरमा अरू तीन दाजुभाइले पनि आरन पेसा चलाउँदै आएका छन् । उनका सबै जसो परिवारको गरी खाने माध्यम बनेको छ आरन ।
कुनैवेला विदेशमा कमाएको पैसाले घरखर्च धान्नै मुस्किल पर्ने उनलाई अहिले यहि पेसा गरेरै विदेशमा भन्दा धेरै कमाइ गर्ने गतिलो माध्यम बनेको छ । संसारलाई वीर गोर्खालीको चिनारी दिएको र विदेशी मुद्रा आर्जनमा समेत राम्रो स्रोत बन्न सफल प्रसिद्ध भोजपुरे खुकुरी बनाउने पेसाबाट सोचेअनुरूप नै कमाइको बाटो बनेको यहाँका उद्यमीहरू सुनाउँछन् । देशविदेशमा आफ्नो उत्कृष्ट छवि बनाएको भोजपुरे खुकुरी अन्य ठाउँहरूमा बन्ने खुकुरीको तुलनामा निकै लोकप्रिय भएकाले त्यसको माग बढी हुने गरेको छ ।

वि.स. १९६५ सालतिरबाटै भोजपुरमा खुकुरी बन्न थाले पनि बहुप्रसिद्धी पाएको भोजपुरे खुकुरीको इतिहास भने २०२७ सालमा राजा महेन्द्र आफ्नोे राजकीय भ्रमणको क्रममा भोजपुर आउँदा बोखिम भन्ने ठाउँका एक आरन शिल्पकारले पहिलोपटक खुकुरी राजालाई उपहार स्वरूप दिएबाट भएको देखिन्छ । त्यतिवेला राजालाई उपहारमा खुकुरी दिने बोखिमक सिंगबहादुर विश्वकर्मा ‘सिने’ नामले चिनिने आरन शिल्पकारको खुकुरीको कौशलबाट आकर्षित बनेपछि राजा महेन्द्रले त्यस समयको एक हजार रुपैयाँ उनलाई बक्सिस स्वरूप दिएका थिए । त्यही समयदेखि भोजपुरे खुकुरीले लोकप्रियता पाएको कथन छ ।

जिल्लाको सदरमुकाम, कोट, दलगाउँ, गोगने, खावा, खैराङ, टक्सार, बोखिम, दाँवा, तिम्मा, दिङ्ला, देउराली, जरायोटारमा ३५ बढी भोजपुरे खुकुरी बनाइने गरिन्छ । अन्तर्राष्ट्रियस्तरमा ख्याती पाएको चर्चित भोजपुरे खुकुरीको माग प्रशस्त भए पनि कच्चापदार्थ र दक्ष कालिगढको अभावमा माग अनुसारको उत्पादन धान्न नसकेको ०४७ सालदेखि भोजपुर सदरमुकाममा उर्मिला आरन उद्योग सञ्चालन गर्दै आएका उद्यमी हिरा श्रेष्ठले बताए ।

खुकुरीको बजारलाई फराकिलो बनाउन अन्तर्राष्ट्रियस्तरमा राज्यबाटै व्यापारिक कुटनीतिक सम्झौता हुन सकेको खण्डमा यहि पेसाबाट हजारौँ युवालाई स्वदेशमै रोजगारी दिन सकिने र स्थानीय स्तरको समेत विकासमा सहयोग पुग्ने उद्यमी श्रेष्ठको भनाइ छ । छिमेकी जिल्ला मुलुक चीन र भारतबाट समेत माग हुने गरे पनि खुला व्यापारिक नीति नहुँदा निकासीमा कमी आएको उनी बताउँछन् । उनले भने, ‘चिन भारतमा भाला, तरवार जस्ता हातहतियारलाई वैधता दिएको छ । तर, नेपाली खुकुरीलाई अवैध भन्दै रोक लगाएको कारण पनि यहाँ उत्पादित खुकुरी बाहिर निर्यात हुन सकिरहेको छैन । यसका लागि राज्यले नयाँ नीति बनाउन आवश्यक छ ।’ कानुनी दायरामा ल्याएर खुकुरीको बजार विस्तार गर्न उनले आग्रह गरे ।

करिब डेढ वर्ष अघिसम्म करोडाँैको भोजपुरे खुकुरीको निकासी हुने सदरमुकाममा संघीय संरचना बनेपछि भने केही बजार सुस्ताएको व्यवसायीहरूको गुनासो छ । स्थानीय तहमा बजार विस्तार भएसँगै ग्रामिण भेगबाट खुकुरीका लागि आउने मानिसहरूको संख्या केही घटेको उनीहरूले बताए । सरकारले पनि खुकुरी उद्यमीलाई खुकुरी बनाउन चाहिने ग्लेन्डर, मोटरजस्ता मेसिनरी सामानमा ८० प्रतिशत सहुलियत अनुदानले पनि उद्यमीहरूलाई धेरै सहज भएको छ । तर, त्यतिले प्रयाप्त नहुने उनीहरूको भनाइ छ ।

खुकुरी हतियारका लागि मात्रै नभएर मान्छेले सजावटमा समेत प्रयोग गर्न थालेका छन् । विभिन्न आकर्षक बुट्टामा कुँदेर बनाइने भोजपुरे खुकुरीले देश–विदेशमा पनि उत्तिकै चर्चित छ । भोजपुरे खुकुरीहरू धरान, उदयपुर, खाँदबारी, काठमाडौं हुँदै बेलायत, अमेरिका, जर्मनी, फ्रान्स, इटाली, स्पेन लगायत पश्चिमा युरोपेली मुलुकहरूमा मायाको चिनो र सजावटको लागि पुग्ने गर्छ ।

त्यस्तै, छिमेकी मुलुक भारत, चिन, हङकङ, सिंगापुर, बहराइन, जापान, कोरियातिर पनि राम्रै निकासी हुने गरेको यहाँका उद्यमीहरू बताउँछन् । कानुनी समस्यका कारण खाडी अरेबियन मुलुकहरूमा हातहतियारको रूपमा लिईने नेपाली खुकुरीहरू खुला रूपमा लान नमिल्ने भए पनि सालका काठबाट निर्मित सजावट काठे खुकुरीहरू चिनो स्वरूप लगेर चित्त बुछाउनेहरू पनि रहेको उनीहरू बताउँछन् ।

पञ्चायतकालदेखि बहुदलिय व्यवस्थासम्म आउँदा यहाँ उत्पादित खुकुरी धरान, विराटनगर, काठमाडांै लगायतका सहरहरू तथा भारत, चीन, बङगलादेश पाकिस्तान, ब्रुनाई, सिंगापुर, हङकङ, जापान, कोरिया, बेलायत लगायतमा विदेशमा पनि लाखौको मुल्यमा निर्यात हुदै आएको थियो । खुकुरी बनाउने पेसाप्रतिको हिचकिचाहट छोडेर काम गर्ने हो भने यहिँ विदेशको कमाइभन्दा बढि आम्दानी गर्न सकिने अर्का उद्यमी ५१ वर्षीय गणेश गजमेरले बताए ।

उनी भन्छन्, ‘आरनमा गाह्रो र काम गर्न सक्नेका लागि यो पेसाले रामै्र सन्तुष्टी दिन्छ । यो पेसाप्रतिको चासो लिने युवापुस्तालाई भने पैसा कमाउन विदेशै गइरहनु पर्दैन ।’ उनीकहाँ महिनामा ३ सयदेखि ४ सय ५० को हाराहारीमा खुकुरीको माग आउने गरेकाले भ्याइनभ्याइ हुन्छ । विशेषगरी दसैँतिहार जस्तो चाडवाडमा कारखानामा खुकुरीको माग बढी हुने गरेको उनी सुनाउँछन् । गतसाल उनले दसैँको वेलामा मात्रै दुई लाखको खुकुरी बेचेको बताए ।

प्रतिक्रिया