भद्रकलाले ल्याइन् ‘माया’

काठमाडौं । भद्रकला आङबुहाङ राईले आफ्नो दोस्रो एल्बम ‘माया’ बजारमा ल्याएकी छन् । राजधानीमा उक्त एल्बमको संगीतकार शम्भुजीत बासकोटा, गीतकार डा.कृष्णहरि बराल, गीतकार उन्नती बोहरा शिला, संगीतकारद्वय राजु सिंह र लक्ष्मण शेष लगायतले विमोचन गरे । काठमाडौंमा एल्बम विमोचन हुँदै गर्दा सोही दिन उनले हङकङमा आफ्नो एकल रचनाको गायन साँझसमेत सम्पन्न गरेकी छन् ।

०७० सालदेखि नेपाली संगीतमा देखा परेर संगीतको उत्थानमा लागेकी उनले सामाजिक कार्यमार्फतसमेत समाजमा योगदान दिएकी छन् । एल्बम ‘माया’ मा कुल ११ गीत समावेश छन् । सुरेश अधिकारी, राजीव शाह, वसन्त सापकोटा र बादल लिम्बूको संगीतमा तयार भएको एल्बममा राजेश पायल राई, अन्जु पन्त, स्वरुपराज आचार्य, प्रमोद खरेल, दीपक लिम्बु, रजिना रिमाल, प्रविशा अधिकारी र निकिता थापाको आवाज रहेको छ ।

केही गीतमा संगीतकार बादलको समेत स्वर रहेको छ । उता हङकङमा भद्रकलालाई एकल गायनमा राजेश पायल राई, बादल लिम्बू, प्रविशा अधिकारीले साथ दिए । उक्त कार्यक्रममा उनीहरूले एक दर्जन गीत प्रस्तुत गरेका थिए । भद्रकलाकै गीतमा अभिनेत्री मरिष्का पोखरेलले नृत्यसमेत गरेकी थिइन् । असहाय अशक्त बिरामीको सहयोगार्थ सम्पन्न उक्त कार्यक्रमबाट उठेको पैसाले भद्रकलाले सामाजिक कार्यलाई निरन्तरता दिने बताइन् ।

प्रतिक्रिया