कतिसम्म सहने घाटाको पर्यटन ?

चालु आर्थिक वर्षका सुरुका पाँच महिनामा पर्यटन व्यवसायबाट नेपालले ३१ अर्ब ८८ करोड रुपैयाँ विदेशी मुद्रा आर्जन गरेको छ । तर, यही अवधिमा विदेश घुम्न जाने नेपालीहरूले ४१ अर्ब ३३ करोड रुपैयाँ खर्च गरेका छन् । मुलुकमा व्यापार घाटा मात्रै कहालीलाग्दो छैन, पर्यटकीय घाटा पनि निकै कहालीलाग्दो छ भन्ने संकेत हो यो । विदेशी पर्यटक भित्रिने मुख्य सिजनमा समेत नेपालले यति ठूलो घाटा बेहोर्नु भनेको सामान्य अवस्था होइन । नेपाललाई पर्यटकीय मुलुक भनेर हामी गर्व गर्छौ । विश्वकै १० वटा उत्कृष्ट गन्तव्यको सूचीमा नेपाल रहेको चर्चा पनि हामी गछौँ तर तथ्यांक हेर्ने हो भने निकै कहालीलाग्दो देखिन्छ ।

चालु आर्थिक वर्षको मात्रै दुरावस्था होइन यो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तीन वर्षको तथ्यांकअनुसार पर्यटक आम्दानीमार्फत नेपालले गर्ने आम्दानीभन्दा नेपालीले विदेशमा गएर गर्ने खर्च ४८ अर्ब ५५ करोड रुपैयाँले बढी रहेको छ । नेपालमा आउने पर्यटकले गर्ने खर्चभन्दा नेपालीले विदेशमा गर्ने खर्चको अनुपात उच्च रूपमा बढ्दै गएको छ । २०१७–१८ मा विदेशी पर्यटकले नेपालमा करिब ६७ अर्ब ९ करोड ४६ लाख रुपैयाँ खर्च गरेका छन् । तर, नेपाली पर्यटकले विदेशमा गएर गरेको खर्च भने ७९ अर्ब ५९ करोड ६५ लाख रुपैया“ रहेको छ । विदेशी पर्यटकले नेपालमा गरिने खर्चभन्दा नेपालीले विदेशमा गरिने खर्च २०१७–१८ मा १२ अर्ब ५० करोड १९ लाख रुपैयाँले बढी रहेको तथ्यांकले देखाएको छ । यसैगरी, २०१६–१७ मा विदेशी पर्यटकले नेपालमा ५८ अर्ब ५२ करोड ६९ लाख रुपैयाँ खर्च गर्दा सोही अवधिमा नेपालीले विदेशमा गएर ७९ अर्ब ९२ करोड ६९ लाख रुपैयाँ खर्च गरेका छन् । सो वर्ष विदेशी पर्यटकले नेपालमा गर्ने खर्चभन्दा नेपालीले विदेशमा गएर गरेको खर्च २१ अर्ब ४० लाख रुपैयाँले बढी रहेको छ । त्यस्तै २०१५–१६ मा पनि विदेशी पर्यटकले नेपालमा गरिने खर्चभन्दा नेपाली पर्यटकले विदेशमा गरिने खर्च १४ अर्ब ६५ करोड ३१ लाख रुपैयाँले बढी रहेको तथ्यांकमा उल्लेख छ ।

विदेश भ्रमणमा जाने गरी आम नेपाली जनताको जीवनस्तर बढेको तथ्यांकले देखाउँदैन । अहिले पनि नेपालीहरूको औसत वार्षिक आम्दानी १ हजार ४ अमेरिकी डलर हो । तर, मुलुकमा केही व्यक्तिहरू निकै धनी हुँदै गएको र धनी र गरिब बीचको खाडल बढ्दै गएको यो तथ्यांकले देखाउँछ । गरिब जनताले खाडीको गर्मीमा रगत पसिना बगाएर भित्र्याएको डलर देशको विकासका लागि खर्च भइरहेको छैन, धनीहरूले विदेश सयर गरेर र विलासिताका सामान आयात गरेर सिध्याइरहेका छन् भन्ने कुरा यो तथ्यांकले देखाउँछ । यो मामिलामा मुख्य कमजोरी भनेको सरकारको हो पहिलो कुरा त भ्रमणकै लागि विदेश जान प्रतिबन्ध नै लगाउनुपर्छ । दोस्रो कुरा विदेश भ्रमणमा जानेहरूलाई जति रकम डलर सटही सुविधा दिइने गरिएको छ त्यति नै कर लगाउनुपर्छ । विदेशीले १० डलरमा दिनभर ठमेल घुम्नलाई पुग्छ तर हामी नेपालीले युरोप, अमेरिका, जापान लगायतका देशमा जाँदा गर्ने खर्च ५ सय डलरभन्दा माथि हुन आउँछ । जसले गर्दा पनि विदेशीले नेपालमा आएर गर्ने खर्चभन्दा नेपालीले विदेशमा गएर गर्ने बढी भएको हो । बिदा मनाउन थाइल्यान्ड तथा सिंगापुर जानुको सट्टा आफ्नै मुलुकभित्रका पोखरा, सौराह, मनाङ, मुस्ताङ जाने संस्कृतिको विकास गर्नुपर्छ । नेता, सरकारी कर्मचारी र सहकारीमा काम गर्नेको विदेश भ्रमण पनि बाक्लिएको छ । यसलाई पनि नियन्त्रण गर्नुपर्छ ।

प्रतिक्रिया