पत्रकार ढकालको सम्झनामा जिल्लाभर शोकसभा

हेटौँडा । गत पुस २५ गते हत्या गरिएका पत्रकार मनोहर ढकालको १३ औँ दिनको पुण्य तिथिका अवसरमा उनको स्मृतिमा आज मकवानपुरका विभिन्न स्थानमा शोकसभा तथा श्रद्धाञ्जलि कार्यक्रमहरू सम्पन्न भएका छन् ।

नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा हेटौँडामा भएको श्रद्धाञ्जलि सभामा नेपाल पत्रकार महासंघ प्रदेश नं ३ का अध्यक्ष प्रताप विष्टले ढकालको व्यक्तित्वको चर्चा गर्दै उनि नेपाली रेडियो क्षेत्रको सम्पत्ति भएको उल्लेख गरे ।

उनले दक्षिण एशियाको पहिलो अडियो टावरको सञ्चालनदेखि चेतनामूलक डोके रेडियो सञ्चालनमा समेत योगदान दिएका ढकाल सफा मन र सोचको व्यक्तित्वको धनी भएको उनले उल्लेख गरे ।

महासंघ प्रदेश ३ का महासचिव कृष्ण सारुले मिलनसार तथा सकारात्मक सोचका धनी ढकालको हत्या भएको प्रति गहिरो दुःख व्यक्त गरे । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाईँले दुव्र्यसनमा लागेका व्यक्तिहरूलाई असल नियतले सम्झाउँदा ढकालको ज्याननै लिने हत्यारालाई हदैसम्मको सजाय दिन सम्बन्धितसँग आग्रह गरे ।

प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी, प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष नानीमाया विष्टलगायतले शोक वक्तव्यमार्फत स्वर्गीय ढकालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

त्यस्तै आज नै उत्तरी मकवानपुरको थाहानगरका विभिन्न स्थानमा पनि शोकसभा तथा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको छ । हेटौँडा १२ मा रहेको बुद्ध माध्यामिक विद्यालयले पनि श्रद्धाञ्जलि सभाको आयोजना गरी स्वर्गीय ढकालप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

प्रतिक्रिया