चाकु व्यवसायीलार्ई भ्याइनभ्याई

बनेपा । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–४ लामीडाँडाका चाकु व्यापारीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ ।

माघेसंक्रान्तिका दिन बजारमा यसको माग बढी हुने भएकाले चाकु व्यवसायी निकै व्यस्त रहेका छन् । विगत १५ वर्षदेखि सो व्यवसाय गर्दै आएका पाँचखाल नगरपालिका–४ लामीडाँडाका विष्णुपुकार श्रेष्ठले दैनिक १०० किलोदेखि १५० किलोसम्म चाकु बिक्री भइरहेको बताए ।

‘दिनको यति नै व्यापार हुन्छ भन्ने त हुँदैन तर पनि कामदारको ज्याला कटाएर दुई हजारदेखि दुई हजार ५०० सम्म कमाइ हुन्छ’, श्रेष्ठले भने, ‘चाकु बनाउनलाई दिनको ५० किलोको दुई÷तीन बोरासम्म सख्खर खपत हुन्छ ।’

त्यसका लागि आवश्यक पर्ने कच्चपदार्थ (सख्खर) कृष्णनगरबाट ल्याउने गरेको र एक पटकमा ५०-६० बोरासम्म ल्याउने गरेको उनले बताए । खासै पुस र मागमा बिक्री हुने गरेको चाकु बनाउने काम एक÷दुई महिनासम्म चल्ने गरेको उनको भनाइ छ । काम गर्नेलाई दैनिक रु सात सयका दरले ज्याला दिने गरेको छ । आफ्नो पसलमा चार जनाले काम गरिरहेको श्रेष्ठले बताए ।

अरनिको राजमार्गको छेउमा पसल गरेर चाकु व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठले बाहिर सडक छेउमा नै यात्रा गर्ने यात्रुलाई बिक्री गर्दै आएका छन् । त्यस्तै, चाकु खरिद गर्न सिन्धुपाल्चोक, दोलखा र रामेछापको मन्थलीसम्मका व्यापारी पसलमा आउने गरेको उनले बताए ।
अर्का नजिकैको चाकु पसलमा काम गर्दै आएका श्याम तामाङले सानाठूला गरी दैनिक चार हजार पिससम्म बिक्री हुँदै आएको बताए ।

‘किलोको हिसाबमा भन्दा पनि हामीले सख्खरलाई घोलेर साना र ठूला साइजमा चाकु बनाएर प्याकिङ गर्ने हो, त्यसरी बनाएका चाकु दैनिक चार हजार पिससम्म बिक्री हुन्छ’, ताामाङले भने, ‘बजारमा मागअनुसार पु¥याउन यतिखेर हम्मेहम्मे हुन्छ ।’ उनका अनुसार यहाँ उत्पादन हुने चाकु काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काठमाडौंका विभिन्न बजारमा बिक्री हुने गरेको छ ।

पाँच-छ वर्ष अगाडिदेखि काम गर्दै आएका तामाङले दैनिक रु ११०० पाउने गरेको बताए । सो पसलमा काम गर्ने अरु पाँच जना कामदारले भने कामअनुसारको दैनिक रु ७०० देखि ८०० सम्म ज्याला पाउने गरेको बताए । कामदारले दाउरा चिर्ने, घोल्ने, तयार पारिएको चाकुमा पौष्टिक तत्व मिसाएर प्याकिङ गर्ने र बजारमा बिक्री गर्नेलगायतका काम गर्नुपर्छ ।

पुस–माघको जाडो मौसममा शरीरलाई न्यानो राख्ने र शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व प्राप्त हुने भएकाले मानिसले चाकु सेवन गर्ने गर्दछन् ।

प्रतिक्रिया