विमान धावनमार्गबाट चिप्लियो, १५ को मृत्यु

तेहरान । इरानको राजधानी तेहराननजिकै एउटा कार्गो विमान दुर्घटना हुँदा १५ जनाको ज्यान गएको छ । कराजस्थित फाथ विमानस्थलमा खराब मौसमका वेला अवतरणका क्रममा बोइङ ७०७ विमान धावनमार्गबाट चिप्लिएर नजिकै रहेको आवासीय क्षेत्रमा एउटा भवनमा जोतिन पुगेको थियो ।

घटनास्थल तेहरानदेखि ४० किलोमिटर पश्चिममा पर्छ । इरानी सेनाका अनुसार विमानमा रहेका १६ जनामध्ये एक फ्लाइट इन्जिनियरलाई मात्रै जीवित अवस्थामा फेला पारिएको छ ।

उपचारका लागि उनलाई अस्पताल पुर्याइएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उक्त कार्गो विमानले किर्गिजस्तानको राजधानी बिस्केकबाट मासु ओसार्दै थियो । दुर्घटनाग्रस्त कार्गो विमानको सञ्चालकबारे चाहिँ थाहा हुन सकेको छैन ।

इरानको नागरिक उड्डयन निकायका एक प्रवक्ताले विमान किर्गिजस्तानको भएको बताएका छन् । तर, किर्गिजस्तानको मानास विमानस्थलले उक्त विमान इरानको पायाम एअरबाट सञ्चालनमा रहेको बताएको छ ।

प्रतिक्रिया