राम्रो कामको प्रचार हुन सकेन: नेता नेपाल

दमौली । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकरण प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताएका छन् । तनहुँको आँबुखैरेनीमा आज आयोजित कार्यकर्ता भेटघाटमा नेता नेपालले एकता प्रक्रियामा ढिलाइ हुँदा समस्या उत्पन्न भएको बताए । उनले एकतालाई टुङ्गोमा पुर्याउन विलम्ब गर्न नहुनेमा जोड दिए ।

नेता नेपालले भने, “कम्युनिष्ट पार्टीको सरकार बनेदेखि नै सरकारले राम्रा काम गरेको छ, तल्लो तहसम्म पार्टी एकता प्रक्रिया नसकिएकाले सरकारका राम्रा कामको प्रचारप्रसार हुन सकिरहेको छैन । पार्टी सङ्गठन चुस्तदुरुस्त भए मात्रै सरकारका गतिविधिसमेत सफल हुने नेपालको भनाइ थियो ।

पार्टी एकीकरणमा ढिलासुस्ती भएको भन्दै पूर्व प्रधानमन्त्री नेपालले सबैलाई न्याय हुनेगरी पार्टी एकीकरणको प्रक्रिया टुङ्गोमा पुर्याउनुपर्ने बताए । उनले भने, “एकीकरणका लागि धेरै ढिलाइ भइसकेको छ, कार्यकर्तालाई व्यवस्थित गर्दै चाँडै नै यसलाई टुङ्गोमा पुर्याउँछौ ।

उनले सरकारबाट पनि केही कमजोरी हुनसक्ने भन्दै त्यसलाई सच्याउँदै अगाडि बढिने बताए । भोलिका दिनमा आलोचना हुने ठाउँ नदिइकन सरकार अगाडि बढ्नुपर्नेमा उनको भनाइ थियो । आज नै वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले बन्दीपुर गाउँपालिकामा रहेको बाख्रा अनुसन्धान केन्द्रको समेत निरीक्षण गर्नुभएको छ ।

प्रतिक्रिया