कांग्रेसको केन्द्रीय बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पार्टीको गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले विधान संशोधनको प्रस्तावलाई महासमिति बैठकबाट प्राप्त सुझावलाई मध्यनजर गरी केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी पारित गरेको थियो ।

केन्द्रीय सदस्य पार्टीका वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र पार्टीमा आरक्षणको व्यवस्था एक व्यक्तिका लागि एक पटकमात्र हुने व्यवस्था विधानमा राख्न सुझाव आएको थियो ।

कांग्रेसको भ्रातृ संस्था नेविसंघको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ । संघको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो ।

त्यस्तै अनशनरत डा गोविन्द केसीका माग र आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका दुई अस्पताललाई वर्तमान सरकारले विघटनको प्रक्रियामा लगेको विषयमा पनि बैठकमा समीक्षा हुने बताइएको छ ।

प्रतिक्रिया