आर्मीको शीर्षता कायमै

काठमाडौं । १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा अपराजित यात्रालाई अगाडि बढाउँदै नेपाल आर्मीले शीर्ष स्थानको अग्रता कायमै रहेको छ ।  नयाँबसपार्कस्थित ढोरपाटन क्लबको खेलमैदानमा मंगलबार भएको खेलमा आर्मीले सेबमाथि सोझो सेटमा जित निकाल्दै अपराजित यात्रा यथावत् राख्न सफल भएको हो । उक्त खेलमा आर्मीले सोझो सेटमा जित निकाले पनि सेबले निकै चुनौती प्रस्तुत गरेको थियो । आर्मीले पहिलो सेट ३१–२९ ले रोमाञ्चक रूपमा आफ्नो बनाएको थियो ।

त्यसपछिको सेटमा सेबले चुनौती प्रस्तुत गरे पनि आर्मीले दोस्रो सेट २५–१९ ले र तेस्रो सेट २५–२० ले आफ्नो बनाउँदै सोझो सेटमै जित आत्मसात् ग¥यो । त्यो जितसँग आर्मी ४ खेलबाट १२ अंकसहित शीर्षमा यथावत् छ । अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले पाँचौं दिन दोहोरो जित निकाल्दै शीर्ष स्थानको आर्मीमाथि दबाब कायमै राख्यो ।

साबिकको विजेतासमेत रहेको एपिएफले ३ खेलबाट ९ अंक बनाउँदै दोस्रो स्थानमा अग्रता बनाएको छ । एपिएफले पहिलो खेलमा सेबलाई २५–८, २५–१४ र २५–१८ को सोझो सेटमा हराउँदै दिनको सुखद सुरुआत गरेको थियो । दोस्रो खेलमा पनि एपिएफले थाहा नगरपालिकालाई २५–७, २५–११ र २५–१२ को सोझो सेटमा पराजित गर्दै आफ्नो लयलाई निरन्तरता दियो ।  अर्को विभागीय टोली नेपाल पुलिसले श्रीगाउँ खेलकुद विकास समिति दाङलाई २५–८, २५–९ र २५–८ को सोझो सेटमा हराउँदै २ खेलबाट ६ अंक जोडेको छ । माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रतियोगिताको विजेताले ३ लाख ५० हजार रूपैयाँ पुरस्कार पाउनेछ ।

प्रतिक्रिया