सुडानमा विरोध चर्कियो

खार्तुम । सुडानमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोधमा राष्ट्रपतिकै राजीनामा माग गर्दै सुरु भएको प्रदर्शन एक महिना पुगिसकेको छ, तर राष्ट्रपति ओमार अल–बासिर राजीनामा नदिनेमा दृढ देखिएका छन् ।

प्रदर्शनका आयोजकहरूले राजधानी खार्तुमस्थित राष्ट्रपति कार्यालय अघिल्तिर विशाल प्रदर्शनमा सहभागी गराउन मानिसलाई गाउँगाउँबाट ल्याइरहेका छन् । सुडानका अरू सहरहरूमा पनि दिनहुँ प्रदर्शन भइरहेका छन् । मानव अधिकार समूह ह्यूमन राइट्स वाचले प्रदर्शनका क्रममा सुरक्षा फौजको कारबाहीमा बालबालिका समेत ४० जनाभन्दा बढीको मृत्यु भइसकेको जनाएको छ ।

राष्ट्रपति बासिर सन् १९८९ देखि सुडानको राष्ट्रपतिमा छन् । सुडान विज्ञहरूका अनुसार यसपटक राष्ट्रपति बासिरमाथि सबैभन्दा ठूलो चुनौती खडा भएको छ । खार्तुम प्रदर्शनमा सहभागी २८ वर्षीय अदेल इब्राहिमले वर्तमान सत्ता परिवर्तन नहुँदासम्म प्रदर्शनमा सहभागी भइरहने बताए । ‘हामीहरू हाम्रो भविष्य र हाम्रो राष्ट्रको भविष्य सुरक्षित राख्न प्रदर्शन गरिरहेका छौँ ।’

सरकार विरोधी प्रदर्शन सुरुमा आटबारा सहरबाट थालनी भएको थियो । सुडानको पूर्वी भेगमा रहेको यो सहर सरकार विरोधीका रूपमा पहिल्यैदेखि परिचित छ । केही दिनभित्रै यो प्रदर्शन अरु प्रान्त र राजधानी खार्तुममा सुरु भएको थियो । परम्परागत रूपमा राष्ट्रपति बासिरको पकड क्षेत्रका रूपमा रहेका पोर्ट सुडान, गादारेफ, कासाला समेतका सहर तथा गाउँबस्तीहरू पनि यसपटक बासिरको राजीनामाको पक्षमा उभिएका छन् । पश्चिमी डार्फर क्षेत्रमा पनि बासिरविरुद्ध प्रदर्शन हुन थालेका छन् ।

मानिसहरूलाई प्रदर्शनमा सहभागी गराउन सामाजिक संजालको निकै बढी प्रयोग हुन थालेको छ । मानिसहरूले ‘शान्ति, स्वतन्त्रता, न्याय’ को पक्षमा गरेका नाराबाजीलाई सामाजिक सञ्जालमा लगातार समावेश गर्ने गरिएको छ ।

आमजनताको स्वःस्फूर्त सहभागिताप्रति अधिकारीहरूसमेत आश्चर्यचकित भएको पाइएको छ । सुडानको अर्थतन्त्र कमजोर हुनुमा संयुक्तराज्य अमेरिकाको प्रमुख भूमिका रहेको अधिकारीहरूको भनाइ छ ।

अमेरिकाले सन् १९९७ मा सुडानविरुद्ध व्यापार प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध सन् २०१७ को अक्टोबरमा मात्र फुकुवा गरिएको छ । अमेरिकी प्रतिबन्धका कारण सुडानले अन्तर्राष्ट्रिय व्यापारिक कारोबार गर्न पाएको थिएन ।

बासिरले सोमबार डार्फरमा आयोजित एक सभामा सम्बोधन गर्दै प्रदर्शनकै कारण सरकार परिवर्तन हुन नसक्ने बताए । उनले भने, ‘सत्तामा परिवर्तन मतदानबाट मात्र हुन्छ । सुडानी जनताले सन् २०२० मा हुने चुनावमा यसको निर्णय गर्नेछन् ।’ राष्ट्रपति बासिर पनि उक्त चुनावमा तेस्रोपटक उठ्ने तयारीमा छन् ।

प्रतिक्रिया