लगातारको हिमपातले जनजीवन कष्टकर

                                                        हुम्लामा अत्याधिक हिमपात पछिको दृश्य । तस्विर : लक्ष्मी रोकाया

लक्ष्मी रोकाया, हुम्ला । हुम्लाका सबै भागमा हिउँ परेको चौथो दिन भएको छ । रातभर र दिनभर जसो हिउँ पर्दा घरबाट बाहिर निस्कन समेत कठिन भएको छ । चिसो अत्याधिक बढेको छ । खाना पकाएर खान समेत मुस्किल हुने गरी हिउँ जमेको छ । तापक्रम झरेर माईनस १५ डिग्री भन्दा बढेको छ । गएको ५ वर्षको भन्दा यो वर्ष हिउँ बढी पर्दा सदरमुकाम आसपासमा ४ फिट हिउँ परेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा भने करिब ६ फिट हिउँ जमेको छ ।

हिउँले गर्दा नियमित कामकाज गर्न समेत मुस्किल भएको छ । धारामा चिसोको कारण पानीका पाईप जमेर खानेपानी समेत जमेकोले अवस्था अझ कष्टकर बन्दै गएको छ । स्थानियले पानी खानको लागि खोपानीको धारा भन्दा मुल रहेको स्थानबाट मात्र खानेपानीको लागि जोहो गर्नु परिरहेको छ । निश्चित ठाउँमा मात्र खानेपानीको मुहान भएको कारण चिसोले खानेपानीको लागि समेत जोहो गर्न मुस्किल परेको छ ।

एक ठाउँबाट अर्को ठाउँ जानको लागि समेत कठिन हुँदै गएको छ । एक गाउँबाट अर्को गाउँ जाने बाटो नै हिउँले छोपिँदा यात्रा गर्न समेत बन्द भएको छ । सदरमुकामसँग हुम्ला जिल्लाका सबै स्थानिय तह सम्पर्क भन्दा बाहिर रहेका छन् । लगातार हिमपातले गर्दा दिउसो सोलारको भरमा नेपाल टेलिकमको नमस्ते जिएस्एम् सेवा पनि अवरुद्ध हुँदा आफन्तजनलाई सम्पर्क गर्न पनि गाह्रो भएको स्थानियले बताउने गरेका छन् । काम विशेषले सदरमुकाम जानु पर्ने भएको भएता पनि हिउँ परेर बाटो नै नदेखिने अवस्था आएकोले जान नसकिएको सर्केगाड गाउँपालिका वडा नं. ८ का स्थानिय कल्पना रोकायाले बताए ।

चिसोको कारण घरमा नै आगो बालेर बस्नु परेको, चौपायालाई सुख्खा घाँसको भरमा घरमा नै पाल्नु पर्ने अवस्था आएको छ । पशुवस्तुलाई पानी खुवाउनको लागि पानी को मुहानमा लिन सक्ने अवस्था छैन । लगातार हिमपात भईरहेको छ । अझै हिउँ पर्न नरोकिएमा अवस्था अझ खराब हुने संकेत देखिएको छ ।

यातायातका साधन ठप्प
लगातार हिमपातको कारण जिल्ला बाहिर जानको लागि एकमात्र साधन हवाईजहाज सिमकोट विमानस्थलमा जमेको बाख्लो हिउँले गर्दा अवरुद्ध भएको छ । स्थानिय र जिल्लामा भएका कर्मचारीले २ दिनदेखी विमानस्थलमा जमेको हिउँलाई हटाउने प्रयास गरेको भएता पनि हरेक दिन लगातार भएको हिमपातले अझ हिउँ थपिँदा यो असम्भव भएको छ । विमानस्थलको हिउँ सफा गर्नको लागि ल्याईएको गाडीबाट पनि हिउँ सफा गर्न असम्भव देखिएको छ ।सिमकोटबाट ७ किलोमिटरको दुरीमा चल्ने यातायातका साधन पनि अवरुद्ध भएका छन् । मुुगु जिल्लाबाट हुम्लाको लागि दैनिक उपभोगका सामान ढुवानी गर्ने खच्चर पनि बाटोमा नै रोक्नु परेको खच्चर व्यवसायीले बताउने गरेका छन् । काम विशेषले जिल्ला बाहिर जानु पर्ने हवाई यात्री भने सिमकोटमा नै पाँच दिन देखी ठप्प बस्सनु पर्ने अवस्था रहेको छ ।

किसान खुसी
हुम्लाका अधिकाँश भागमा सिचाईंको सुविधा नहुँदा हरेक वर्ष किसान आकाशे पानी र हिउँको भरमा खेती गर्नु पर्ने अवस्थाबाट यो हिमपातले ठूलो राहत गराएको छ । कुनै पनि गाउँमा उचित सिचाईं नहुँदा हरेक वर्ष यहाँका किसानले खडेरी व्यहोर्नु परेको भएता पनि यस वर्ष मंसिरमा लगाएको असारे बाली गौं, जौ र उवा प्रजातीका बालीनाली राम्रो हुनेमा आशावादी भएका छन् । त्यसै गरी केही दिनमा रोप्न लागिएको स्याउ, आरु लगायतको फलफुलको लागि पनि उचित सिचाई भएको छ ।

चिसोबाट बालबालिका र वृद्धलाई स्वास्थ्य समस्या
अत्याधिक चिसोको कारण बालबालिका र वृद्ध वृद्धा बढी प्रभावित भएका छन् । चिसोको कारण बालबालिकालाई निमोनिया रोग र वृद्ध वृद्धालाइ दम, बाथ लगायतको रोगबाट प्रभावित भएका छन् । चिसोमा न्यानो कपडा लगाउन, कामको धपेडी नगर्न, न्यानो हुने खाना खानको लागि स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोको बेलामा घरमा नै न्यानो गरी बस्न, दीर्घ रोगीलाई नियमित सेवन गर्ने औषधीलाई ध्यान पुर्याएर खाएमा स्वास्थ्य अवस्था यथावत हुन सक्ने जिल्ला अस्पताल सिमकोटका डाक्टर टसी अञ्जुक लामाले बताउनु भयो । स्वास्थ्य अवस्था खराब भउमा नजिकै रहेको स्वास्थ्य संस्थामा सम्पर्क गर्न, तातो पानी र झोलिलो खानेकुरा खानमा डाक्टर लामाले सुझाउनु भयो ।

प्रतिक्रिया