इलाम । ब्लड क्यान्सरबाट निधन भएका स्वर्गीय ऋतिक घिमिरेको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ । इलाम नगरपालिका–४ मा रहेको सिद्धेश्वरी आधारभूत विद्यालयमा १ लाख ५० हजार रुपैयाँको ‘ऋतिक घिमिरे स्मृति अक्षय कोष’ स्थापना गरिएको हो । कोषबाट प्राप्त ब्याजले सोही विद्यालयमा अध्ययनरत एक उत्कृष्ट विद्यार्थीलाई वार्षिक रूपमा पुरस्कृत गरिनेछ । स्वर्गीय घिमिरेले सोही विद्यालयबाट आधारभूत तहको पढाइ सकेका थिए ।
‘ऋतिक बचाउ अभियान समिति’ ले इलाममा पत्रकार भेटघाट गरी खर्च विवरण सार्वजनिक गर्दै सो कुराको जानकारी गराएको हो । समितिले १४ लाख ९७ हजार ३ सय ७० रुपैयाँ संकलन गरेको समिति संयोजक गोपाल निरौलाले जानकारी दिए । उनका अनुसार समितिले १३ लाख ४७ हजार ३ सय ७० रुपैया ऋतिकको उपचारमा खर्च गरेको छ ।
खर्च गरेर मौज्दात रहेको १ लाख ५० हजार रुपैयाँले कोष स्थापना गरिएको उनले बताए । गत वर्ष एसइई परिक्षाको तयारीको क्रममा इलाम नगरपालिका–४, बरबोटे निवासी ऋतिक एकाएक बिरामी भएका थिए । उपचारको क्रममा धरान घोपामा ब्लड क्यान्सर पत्ता लागेको थियो ।
थप उपचारको लागि चितवनस्थित बिपी कोइराला क्यान्सर अस्पातल लगिएकोमा अस्पातलले करिब ३० लाख रुपैयाँ खर्च लाग्ने बताएपछि स्थानीय युवाले ऋतिक बचाउ अभियान समिति बनाएर आर्थिक संकलन गरेका थिए ।
समितिले स्वदेश तथा विदेशका विभिन्न मुलुक अमेरिका, अस्ट्रेलिया, कोरिया, दुबै, कतार, मलेसिया लगायतका देशबाट आर्थिक सहयोग प्राप्त गरेको थियो । उपचारको क्रममा गत भदौ ७ गते ऋतिकको चितवनमा निधन भएको थियो ।
प्रतिक्रिया