नियमित काम भएमा १८ महिनामा बन्ने, स्थानीयको अवरोध

काठमाडौं । काठमाडौको चोभारमा एक अर्ब रूपैयाँ बढीको लगानीमा सुख्खा बन्दरगाह निर्माण सुरु भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समिति अन्तर्गत विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले शीलान्यास गरे ।

साविक हिमाल सिमेन्ट कारखानाले चर्केको चोभारस्थित ११ दशमलव ७७ हेक्टर जग्गामा बन्दरगाह निर्माणको शिलान्यास गरिएको हो । व्यापार पूर्वाधार विकासको क्रममा काठमाडौंको बढ्दो आवश्यकतालाई ध्यानमा राखी चोभारस्थित साविकको हिमाल सिमेन्ट कारखाना रहेको जग्गामा अन्तर्राष्ट्रिय स्तरको सुख्खाबन्दरगाह निर्माण सुरु गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

सुख्खा बन्दरगाहको शीलान्यास गर्दै प्रधानमन्त्री ओलीले नेपालको व्यापारलाई अन्तर्राष्ट्रिय व्यापारसँग सहजीकरण गर्न यसले भूमिका खेल्ने बताए । यो बन्दरगाह निर्माण भएपछि काठमाडौंका लागि उपभोग्य वस्तुको अभाव नहुनेसमेत जानकारी गराए । दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भन्डारण कक्षको रूपमा यो बन्दरगाह उपयोग हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

यसको निर्माण कार्य सुरु भएसँगै यस क्षेत्रका स्थानीयको जनजीवन, रोजगारी र मुलुकको अर्थतन्त्रमा यसको सकारात्मक कार्यहरू प्रारम्भ हुनेसमेत उनले बताए । केही सीमित व्यक्तिहरूको व्यक्तिगत स्वार्थका कारण सुख्खा बन्दरगाहको शीलान्यास गर्नमा ढिलाइ भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

सुख्खा बन्दरगाहमा गोदाम, प्रशासनिक भवन, सुरक्षा निकाय बस्ने भवन, सवारी नापतौल तथा नियन्त्रण कक्ष, कन्टेनर ग्राउन्ड स्टल, एक्जिम क्षेत्र, ट्रक पार्किङ, ढल प्रशोधन केन्द्र, फायर फाइटिङ, सुरक्षा निगरानीका लागि सिसिटीभी लगायत व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । बन्दरगाह निर्माण सम्पन्न भएपछि सोही स्थानमा अन्तर्राष्ट्रिय स्तरको प्रर्दशनी केन्द्र निर्माणको कामसमेत अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

समितिअन्तर्गत, हाल झापाको काँकडभित्ता, विराटनगर, वीरगञ्ज, भैरहवामा सुख्खा बन्दरगाह निर्माण एवं एकीकृत सुरक्षा जाँच चौकी सञ्चालन भइरहेको छ । सिन्धुपाल्चोकको तातोपानी र रसुवाको टिमुरेमा पनि सुख्खा बन्दरगाह निर्माणको क्रममा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले जानकारी दिए । बन्दरगाह १ अर्व,४८ करोड ३४ लाख रूपैंयाको लागतमा निर्माण सम्पन्न हुने भएको छ । यो बन्दरगाहमा ३५० ट्रक र ६ सय वटा कन्टेनर अट्ने बताइएको छ ।

बन्दरगाह बनाउन २०१० बाटै प्रक्रिया सुरु भएको थियो । बल्ल यसको विस्तृत डिजाइन भएर ठेक्का लागेर काम अघि बढ्न लागेको हो । यहाँ चार लेयरमा कन्टेनर राख्न सक्ने गरी आधुनिक प्रविधिसहितको बन्दरगाह निर्माण गरिँदैछ । कोलकाता, विशाखापटनम र चीनको समुन्द्री बन्दरगाहबाट सामान बोकेर आएका कन्टेनर सिधै यहाँ आएर जाँचपास गर्न सकिने व्यवस्था गर्न लागिएको छ ।

यसका लागि सीमा नाकामा प्रवेश गरेपछि कन्टेनरमा सरकारले विशेष ‘ताल्चा’ लगाउनेछ । यसैबिच, सुख्खा बन्दरगाह निर्माणको विरोधमा स्थानीयले विरोध प्रर्दशन गरेका छन् । कीर्तिपुर नगरपालिकाको चोभारमा बन्ने सुख्खा बन्दरगाहको विरोधमा उनीहरूले प्रदर्शन गरेपछि केही स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया