‘शासक होइन जनताको नोकर हुँ’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताको नोकर बन्ने तर शासक नबन्ने स्पष्ट पारेका छन् । विश्व आर्थिक मञ्चको कार्यक्रममा भाग लिन स्विजरल्याण्डको डाभोसामा रहेका उनले प्रजातन्त्रको सून्दरता भनेकै नागरिकमैत्री शासन भएको बताए ।

सेपिङ द फ्युचर अफ डेमोक्रेसी शिर्षकको सेसनमा ओलीले नागरिकको हितमा काम गर्ने नेता भएको भन्दै नागरिकका हक अधिकार सुरक्षित नभएसम्म त्यो प्रजातन्त्र दिगो नहुने पनि बताए ।

नेपालले पूर्णरुपमा लोकतन्त्रको उपभोग गरिरहेको भन्दै ओलीले यही शासन प्रणालीमार्फत सुखी नेपाली, समृद्ध नेपालको चाहना पूरा गर्ने बताए । छोटो अवधीमा धेरै राजनीतिक परिवर्तन भोगेकाले जनतामा ठूलो अपेक्षा रहेको उनको भनाई थियो । ‘मिडियामा पनि सरकारप्रति त्यस्तै अपेक्षा देखिन्छ, तर विकास प्रक्रिया भनेको जादु जस्तो होइन’ ओलीले भने, ‘जनताले तत्काल नतिजा चाहेका छन् । तर विकास हुन समय लाग्छ ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय नरहेको पनि स्पष्ट पारे । प्रेस स्वतन्त्र छ भन्दैमा कसैको पारिवारिक, व्यक्तिगत जीवन वा प्रतिष्ठामा आघात पुर्याउने समाचार लेख्न भने नहुने प्रधानमन्त्री ओलीको भनाई थियो । समाचार लेख्ने बेलामा अरुको प्रतिष्ठा, संवेदनशीलताको विषयमा पनि ख्याल गर्नुपर्ने उनको भनाई थियो । उनले भने, ‘लोकतन्त्र भनेको प्रेसका लागि मात्रै होइन, सबै नागरिकका लागि हो ।’

प्रतिक्रिया