काठका पोलले खतरा बढायो

दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा विद्युतीय खतरा देखिएको छ । बढ्दो सहरीका कारण अव्यवस्थित बनेको महाकाली नगरपालिका क्षेत्र समेत रहेको जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा विद्युतीय खतरा उत्तिकै रहेको छ ।

२०७३ साल यता हालसम्म विद्युतीय करेण्ट लागेर २ जनाको मृत्य समेत भएको तथ्यांक जिल्ला प्रहरी कार्यालय दार्चुलामा रहेको छ । यसरी विभिन्न विद्युतीय जोखिम रहेको भएपनि हालसम्म विद्युतीय काठेपोलहरू भने फेर्न सकिएको छैन ।

दार्चुला जिल्लाकै पहिलो जलविद्युत् योजना निर्माण पश्चात् जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा विद्युत् लाइन विस्तार गर्दा प्रयोग गरिएका विद्युतीय काठेपोलहरू अझै फरिएका छैनन् । दार्चुला जिल्लामा पहिलो पटक २०४९ तिर डुङरी जलविद्युत् योजनाले राखेका विद्युतीय काठेपोलहरू अझै पनि फेर्न सकिएका छैनन् ।

२०४३ सालमा निर्माण सम्पन्न भएको डुङरी साना जलविद्युत् योजनाको उद्घाटन तत्कालीन स्वर्गिय राजा विरेन्द्र शाहले उद्घाटन गर्नु भएको थियो । स्वार्गिय राजा विरेन्द्र शाहले उद्घाटन गरेको उक्त जलविद्युत् योजनाका काठेपोलहरू अझै फेर्न सकिएको छैन ।

नेपालका गणतन्त्र, लोकतन्त्र जस्ता विभिन्न शासन पद्धतिहरू फेरिए तर स्वर्गिय राजा विरेन्द्र शाहले उद्घाटन गरेको जलविद्युत् योजनाका काठेपोलहरू भने फेर्न सकिएको छैन । सुरुमा निजी क्षेत्रको स्वामित्वमा सञ्चालन भएको डुङरी जलविद्युत्् योजना ०७३ कात्र्तिक महिनामा नेपाल विद्युत्् प्राधिकरणलाई हस्तान्तरण गरिएको थियो ।

यसरी विद्युतीय काठेपोलहरू फेर्न नसकिँदा विद्युतीय खतरा बढेको हो । झण्डै २६ वर्ष पुराना काठेपोलहरू जीर्ण बन्दै गएपछि विद्युतीय खतरा बढेको हो । अव्यवस्थित घना बस्ती रहेको जिल्ला सदरमुकाम खलंगा क्षेत्रका कतिपय काठेपोलहरू जीर्ण बन्दै गएकाले हावाहुरी चल्दा काठेपोलहरू ढल्ने सम्भावना रहेकाले विद्युतीय खतरा उत्पन्न भएको हो ।

जिल्ला सदरमुकाम खलंगाका कतिपय घरहरूकै पर्खालमा छोएर विद्युतीय लाईन विस्तार गरिएको छ । यसले गर्दा पनि विद्युतीय जोखिम बढेको स्थानीयहरूको गुनासो छ । सबैभन्दा बढी जोखिम २६ वर्ष पुराना काठेपोलहरू रहेकाले यी पोलहरू फेर्नुपर्ने आबश्यकता देखिएको छ ।

१०-१५ ओटा काठेपोलहरू फेर्ने तयारीमा रहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलाका निमित्त प्रमुख मीनराज पन्तले बताउनुभयो । जिल्ला सदरमुकाम खलंगा क्षेत्रमा कति ओटा काठेपोलहरू छन् भन्ने एकिन तथ्यांक नेपाल विद्युत् प्राधिकरण वितरण दार्चुलासँग समेत छैन ।

सुरुमा डुङरी जलविद्युत् योजना दार्चुला विद्युत्् प्रालिको व्यवस्थापनमा सञ्चालन भएकाले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रसंग समेत कति ओटा काठेपोलहरू छन् भन्ने बारे एकिन तथ्यांक नरहेको विद्युत् वितरण केन्द्र दार्चुलाले जनाएको छ । कति ओटा काठेपोलहरू छन् भन्ने एकिन तथ्यांक नभएपनि १०-१५ ओटा पोलहरू फेर्न स्कीम तयार भइरहेको वितरण केन्द्र दार्चुलाका निमित्त प्रमुख मीनराज पन्तले बताउनु भयो । तत्काल जोखिम रहेको भन्ने सेवाग्राहीहरूको गुनासो आए तत्काल काठेपोलहरू फेर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।

१०-१५ ओटा काठेपोलहरू फेर्ने तयारी गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र काठेपोल विस्थापित कार्यक्रम अन्तरगत बजेट भने विनियोजन गरिसकेको छैन ।स्किमसमेत तयार पारिनसकेकाले बजेट विनियोजन नगरिएको वितरण केन्द्र दार्चुलाले जनाएको छ ।

वितरण केन्द्रले काठेपोल विस्थापितका लागि बजेट विनियोजन नगरेको भए पनि महाकाली नगरपालिकाले भने ५ लाख बजेट विनियोजन गरेको छ ।

विद्युत् क्षेत्र सुधार शीर्षकमा महाकाली नगरपालिकाले ५ लाख बजेट विनियोजन गरेको महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्टले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दार्चुलाले बजेट अभाव र काम गर्न समस्या भएको भए नगरपालिका सहयोग गर्ने नगर प्रमुख भट्टको भनाइ छ ।

प्रतिक्रिया