स्थानीयस्तरमै सीमित सख्खर

डोटी । गुलियो भनेपछि सबैको मुख रसाएर आउँछ तर गुलियोमा पनि गुडको आफ्नै महत्व र विशेषता छ । यदाकदा दुर्गम भेगमा मात्र देख्न सकिने स्थानीय जातको उखु र त्यसबाट उत्पादन गर्न सकिने गुड आजभोलि लोप हुन थालेको छ ।

परम्परादेखि उपभोग गरिँदै आएको गुड अब विरलै देख्न र चाख्न पाइन्छ तर अहिले जिल्लाको बडीकेदार गाउँपालिकाका विभिन्न वडामा उखु कृषक गुड प्रशोधन र उत्पादनमा व्यस्त छन्् । बारीमा प्रसस्तै उखु छ, गाउँभरी उखु जताततै छ । करिब ३०÷३५ परिवारले उखु लगाएका छन्् । लोप हुन लागेकोे कोल्हु गाउँमै रहेकाले काम नभएका वेला अहिले परिवारका सबैजना रमाइलो गर्दै कोल्हु घुमाउँदै उखु पेल्न व्यस्त छन्् ।

‘हिउँदका खाली दिनमा उखु पेलेर आम्दानीको बाटो पनि बनाउनुछ । मनग्ये आयआर्जन पनि गर्नुछ तर बजार छैन’, स्थानीय हिक्मतबहादुर चन्दले भने, ‘सहर बजारको गुडले हामीलाई घाटा गरिरहेको छ, सबै बजारकै गुड किन्छन्् तर हामीले गुड विस्तार गर्न सकेका छैनौ ।’ उखु कृषक प्रकाश जोशीले भने पर्यटकका लागि पनि गन्तव्य बन्न सक्ने र उनीहरूलाई लोभ्याउन सकिने गुणकारी गुड उत्पादनमा स्थानीय स्रोतसाधनको सदुपयोग हुनाका साथै कृषकको जीवनयापनमा समेत सुधार हुने भए पनि यसलाई व्यवस्थित गर्न नसकिएकाले स्थानीयस्तरमै सीमित छ । प्रशस्त गुड उत्पादन गर्न सकिने सम्भावना हुँदाहुँदै पनि बजारको उचित व्यवस्था नभएका कारण उपभोक्ताले आयातीत गुडको प्रयोग गर्दै आएका छन्् ।

शरीरलाई न्यानो पार्ने र स्वास्थ्यलाई आवश्यक चिजमध्ये गुलियो पदार्थको रूपमा हिउँदमा प्राय गुड खाने गरिन्छ । तराईबाट आउने गुडभन्दा सैयौँ गुणा स्वास्थ्यवद्र्धक स्थानीय गुड यहाँका गाउँघरमा प्रसस्त छ तर उत्पादित गुड जिल्ला सदरमुकामसम्म पनि प्रचारप्रसार हुन सकेको छैन । स्थानीयवासीका अनुसार उखुलाई कोल्हुमा पेली स्थानीय भाँडा ताउलामा पकाएर एक ताउलाबाट २० देखि २५ किलोग्रामसम्म गुडका सानासाना भेल्ली अथवा खोडीबाट गाउँभरका करिब ७०÷ ८० ताउलामा गुड पक्छ । प्रतिकेजी १०० को दरले बिक्री पनि हुने गुड एक परिवारले कम्तीमा चारपाँच ताउला पकाउने गरेको अर्का स्थानीय प्रकाश कलेलले बताए ।

प्रतिक्रिया