अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

काठमाडौं । नेपाली चलचित्रलाई अन्तर्राष्टियकरण गर्ने लक्ष्यका साथ महोत्सव हुने भएको छ । राजधानीमा फागुन ९ देखि १३ सम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुन लागेको हो ।  नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान (नेपाल फिल्म एन्ड कल्चरल एकेडेमी) को आयोजनामा हुन लागेको उक्त महोत्सवमा ३१ देशका ५९ चलचित्र अन्तिम छनोटमा परेका छन् । राजधानीमा बिहीबार पत्रकार सम्मेलन गरी यसपटकको महोत्सवमा नेपालबाट १६ वटा प्रदर्शन गरिन लागेको जनाइएको छ । सोका लागि छ फिचर र १० लघु चलचित्र छनोटमा परेका छन् । बाँकी अन्य राष्ट्रका चलचित्र समावेश गरिनेछ । कार्यक्रममा नेपालले अन्तर्राष्ट्रिय सहकार्यमा बनाएका दुई छोटा चलचित्र पनि देखाइँदै छ ।

महोत्सवमा सहभागी चलचित्रमध्ये राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र जगतका ख्यातिप्राप्त चलचित्रविद् सम्मिलित निर्णयक मण्डलबाट मूल्यांकन गराई पुरस्कार प्रदान गर्ने तयारी छ । सर्वोत्कृष्ट ठहरिएको एक फिचर चलचित्रलाई ट्रफी र एक हजार डलरसहित गौतमबुद्ध अवार्ड तथा एक छोटो चलचित्रलाई पाँच सय डलर र ट्रफीसहित माउन्ट एभरेस्ट अवार्ड प्रदान गरिनेछ ।  नेपाल पानोरामा प्रतिस्पर्धामा रहेका चलचित्रमध्येबाट उत्कृष्ट ठहर भएको फिचर चलचित्र पचास हजार र ट्रफी तथा छोटो चलचित्रलाई उत्कृष्ट भएकालाई पच्चीस हजार र ट्रफी प्रदान गरिनेछ ।

महोत्सवमा २०१५ पछिका नेपाली र २०१६ पछि प्रदर्शन भएका अन्तरराष्ट्रिय चलचित्र देखाइने छ । नेपाल, भारत, बंगलादेश, चीन, श्रीलंका, जापान, फ्रान्स, जर्मनी, इटलीलगायत देशका चलचित्र रहेका छन् । प्रतियोगिताका मुख्य निर्णायक नीर शाहले महोत्सवले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

चलचित्र निर्देशक यादव खरेलले भाषा र संस्कृतिलाई मनोरञ्जनात्मक तरिकाबाट पस्कनु नै चलचित्र भएकाले यसलाई मनोरञ्जनको साधनका रूपमा मात्रै नलिन आग्रह गरे । चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष खरेलले राष्ट्रिय चलचित्रसम्बन्धी नीति निर्माण भइसके पनि कार्यान्वयन नभएको भन्दै सरकाले यसको सफल कार्यान्वयन गर्न भूमिका खेल्नुपर्ने विचार व्यक्त गरे ।

आयोजक संस्थाका अध्यक्ष केपी पाठकले नेपाली चलचित्रले नेपाली भाषा र संस्कृतिलाई समावेश गर्न सके मात्र उक्त चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सकिने बताए । उनले भने, ‘सेलेबेरेसन अफ न्यारिटिभस्’ को नारामा गर्न लागिएको महोत्सवले नेपाली चलचित्रमा नयाँ बहस छेड्ने विश्वास लिएका छौँ ।’ पहिलोपटक यस्तो महोत्सव गत वर्ष पोखरामा गरिएको थियो । यस पटक नेपाल पर्यटन बोर्ड र राष्ट्रिय सभागृहमा हुने उक्त फेस्टिभलमा २० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा राखेको पाठकले जनाए ।  सञ्चारकर्मी विजयरत्न तुलाधरले नेपाली चलचित्रलाई विश्वबजारमा पु¥याउन यस्ता महोत्सव निकै फदायी हुने विचार व्यक्त गरे ।

प्रतिक्रिया