उपमहानगरले युवालाई सिकायो इलम

बुटवल । बुटवल उपमहानगरपालिकाले यहाँका सयौँ युवालाई इलम सिकाएको छ । उपमहानगरले एक परिवार एक रोजगार÷स्वरोजगार (नगरप्रमुख युवा इलम) कार्यक्रमअन्तर्गत पाँच सय युवालाई इलम सिकाएको हो ।

मेयर युवा इलम नामको नौलो कार्यक्रममार्फत पहिलो चरणमा बुटवलका १९ वडाका ३ सय ६५ युवालाई इलम सिकेको प्रमाणपत्रसमेत वितरण गरिएको छ । इलम सिकेका युवालाई दक्षताका आधारमा रोजगारादाताहरूको सहकार्यमा रोजगारीसमेत दिने गरी इलम सिकाउने अभियान सुरु गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

बुटवलका प्रमुख सुवेदीले सुरुदेखि नै प्राथमिकता दिँदै आएको युवा स्वरोजगार कार्यक्रम यस क्षेत्रको नमुना र स्वागतयोग्य कार्यक्रम मानिएको छ । सोही अभियान स्वरूप पहिलो चरणको प्राविधिक तालिम लिएका २ सय ३२ जना युवालाई बुधबार एक समारोहबीच प्रमाणपत्र वितरण गरिएको छ ।

सीप विकास तालिम केन्द्रमार्फत यी युवालाई कुक, एसी तथा रेफ्रिजेरेटर मर्मत तथा प्लम्बिङ र फेसन डिजाइनरसम्बन्धी सीप सिकाइएको थियो । कुक तालिम लिएका ८० जना, एसी तथा रेफ्रिजेरेटर मर्मत तालिम लिएका ४६ जना, प्लम्बिङ तालिम लिएका १२ जना र फेसन डिजाइन तालिम लिएका ९४ जनालाई बुधबार सीप सिकेको प्रमाणपत्र वितरण गरिएको उपमहानगरका प्रमुख सुवेदीले जानकारी दिए । सिकाइएका बुटवलको समृद्धिका लागि बुटवलवासीकै योगदान र सहकार्य भन्ने मान्यताका साथ अभियानमा तालिम प्रदायक र रोजगारदाताले समेत सहकार्य गर्न आएको मेयर सुवेदीको भनाइ छ ।

उपमहानगरपालिकाले सुरु गरेको यो अभियानमा यसक्षेत्रका रोजगारदाता र प्राविधिक शिक्षा केन्द्रहरूले सहकार्य गरेका छन् । तालिम लिन इच्छुकको विषय छानेर तिनै तालिम प्रदायककोमा पठाइएको र तालिम कम्तिमा तीन महिनाको सिकाइएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

सीप सिकेका युवालाई रोजगारीका लागि रोजगादातासँगको समन्वयमा अर्को चरणको कार्यक्रमसमेत अगाडि बढाउने बारेमा छलफल भइरहेको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

त्यसअवसरमा सीप विकास तालिम केन्द्र बुटवलका केन्द्र प्रमुख उमेश शर्मा, शाखा अधिकृत बालकृष्ण पौडेललगायतका विभिन्न विषयका प्रशिक्षकहरूले बुटवल उपमहानगरपालिकाको अभियानले सीपयुक्त जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताए । अभियानले युवाहरूमा उत्साह र जाँगर बढाएको उल्लेख गर्दै उनीहरूले अब उपल्लो स्तरको तालिमको समेत व्यवस्था गर्नुपर्ने बताए ।

उपमहानगरको काम सराहनीयः

रोजगारदाता संस्थाहरूका तर्फबाट होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि अर्याल, उद्योग संघका वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोरा, रूपन्देही व्यापार संघका महासचिव प्रकाश ढकाललगायतले दक्ष जनशक्तिको अभाव भइरहेका बेलामा बुटवल उपमहानगरपालिकाले महत्वपूर्ण कामको सुरुआत गरेको भन्दै अब आफूहरूले तालिम लिएका युवाहरूबाटै जनशक्ति लिने प्रतिबद्धता जनाए ।

तालिमले हिम्मत बढायोः 

विभिन्न विषयमा तालिम लिएका प्रशिक्षार्थीले तालिमले आपूmहरूको आँखा खुलेको र हिम्मत बढाएको प्रतिक्रिया दिएका छन् । सुरुमा पत्रकारिता तालिमको चाहना राखेका तर, साथीहरूसँगै एसी बनाउने तालिम लिएका बुटवल–१६, सेमलारका युवा त्रिभुवन कँडेलले तालिमले आत्मविश्वास तथा हौसला दुबै बढाएको बताए । उनले आधारभूत तालिम लिएकालाई अर्को एड्भान्स तालिमको व्यवस्था गर्न जरुरी रहेको कँडेलजस्ता युवाहरूको माग छ ।

कुकको तालिम लिएकी कालिकानगरकी मायादेवी सारु, बेलबासकी सिर्जना पन्थी, पाखापानीकी बेबी रायमाझी तथा फेसन डिजाइनको तालिम लिएकी राधिका घिमिरेलगायतले तालिमले दक्ष बनाउने काम गरेको प्रतिक्रिया दिए ।

युवाहरूलाई हेभी हाइड्रोलिक सिस्टम (स्काभेटर, डोजर, ग्रेडर, रोलर, भाइब्रेटर) का उपकरणहरुको मर्मत गर्नेबारे तालिम दिइएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले बताए ।

अटो मेकानिक्स, जनरल मेकानिक्स, विल्डिङ सोलार इलेक्ट्रिकल, होटल म्यानेजमेन्ट अन्तर्गतको कुक तालिम, तथा एसी, रेफ्रिजरेटर मर्मतलागायतका विषयमा तालिम दिइएको उपमहानगरपालिकाका सामाजिक शाखा प्रमुख भुवाप्रसाद लुइँटेलले बताए । पहिलो चरणको तालिम समापन समारोहको सञ्चालन सामाजिक शाखाका अधिकृत दामोदर ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया