इँटाको मूल्य बढ्यो

बाँके । कच्चा पदार्थ महँगो भएको भन्दै बाँकेका इँटा उत्पादकहरूले इँटाको मूल्यमा वृद्धि गरेका छन् । नेपाल इँटा उद्योग व्यवसायी संघ, बाँकेले १ फागुनबाट लागू हुने गरी इँटाको नयाँ मूल्य सार्वजनिक गरेको संघका अध्यक्ष जियानुल खानले जानकारी दिएका छन् ।

नयाँ कायम गरिएको मूल्यमा अब्बल इँटा प्रतिगोटा १५ रुपैयाँ छ भने २ नम्बर लालपेटी र खञ्जडको मूल्य प्रतिगोटा ११ रुपैयाँ कायम गरिएको छ । हाल अब्बल इँटाको मूल्य १३ रुपैयाँ छ भने लालपेटी र खञ्जडको मूल्य ९ देखि १० रुपैयाँसम्म रहेको छ । नयाँ कायम भएको मूल्य फागुनबाट लागू हुने अध्यक्ष खानले बताए ।

‘कच्चा पदार्थको मूल्य व्यवसायीले थेग्नै नसक्ने गरी बढ्यो । इँटाका लागि नभई नहुने पत्थर कोइला, माटो, कर्मचारी, बालुवा सबैको मूल्य आकासिएको छ,’ अध्यक्ष खानले भने, ‘त्यसै कारणले इँटाको मूल्य बढाउनुपर्ने अवस्था सिर्जना भयो ।’ रहरले नभई बाध्यताले मूल्य बढाउने निर्णयमा आफूहरू पुगेको उनको भनाइ छ ।

नेपाल इँटा उद्योग व्यवसायी संघ, बाँकेका कार्यालय सचिव सूर्य पौडेलका अनुसार पुसदेखि जेठसम्म इँटा उत्पादनको सिजन मानिन्छ । वर्षा लागेपछि उत्पादन बन्द हुन्छ । सिजनकै वेला कच्चा पदार्थको मूल्य बढ्यो । कामदार, माटो र बालुवाको मूल्य बढेको त थियो नै सबैभन्दा जरुरी रहेको पत्थर कोइलाको मूल्य अधिक बढेको छ । पौडेलले भने, ‘गतवर्ष प्रतिकेजी १६ रुपैयाँदेखि २२ रुपैयाँसम्म पाइने कोइला यसपाली सुरुकै मूल्य २७ रुपैयाँ पुगेको छ । पछि झन् बढ्छ ।’

पौडेलका अनुसार मूल्य बढे पनि कोइला भारतमा पाउनै छाडेको छ । व्यवसायीहरूले तेस्रो मुलुकबाट पत्थर ल्याएका छन् । जसका कारण मूल्य धेरै भएको हो । बाँके जिल्लामा ५० बढी इँटा उद्योग छन् । यहाँ उत्पादन भएका उद्योगहरू कर्णाली प्रदेश र काठमाडौंसम्म जाने गर्छ । मूल्य वृद्धिसँगै घर बनाइरहेका र घर बनाउन चाहेकाहरूलाई निकै मुस्किल पर्ने भएको छ ।

प्रतिक्रिया