महानगरीय प्रहरी प्रभागको नवनिर्मित भवन उद्घाटन

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । करीब रु दुई करोड ३१ लाखको लागतमा निर्माण गरिएको भवनको आज प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले उद्घाटन गरे ।

सो अवसरमा भवन निर्माणका लागि जग्गा दिने जग्गादाता तथा सहयोगी विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो । जग्गादाता दीर्घकुमारी खतिवडालाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको र प्रहरी कार्यालयमा सिसीटिभीका लागि सहयोग गर्ने बूढानीलकण्ठ नगरपालिकालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रभागका पूर्वइञ्चार्ज प्रहरी निरीक्षक होमबहादुर पराजुली र रवीन्द्र पाण्डेलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने प्रभागमा रही उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो । प्राविधिकतर्फका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

विपद् व्यवस्थापन तालीम

राष्ट्रिय प्रहरी प्रक्षिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्ववाधानमा प्रहरी प्रधान कार्यालय केन्द्रीय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा सञ्चालित नवौँ समूहको विपद् व्यवस्थापन आधारभूत तालीम आज सम्पन्न भएको छ ।

प्रहरी कर्मचारीलाई उद्धार कार्यसम्बन्धी आवश्यक ज्ञान सीप प्रदान गरी उद्धारकर्मी तयार गर्ने तथा विपद् व्यवस्थापन तालीमको प्रशिक्षक तयार पार्न तालीम दिइएको थियो । मङ्सिर १८ गतेबाट सञ्चालित ४० दिनसम्म चलेको तालीममा प्रहरी अधिकृत तथा जवानसहित ३० को सहभागिता थियो ।

प्रतिक्रिया