सहकारीमा महिलाको आकर्षण बढ्दो

पाल्पा, रामपुर नगरपालिका–५ सुन्दरटोल बस्ने पार्वती न्यौपानेको आम्दानीको बाटो केही पनि थिएन । तरकारी खेती र कुखुरापालन व्यवसाय गर्ने सोच बनाएर आफन्त, साथीभाइ सबैसँग ऋणका लागि गुहारिन तर, कसैले पत्याएनन् ।

उनलाई छोराछोरीको पढाइ खर्च, घरव्यवहार चलाउन निकै कठिन थियो । कमाउने कोही नहुँदा आफन्त साथीभाइ सबै टाढिए । गाउँमै रहेको अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुरमा उनी आबद्ध भइन् ।

लघुवित्त कार्यक्रममा सहभागी भएपछि उनलाई सहकारीले व्यवसाय गर्न विनाधितो ऋण दियो । सहकारीबाट ऋण पाएपछि न्यौपानेले खुुसी हुँदै जग्गा भाडामाा लिएर तरकारी र कुखुरापालन व्यवसाय सुरु गरिन् । ‘सहकारीबाट ऋण लिएर सुरु गरेको व्यवसाय अहिले राम्रो आम्दानीको स्रोत बनेको छ, हामी गरिब बेसहारा किसानका लागि सहकारी वरदान नै सावित भएको छ,’ उनले भनिन् ।

उनले अहिले करिब सात रोपनी जग्गा भाडामा लिएर तरकारी खेती र कुखुरापालन व्यवसाय गरिरहेकी छन् । यस व्यवसायबाट उनलाई अहिले वर्षमा ४ लाख रुपैयाँ बराबरको आम्दानी हुन्छ ।

त्यस्तैगरी, अर्का कृषक टकादेवी भट्टराईको अवस्था पनि न्यौपानेको जस्तै थियो । उनी पनि व्यवसाय गर्नकै लागि ऋण झिक्न सहकारीमा पुगिन् । विनाझन्झट विनाधितो ऋण पाएपछि उनले उत्साहित भएर तरकारी खेतीमा लगानी गरिन् ।

भट्टराईले अहिले पाँच रोपनी जग्गामा विभिन्न मौसमी तथा बेमौसमी जातका तरकारी लगाएर एक मौसममा नै ३ लाख रुपैयाँ बराबरको आम्दानी गरिरहेकी छन् । तरकारी खेतीबाट राम्रो आम्दानी हुँदै गएपछि उनले कुखुरापालन व्यवसाय पनि सुरु गरिन् ।

उनले भनिन्, ‘सुरुमा ऋण पाउन धेरै जनासँग हात जोडँे । रातदिन भौँतारिएँ तर कसैले दिन मानेनन् । घर नजिकै सहकारी खुलेको थियो । त्यहाँ गएपछि सजिलैसँग ऋण पाइयो ।’ सहकारी आफूजस्तै मानिसका लागि जीवन जिउने आधार बनेको उनको भनाइ छ ।

रामपुर नगरपालिका–७ बहखोला बस्ने उर्मिला रानालाई सहकारीले सहजै विनाधितो ऋण उपलब्ध गराएपछि होटल व्यवसायमा लगानी गरिन । आजभन्दा एक दशक अगाडि २० हजार रुपैयाँको लगानीमा होटल व्यवसाय सुरु गरेकी राना अहिले यो व्यवसायको कमाइबाट घरघडेरी जोड्न सफल भएकी छन् ।

रामपुर–५ सुन्दरटोल बस्ने लक्ष्मी रानाले सहकारीबाट झिकेको ऋणले भैँसी र गाईपालनमा लगानी गरेकी छन् । उनको फार्ममा हाल ६ वटा उन्नत जातका भँैसी, दुईवटा उन्नत जातका गाई छन् । उनी दैनिक ३५ लिटर दुध बिक्री बेचेर मासिक ४५ हजार कमाइ गर्छिन् । उनले सहकारीबाट १ लाख रुपैयाँ रकम ऋण झिकेर पशुपालन व्यवसायमा लगानी गरेकी हुन् ।

उनीजस्ता धेरै महिला अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थाबाट झिकेको रकम आयमूलक व्यवसायमा लगानी गरी आत्मनिर्भर बनेका छन् । सहकारीमा अहिले ९ हजार ४ सय १३ जना सेयर सदस्य रहेका छन् । ०६४ सालदेखि सुरु भएको लघुवित्त कार्यक्रममा ६ हजार ४ सय ८८ जना महिला सदस्य आबद्ध छन् । हाल सहकारीले दैनिक ७२ करोड रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ ।

संस्थाले विनाधितो १ लाख ५० हजार रुपैयाँसम्म र त्योभन्दा माथि परियोजना हेरेर धितोमा ९ लाखसम्म व्यवसाय गर्न इच्छुकलाई ऋण प्रवाह गर्दै आइरहेको सहकारीका व्यवस्थापक दीपेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

सहकारीले पूर्वी पाल्पाका साविक २१ वटा गाउँ विकास समितिलाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छ । सहकारीबाट ऋण झिक्नेमध्ये करिब ४० प्रतिशतले व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन् । सहकारीले नाफामुखी नभई विशुद्ध जनताको हितमा काम गरिरहेको अध्यक्ष तीर्थप्रसाद पंगेनीले बताए ।

‘सदस्यहरूको वित्तीय आवश्यकतालाई पूरा गर्ने, गुणस्तरीय सहकारीको पहिचान स्थापित गर्ने, संस्थाले लगानी गरेका व्यवसायलाई व्यावसायिक बनाउँदै लैजाने गरी काम गरिरहेको छ,’ पंगेनीले भने ।

व्यवसाय गर्न चाहने महिलालाई सहुलियत दरमा विनाधितो ऋण सहकारीले उपलब्ध गराएपछि ग्रामीण भेगका महिलाहरू आयमूलक पेसा व्यवसायतर्फ उन्मुख भएका छन् । गाउँका गरिब, एकल, असहाय, दलित, विपन्न वर्गका महिलाहरूका निम्ति सहुलियत दरमा ऋण दिन थालेपछि सहकारीमा महिलाहरूको आकर्षण बढ्दो छ ।

प्रतिक्रिया