माथिल्लो तामाकोसीको सेयर कारोबार रद्द

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको सोमबारको सेयर कारोबार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै उक्त कम्पनीको सेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोबार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोबार भएका कारण कारोबार रद्द गर्नुपरेको जानकारी दिए ।

आइतबारदेखि दोस्रो बजारमा कम्पनीको सेयर कारोबार सुरु भएको थियो । स्टकले सुरुआती चरणमा प्रतिकित्ता २ सय २४ सम्मको सीमा निर्धारण गरेको थियो । यसदिन बजार खुल्ने बित्तिकै २ लाख ४३ हजार कित्ता सेयर खरिदका लागि लगानीकर्ता लालायित भएका थिए । खरिद गर्न चाहनेको संख्या बढे पनि बिक्री गर्न चाहने भने एक जना पनि देखिएको थिएन ।

नियमानुसार कुनै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतभन्दा बढीले कमी आउँदा वा बढ्दा ‘सर्किट ब्रेक’ लगाउने गरिन्छ । यसको अर्थ १० प्रतिशतभन्दा बढीले कमी हुँदा वा बढी हुँदा सेयर कारोबार हुनुहुँदैन । तर, प्राविधिक समस्याका कारण माथिल्लो तामाकोसीको सेयरमा उच्च अंकले वृद्धि हुन पुग्यो । बजार खुल्दा सो कम्पनीको सेयर १ सय १२ ले वृद्धि भई ३ सय ३६ पुगेको थियो । स्टकले भने सीमाभन्दा बाहिर गएको हुनाले कारोबार रद्द भएको जनाएको छ ।

प्रतिक्रिया