किताब अंश – अद्भुत तिवारी

                                                                           भुवनहरि सिग्देल

मानबहादुर तिवारी 
भालुवाङको सोतैया गंगापरस्तपुरमा मैले मानबहादुर तिवारीलाई ०६८ सालमा भेटेको थिएँ । त्यो वेला उनी ८३ वर्षका थिए । उनीसँग राति १ बजेसम्म मेरो वार्ता निरन्तर वार्ता चल्यो । मलाई विश्वासै लागेको थिएन । त्यति धेरै रक्सी खाएपछि पनि उनले मसँग यसरी कुराकानी गर्लान् भनेर । उनको बोली कत्ति पनि लरबराएको थिएन । उनमा बुढ्यौलीको असरकसरसम्म मैले देखिनँ । मलाई उनी साँच्चै अद्भुत लागे । उनको बाँकी इतिवृत्त सुन्न मन लाग्यो । कथाको प्रसंग बन्दीपुरमा भारी बिसाएपछि रोकिएको थियो ।
ती अद्भुत तिवारीसँग कुराकानी चलिरहेकै थियो । मैले भनेँ, ‘तिवारी दाइ ! तपाईंलाई बाबाआमाले बन्दीपुरमा ल्याउनुभएको थियो । त्यो वेला तपाईं पाँच वर्षको हुनुहुन्थ्यो । त्यसपछि के भो ?’

उनले झिर्र सलाई कोरे । अर्को चुरोट सल्काए । स्वाँक्क लामो सर्को तानेर ख्वाक्क खोके । तर, त्यो चुरोटको धुवाँ मात्र हो भन्ने बुझें । बुढ्यौली खोकी भए खोकाइ अर्कै हुन्थ्यो । सामान्य भएर भने–
‘भाइ, बन्दीपुरका ती घटना सम्झिँदा दुख्ख लाग्छ । त्यहाँ हाम्रा आफन्त कोही थिएनन् । कुन उद्देश्यले बाबाले हामीलाई त्यहाँ ल्याउनुभएको थियो ? त्यो पनि जानिएन ।

एक जना नेवार दाइको पुरानो घरको छिँडीमा डेरा भेटिएको थियो । दुई वटा कवल थिए । घरबेटीले एउटा फाटेको सुकुल दिए । त्यसैमाथि हाम्रा थोत्रा कपडा बिछ्याएर बस्याँैं । भित्री कवलमा आमाले चूलो बनाउनुभो । खाने सामलमा चार मानाजति चामल र एक पोको पिठो थियो । तिउनको लागि एक पोको गुन्द्रुक मात्र थियो ।

म त्यही घरको पेटीमा ढुंगामाथि बसेको थिएँ । भुइँमा बिछ्याउने चकटी पनि थिएन हामीसँग । अलिपर बाटोमा मेरै उमेरका तीन चार जना केटा कपडाको भकुन्डोले हानाहान गर्दै थिए । मेरा आँखा तिनैका खेलतिर थिए । सानी बहिनीले आमालाई के कुरामा हो, पिराई । उसलाई लिएर आमा घरभित्र पस्नुभो । म एक्लै परें । मेरै उमेरको एक जना भुरो भकुन्डो हातमा लिएर दगुर्दै म भएतिर आयो । मेरो टाउकैमा ताकेर त्यो भकुन्डोले हान्यो । मेरो कन्चटमा लाग्यो । म रनथनिएर त्यहीँ पुक्लुक्क ढलेँ । अत्तालिएर रोएँ । भुइँको भकुन्डो टिपेर त्यो ठिटो उसकै साथी भएतिर दगु¥यो ।
अकस्मात् म रोएको सुनेर बहिनीलाई च्यापिच्यापी आमा हतारिँदै आउनुभो । तँलाई के भयो ? भनेर सोध्नुभो । मैले, ‘ऊ त्यसले मेरो टाउकोमा भकुन्डोले हान्यो !’ हातले तिनै भुरातिर इसारा गरें । मलाई भकुन्डो हान्ने त्यो केटोले त आफ्नो दौराको फेर उचालेर देखाउँदै त्यहाँबाट भाग्यो ।
म आठ वर्षको थिएँ । पहिले बहिनी मरिन् । आमा बित्नुभो । यो दुनियाँमा मलाई एक्लै छाडेर बाबा पनि बित्नुभो । त्यसपछि बन्दीपुरले मलाई ढुंगा हानेर लखेट्यो ।

पुतली नचाउने कुस्ले:
एक जना कुस्लेदाइ थिए । उनी मातातीर्थमुनिको बालगाउँतिरका हुन् । रातो वर्णका कुस्लेदाइको ज्यान डरलाग्दो थियो । महिना डेढ महिनामा उनी हाम्रो गाउँ दहचोकतिर चामल पिठो माग्न आउँथे । दहचोकका घरघर पुग्थे । उनका साथमा कठपुतली हुन्थ्यो । दुवै हातका दसै औँलामा पुतलीका मुखुन्डा लगाउँथे । पुतलीको घाँगर भने झिलिमिली कपडाका थिए । कुस्लेदाइका औंलामा राम्राराम्रा नानी बाबु बसेझैं लाग्थ्यो । तिनका नाक, मुख, चिउँडो र निधार निकै आकर्षक लाग्थे । केटीपुतलीले गाजल, निधारमा रातो टीका लगाएका र केटापुतलीका जुँगा हुन्थे । टीका गाजल हुँदैनथ्यो ।

जोडाजोडी मिलाएर दसैं औंलामा पुतली राखेपछि आँगनको छेउमा बसेर कुस्लेदाइ गीत गाउँदै पुतली नचाउन थाल्थे । उनका औंलाका चाल निकै मोहक लाग्थ्यो । हामी केटाकेटी पुतली नाच र गीत सुन्न कुस्लेदाइवरिपरि झुम्मिन पुग्थ्यौँ ।

उनको गीतिकथा सुरु हुन्थ्यो–

राजाका छोराछोरी खेल्न लागे जुहारी
चिहाउँथे राजा नाच्न थाल्थी बुहारी
(छिन्द्रिङछिन्द्रिङ चाँप बजाउँथे )
राजाकी छोरी गोरी हुन लागी किशोरी
पल्लो गाउँका राजा भए बिहे गर्न तयारी
बाजा बजे भोज पाक्यो खान थाले जन्ती
रुन थालिन् दुलही फकाउँथी लोकन्ती
अन्माइदिए दुलहीलाई जाऊ तिम्रा घर
ठूलो ठाउँ ठूलै नाउँ चूलाचौका गर ।

कुस्लेदाइले गाउने यो गीत निकै लामो थियो । त्यो वेला टिपिएन । अहिले सबै अंश बिर्सियो । पूरा लेख्न सकिएन । यही कथालाई कुनै घरमा संयोगान्त बनाएर सुनाउँथे । उनले वियोगान्त कथा बनाउँदा औंलाका पुतलीको अभिनय पनि दुःखी हुन्थे । हाम्रा आँखा पनि रसाउँथे । उनी गाउँमा आएका छन् भन्ने चाल पाएपछि हामी पछि लाग्थ्यौँ । कुन घरमा कुन गीत गए ? त्यसको नक्कल हामी गोठाला मिलेर गथ्र्यौं ।
हाम्रो लागि सुखद थियो गाउँमा कुस्लेदाइको आगमन । उनी जुन घरमा जान्छन् हामी उनका पछिलागेको चाहिँ उनलाई किन हो मन पर्दैनथ्यो । आठ नौ वर्षसम्मका भुरा उनका पछि लागेकै हुन्थे । एक–दुईपटक माटाका डल्लाले हानेर ‘अझ मेरा पछि आउँछस् । तेरा टाउका फुटाऊँ’ भन्दै हामीतिर हुत्याउँथे पनि । हामीले टेरे पो त ? कुनै न कुनै तरिकाले हामी उनका पछाडि लागेकै हुन्थ्यौँ ।
सोह्र या सत्र सालको समय । देशमा आम चुनावको लहर चलेको थियो । भरतराम र तुलसीराम सुवेदी घरघर घुमेर चुनाव प्रचारमा जुटेका थिए ।

तिनले गाउँदै हिँड्ने गीत सम्झन्छु :
धानको बाला झुल्यो हजुर देशै रमाइलो
गरिबले खान पायो पेटै रमाइलो ।
त्यही वेला कुस्लेदाइ हाम्रो गाउँमा पुतलीनाच लिएर आए । उनलाई चुनावको गीतसँग के सरोकार ? उनले आफ्नै गीत गाए, भोकको गीत । एघार बजेको समय होला । चरक्क घाम लागेको थियो । हाम्रो आँगनमा कुस्लेदाइ उभिए । मजेत्रोजस्तो खैरो र मैलो कपडाको दुई फेरमा पोका थिए । मजेत्रोको बीच भाग दुईतिर दर्गनमा पारेर फेरका दुई पोका पेटको हाराहारीमा झुन्ड्याएका थिए ।
निधारबाट तरतर पसिना झार्दै कुस्लेदाइ आँगनको डिलमा बसे । दौराजस्तो परिधान र कम्मरमा कछाड बेरेका कुस्लेदाइका गोडामा जुत्ता थिएनन् । मैले उनको तिघ्राभन्दा तलको भाग देखें । मलाई लाग्यो, मोटा केराका थम्बा पसारिएका छन् । त्यो दिन हाम्रो आँगनमा उनले गीत गाएनन् । पुतली पनि नचाएनन् । मलाई पुतलीनाच हेर्ने हुटहुटी थियो तर भन्ने आँटै आएन ।

मेरी आमोई ढोकाबाट बाहिर निस्किनुभो, ‘ए, तिमी आएका रहेछौ । खै त पुतली नचाएको ?’
‘बज्यै ! भोक लागेको छ । खाएपछि नचाउँला ।’
‘ए, के खान्छौ त ? हाम्रो भान्सा उठिसक्यो ।’
‘तेस्तो बाहुनेभान्सा भए पनि मलाई पुग्ने हैन । लेऊ एउटा भाँडो ! आफ्नै चामल पकाउँछु’ कुस्लेदाइले भने ।
आमोईले एउटा तपेस ल्याएर उनका अगाडि राखिदिनुभो । भाँडो देख्ने बित्तिकै डरलाग्दा आँखाले आमोईतिर हेरे । तपेस टिपेर आँगनमा गुडाइदिए । आमोईले, ‘हैन के गरेको तिम्ले ? कसौंडी फुट्ला । कस्तो सन्काहा मान्छे ? मुखले बोल न, के भयो ?’
कुस्लेदाइले भने, ‘यस्तो बाहुनेतपेस मलाई के काम ? एउटा झ्याँगा लेऊ !’
ढलेको तपेस टिपेर आमोई भित्र जानुभो । एकै छिनमा तामाको भुजुंगो लिएर आउनुभो । उसको अगाडि राख्दै भन्नुभो, ‘लौ यो भाँडो भए हुन्छ ?’

‘हुन्छ होला । कति पाक्छ ?’
‘यसमा त चार माना चामल मज्जाले पाक्छ ।’
कुस्लेदाइले त्यो भुजुंगो आफ्नो अगाडि राखे । एउटा पोको फोएर जम्मै चामल त्यसमा हाले । सायद आमोईलाई अचम्म लाग्यो । सोध्नुभो, ‘हैन ए कुस्लेभाइ ! त्यति धेरै चामल किन राखेको ? चार मानाभन्दा बढी होला त्यो ।’
‘भोक लाग्यो भन्या सुनेनौ ? अलि पाक्दैन कि । खै पानी ल्यौ ! गुन्द्रुक पनि ल्यौ, अलि निकै’ कुस्लेदाइ झर्केर बोले । उसको सन्काहा बोली असहज थियो । म पिँडीमा बसेर पुलुपुलु हेर्दै थिएँ । मनमा डरजस्तो पनि थियो ।

आमोईले पानीको गाग्री र आधा थाल गुन्द्रुक ल्याएर दिँदै सोध्नुभो, ‘खोइ, गुन्द्रुक केमा पकाउँछौ नि ?’
‘यो गुन्द्रुक पकाउने हैन । अलिकति काँचो तेल, नुन र खुर्सानी एक मुठी ल्यौ !’ कुस्लेले भने ।
कुस्लेदाइले गुन्द्रुक र चामल भिजाए । पिँडीको ढिकीपट्टि ढुंगाको चूलो बनाए । दाउरा आँगनमै थिए । त्यही ल्याएर चूलो बाले । चामलमा पानी थपेर भुजुंगो चुलोमा बसाले । लोहोरो मागे । थालमा भिजाएको गुन्द्रुकजति छपनी ढुंगामा राखेर थ्याचथ्याच पारे । नुन र खुर्सानी पिँधेर गुन्द्रुकमै मोलमाल गरे । थालमा राखेर त्यसमा तेल मिचमाच पारे । थालभरि पानी थपेर चुलाको दाउरा मिलाउन गए ।

भुजुंगाभरि भात अटेसमटे्स भयो । आमोईले अर्को ठूलो थाल र पानीको अम्खोरा दिँदै सोध्नुभो, ‘भात खेलेर पाक्न पाएनजस्तो छ ।’
‘होस् अब पेटमा गएपछि पाक्छ’ भन्दै थालमा चुली लगाएर भात पस्के । थालबाट गुन्द्रुक झिकेर भातमा लटपट पार्दै कुस्लेदाइ खान थाले । सुरुमा फुफु फुक्दै खाँदै गरे । अलि सेलाएछ क्यारे । अनि त हत्केलाभरि गफ्फा उठाउँथे । क्वाप्प मुखमा हाल्थे । दुईचोटि मुख चलाउँथे । सुलुक्कै । तेस्रोपटक थप्दा भुजुंगोको भात ख¥याङखुरुङ भयो । थालको गुन्द्रुक चाटचुट पारे । भाँडा जति जुठेल्लानिर लगेर राखे । हातमुख चुठे । अनि, ‘ए बज्यै ! एउटा गुन्द्री ल्यौ ! यै पिँडीको शीतलमा सुत्नुप¥यो । तिम्रा भाँडा उठेर माझौँला ।’

आमोईले दिनुभएको गुन्द्रीमा बचेको एउटा पोको सिरानी हालेर कुस्लेदाइ त लम्पसार परेर सुते । भात खाएपछि पुतलीनाच हेरौँला भनेर कुरेको थिएँ । ला हेरिस् पुतली नाच ! म बाख्रा फोएर गोठालोतिर दगुरें ।
मैले बाख्रा ल्याएर बाँधेँ । तैपनि कुस्लेदाइ सुतिरहेकै थिए । निकै बेरपछि उठेर भाँडा माझे । एउटा काँधमा बाँकी पोको झुन्ड्याएर लरलर गए । पुतलीनाच न साँच !

फुलेबुढा:
सेतै फुलेका हुनाले सबैले उनलाई फुलेबुढा नै भन्थे । हाम्रो घर दहचोकको गैह्रीगाउँमा थियो । त्यसैको बेंसीमा उनको बसोवास थियो । यही बेंसीसँग गाँसिएको अर्को नाम पनि थियो उनको, बेसीघरे फुलेबुढा ।
उनी हाम्रै तेह्र दिने दाजुभाइ, सिग्देल हुन् । उनको ज्यान ढब्बु थियो । मूलथामजस्ता तिघ्रा र पिँडुला । उनको पहिरन घरबुनाको दौरा र ठाडो लगौँटीबाहेक अरू कपडा लगाएको कहिल्यै देखिएन । पटपटी चिरिएका पैताला र कुर्कुच्चा थिए । एकछिन पर्खनुस्, जुत्ताको बेग्लै कथा छ ।
पूmलेबुढाले जवानी बितिसक्दा पनि बिहे गर्न केटी पाएनछन् । बाहुनी केटी कतै मिल्न नसकेकोले छिमेककै वाग्ले जैसीकी छोरी भित्र्याउने भएछन् ।

बेहुलो भएको दिन, दुलही लिन जाँदा त जुत्ता लगाउनुपर्छ भनेर जुत्ताको खोजी गर्न थालेछन् । बाहुनी केटी पाउनुभन्दा पनि उनका लागि मिल्ने जुत्ता दुर्लभ भएछ । काँचो छालाको सिलाउनुप¥यो भनेर जुत्ता सिउनेका घरघर डुलेछन् । अहँ, उनका गोडालाई मिल्ने साँचो कतै फेला परेनन् । उनी हारभुक्त भए । जुत्ताकै कारणले हात लागेकी दुलही छोड्ने कुरै भएन । उनले विनाजुत्ता दुलही भित्र्याएछन् ।
म सानै थिएँ, एघार–बाह्र वर्षको । त्यो वेला त मेरै दौंतरीजस्ता उनका दुइटी छोरी पनि थिए ।

फुलेबुढाका ससुराली वाग्लेले उनलाई श्राद्धको निम्ता दिए । चामल अलि महंगो थियो त्यो वेला । वाग्लेहरूको बारी थियो तर धानखेत थिएन । ज्याला बोनी गरेर परिवार पाल्नुपर्ने जमाना । श्राद्धको लागि पाँच माना चामलको जोहो वाग्लेबुढाले गरेका रहेछन् । श्राद्ध गराइदिने पुरोहितलाई त्यो श्राद्ध सकेर अर्को काममा जानुपर्ने रहेछ । उनले छिटै आएर श्राद्ध गराउन थालेपछि फुलेबुढा ससुराल पुगे । फुलेबुढालाई उनका ससुराले भने, ‘लौ ज्वाइँ ! पण्डितबा यता भान्सा नगर्ने रे ! तपाईं आपैmँ भान्सा बनाउनोस् ! तपाईंले खाएर भान्सा छोड्नू ! अनि हामी आएर खाऔँला ।’

पण्डितले श्राद्ध सके । उनी श्राद्धको झोली बोकेर हिँडे । फुलेबुढाले भात, दाल, तरकारी पकाए । आपूmले खाए । त्यसपछि वाग्लेका परिवार भान्छामा गए । ला खाइस् ! छैन ताउलामा भात ! वाग्लेबुढाले ज्वाइँलाई सोधे, ‘ए ज्वाइँ ! भात त …..?’
फुलेबुढाले अनकनाउँदै भने, ‘अँ के ससुरा बा ! आफैंँले बनाएको भान्सा ! औधी मीठो अचार पनि रहेछ । खरिएको पेट ! भसभस भात गएको पत्तै भएन । सासूआमाले फेरि ताउलो बसाले हुन्छ ।’ भएन के फसाद ? घरमा चामल भए पो ताउलो बसाल्नु ? तै पिठो रहेछ । वाग्लेका परिवारले रोटी बनाएर खाएछन् ।

धन्य हो भोक र भुँडी !
(सिग्देलको संस्मरणात्मक पुस्तक अद्भुत तिवारी यही माघ १२ गते शनिवार प्रज्ञा प्रतिष्ठानमा लोकार्पण हुँदैछ ।)

प्रतिक्रिया