हुम्लामा अस्पतालको रुप फेरियो

हुम्ला । विरामी उपचार गर्ने वेडरुममा गन्ध मात्रै, विरामी त परै होस् कुरुवालाई विरामी बनाउने दुर्गन्ध, अव्यवस्थित उपचार कक्ष, कुन सेवा कहाँबाट पाईन्छ भन्ने जानकारी कहिँ कतै थाहा पाउन सकिएको थिएन । हेर्दा कुनै डम्पिङ्ग साईटको जस्तो जताततै फोहर ।

स्वास्थ्य कर्मचारीलाई विरामीको रेखदेख गर्नमा समस्या हुने गरी विरामी कुरुवाको भिँड जस्ता समस्या हुम्ला जिल्ला अस्पतालको अब कथा मात्र बनेको छ । हुम्लाको एक मात्र अस्पताल जिल्ला अस्पतालले सेवमबमे विस्तार र उचित व्यवस्थापन गर्दा विरामीलाई सहज भएको छ ।

अस्पताललाई यसै वर्षबाट थप सुविधाको साथ सेवाको विस्तार गरिए पछि हुम्ली स्वास्थ्य सेवाग्राहीलाई राहत भएको हो । जिल्लाको अन्य गाउँपालिका र वडा पालिकाको स्वास्थ्य चौकीको भरमा उपचार गर्दै आएका सेवाग्राहीले सामान्य उपचारको लागि जिल्ला बाहिर जान नपरोस् भन्नको लागि सेवाको विस्तारमा जिल्ला अस्पतालले गरेको छ ।

अस्पतालको हरेक कोठामा विरामी मैत्री रंगरोगन, फोहरको उचित व्यवस्थापन, उपयोग नभएका कक्षलाई मर्मत संभार र विस्तार गर्दा हाल जिल्ला अस्पतालको मुहार नै परिवर्तन भएको छ । गत वर्षमा विरामीले सामान्य एक्सरे समेत गर्न नपाई हवाई जहाजको महँगो भाडा तिरेर जिल्ला बाहिर जानु पर्ने अवस्था थियो ।

हाल जिल्ला अस्पतालले यो सुविधा दिन थालेपछि यो समस्या टरेको छ । अब ढुक्कसँग विरामीको औषधोपचार गर्न सकिएको डाक्टर टासी अञ्जुक लामाले बताईन् । त्यसै गरी विरामीको रोगको निदान गर्नको लागि ईसीजी सेवा पनि अस्पतालले दिन थालेको छ । यसै वर्ष सामुदायिक विकास कार्यक्रमको सहयोगमा एक्सरे भवनको छुट्टै निर्माण भएपछि रेडियोग्राफी सम्वन्धी सबै सेवा जिल्ला अस्पतालले दिन थालेको छ ।

भवनको मर्मत र एक्सरेमैत्री अस्पताल व्यवस्थापनले सुधार पछि हाल सेवा दिन सहज भईरहेको छ । अस्पतालमा राती विरामीको उपचार गर्नको लागि नर्सिङ्ग सेवा दिईरहेका स्वास्थ्यकर्मीको लागि ड्युटी कक्ष छुट्टै विभाग नहुँदा समस्या भईरहेको थियो । यो वर्षबाट नर्सिङ ड्युटी स्टेशनको पनि स्थापना गरी विरामीको हेरविचार र उपचारमा सहज गरिएको डाक्टर टासीले बताए ।

अस्पतालमा सानो अक्सिजनको भेण्टिलेटरको सहयोगले भए पनि हाल सुविधा सहित उपचारमा स्वास्थ्यकर्मी लागि परेको लामाले बताईन् । अस्पतालको आकस्मिक कक्षमा विरामीले उपचारमा कठिनाई नहोस् भनेर पहिलेको भन्दा अहिलेसफा र स्वच्छ समेत देखिएको छ । विरामीको उपचारको लागि २४ सै घण्टा दक्ष स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा विरामीलाई उपचार गर्न थालिएको छ ।

केही महिना अगाडी चिनियाँ सरकारले स्वास्थ्य उपकरणको सहयोग पश्चात अझ सेवा प्रभावकारी रुपमा दिन सकिएकोमा चिकित्सक खुसी देखिएका छन् । दुर्गममा स्वास्थ्य सेवा दिनको लागि चिकित्सकको टोली आनाकानी गर्ने प्रवृत्ती भएता पनि हाल जिल्ला अस्पताल हुम्लामा स्थानिय दुई जना डाक्टर टासी अञ्जुक लामा र नविन रोकायाले अहोरात्र सेवा प्रवाह दिँदा हुम्ली सेवाग्राहीले लाभ लिन सकिरहेका छन् ।

आफुहरु त्यहिँका स्थानिय भएकोले त्यहाँको वातावरणमा सामान्य भई काम गर्नको लागि सहज भएको र जिल्लाको स्वास्थ्य सेवामा परिवर्तन गरी आफ्नै गृह जिल्लामा सेवा दिन पाएमा खुसी भएको दुवै डाक्टरको भनाई छ ।

अस्पतालको सहुलियत फार्मेसी सञ्चालन

विरामीले जिल्ला अस्पतालमा निःशुल्क प्राप्त गर्ने औषधी बाहेक अन्य औषधी निजी फार्मेसी र मेडिकलबाट चर्को मूल्यमा किन्नु पर्ने अवस्थाबाट पनि पार पाएका छन् । यसै आर्थिक वर्षबाट जिल्ला अस्पतालले आफ्नै फार्मेसी सञ्चालन समेत गरेको छ ।

हवाई ढुवानीबाट औषधी भित्र्याउनु पर्ने भएको कारण निजी फार्मेसी र मेडिकलले चर्को मूल्यमा औषधीको विक्री वितरणबाट सेवाग्राही मर्कामा नपरुन् भन्नको लागि अस्पतालको फार्मेसी सञ्चालनमा ल्याईएको हो । नेपालगञ्ज, सुर्खेत र देशको अन्य शहरी क्षेत्रको मूल्यमा औषधीको विक्रि वितरण गरी विरामीलाई आर्थिक भार कम गराएको अस्पताल स्रोतले जानकारी गराएको छ ।

अस्पतालमा प्राप्त नहुने औषधीलाई निजी मेडिकल र फार्मेसीले २ सय देखी ५ सय प्रतिशत सम्म औषधी विक्रि गर्ने गरेको भएता पनि हाल विरामीलाई शहरी क्षेत्रको मूल्यमा नै औषधी किन्न पाउँदा ठूलो राहत भएको छ ।

सिमित स्वास्थ्यकर्मी, अहोरात्र सेवा

सिमित स्वास्थ्यकर्मीको दरवन्दीको कारण पनि जिल्ला अस्पतालले सेवा प्रवाहको लागि कुनै कसर बाँकी राखेको छैन । गत आर्थिक वर्षबाट रेडियोग्राफर, ल्याब टेक्निसियन र फार्मेसीमा काम गर्ने कर्मचारीको तलव भत्ता गाउँपालिका कार्यालय सिमकोटले नै व्यहोर्ने गरी व्यवस्था मिलाए पछि अझ जिल्ला अस्पताललाई सहज भएको छ ।

३ जनाको दरबन्दीको रकम गाउँपालिकाले व्यहोर्दै आएको र जसबाट विरामीको लागि सेवा सञ्चालनमा सहज भएको गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत अर्जुन दर्जीले । कोही कसैले सामान्य उपचारको लागि जिल्ला बाहिर जानु नपरोस् भन्नको लागि गाउँपालिकाको कार्यालय लागि परेको दर्जीले बताए ।

जिल्ला अस्पतालको सेवा विस्तारसँगै अब दिशा, पिसाब, रगत, खकार जस्ता जाँच समेत सहज रुपमा दिन सुरु गरेको छ । पहिले कर्मचारी दरबन्दी नहुनु, सुविधा नहुनाले सेवाग्राहीले लाखौं खर्च गरी शहरमा उपचाको लागि जाने गरेका थिए । जिल्ला अस्पतालमा प्याराडेमिक्स र नर्सिङ स्टाफको अभाव हुँदा हुँदै पनि राम्रो सेवा प्रवाह भईरहेको जिल्ला अस्पताल प्रमूख समेत रहेका डाक्टर टासी अञ्जुक लामाले बताईन् ।

हाल अस्पतालमा अत्यन्त दरबन्दीको अभाव रहेको छ, डाक्टरको दरबन्दी ३ जनाको भएको भएता पनि स्थानिय २ जना डाक्टरले भ्याईनभ्याई काम गर्नु परेको छ । भएका अन्य कर्मचारीलाई पनि बढी समय सम्म खटाउनु पर्ने अवस्था रहेको छ त्यही पनि जसोतसो राम्रो उपचार गर्ने र व्यवस्थापन गर्ने प्रयास गरेको डा. लामाले बताईन् ।

प्रदेश सरकारले प्रयाप्त मात्रामा स्वास्थ्यकर्मीको व्यवस्था गरेको भए जिल्लामा स्वास्थ्य क्षेत्रमा राम्रो प्रवन्ध गर्न सकिने अवस्था रहेको जिल्ला स्वास्थ्य प्रमूख तुलसी प्रसाद अधिकारीले बताए ।

प्रतिक्रिया