रिसाउँदैनन् छाउ नबार्दा देवता !

पछिल्लो समय महिला बलात्कार तथा यौन हिंसाका घटनाहरू सञ्चार माध्यममा एकपछि अर्कोगरी आइरहेको छ । परम्परागत रूपमा समाजमा जडो काडेर बसेको छाउपडी कुप्रथाका नाममा महिलाले अनेक प्रकारका हिंसा व्यहोर्न बाध्य छन् । बेचिनु, यौन हिंसाको सिकार हुनु, छोरा नजन्माएको नाममा वा दाइजो नल्याएको नाममा हिंसा भोग्न पनि महिलाले नै परेको छ । यी सबै कारणले महिलाले अकालमा ज्यान गुमाइरहेका छन् ।

हरेक दिन कहीँ न कहीँ महिला हिंसाका घटना सुनिरहरनु परेको छ । सञ्चार माध्यम होस् या अन्य निकायहरू महिला हिंसाका घटनाप्रति चासो देखाउँछन् । तर, त्यसको घट्नेक्रम भने देखिँदैन । विशेषगरी सुदूर तथा मध्यपश्चिममा प्रथाको रूपमा रहेको कुप्रथा छाउका बारेमा पछिल्ला दिन सञ्चार माध्यममा निकै चर्चा हुन थालेको छ । यसका बारेमा मान्छेका बीचमा जति चर्चा बढेको छ त्योभन्दा बढी त्यसबाट महिला प्रताडीत बनिरहेका छन् ।

संसारभर प्रचलनमा रहेका केही धर्मले मात्र महिनावारीलाई पापको रूपमा लिने गरेको पाइन्छ । यसमध्ये हिन्दू धर्मावलम्बी मुख्य हुन् । विशेषगरी, भारतका कुनै–कुनै राज्यहरू र नेपालको सुदूरपश्चिमेलीहरूले महिनावारी बार्ने गर्दछन् । यसबाहेक क्रिस्चियानिटी, बौद्ध, तथा मुस्लिम धर्मावलम्बीहरूले यसको कडा अभ्यास गरेको पाइँदैन

म पनि त्यही सुदूरपश्चिमा जन्मिएँ । त्यहीँ हुर्किएँ । म जन्मिएको र हुर्किएको बझाङ जिल्लाको थलारामा अहिले पनि आमा दिदीबहिनी र भाउजूहरू महिनावारी भएका वेला बारीने कथित छाउ प्रथाका नाममा गोठमा रात बिताउन बाध्य छन् । त्यही गोठमा वेला–वेला कैयौँको मृत्यु भएको दुःखद् समाचार सुन्नपर्छ । म १४ वर्षको उमेरमा पहिलोपटक महिनावारी भएँ । मलाई चिन्ता थियो अब कसरी बिताउने त्यो कहाली लाग्लो गोठमा ? त्यो कुराले मलाई साहै्र पीडा बनाउँथ्यो । वेला–वेला सोच्थेँ, परिवारलाई कसरी झुक्याउने र गोठको बासबाट मुक्त हुने ?

मनमा फ्याट्ट उपाय आयो ढाँट्ने । महिनावारी भएर पनि मैले घरमा कसैलाई थाहा नै दिइनँ । अरू वेला जस्तै घरको सबै काम गरेँ । कति कति वेला मनमा डर लाग्थ्यो हजुरआमाले भनेजस्तै देवता रिसाउने त होइनन् ! भन्ने । त्यसले म वेला–वेला झस्कन्थेँ, तर गोठमा जानुपर्ला भनेर सबै व्यहोर्न तयार थिएँ । मेरो त्यो ढाँट्ने काम आज पनि जारी छ । घर गएका वेला महिनावारी भएको परिवारलाई पत्तै हुँदैन ।
मेरो उमेरका सबै साथीहरू महिनावारी भएर छाउ गोठमा बस्थे । घरमा मेरो बारेमा वेला–वेला चर्चा हुन्थ्यो ।

हजुरआमाले भन्नुहुन्थ्यो, ‘हैन यो अस्मिता किन छाउ भइन, यसलाई के भयो ?’ उहाँहरूको मनमा अनेक शंका उत्पन्न हुन्थे । त्यसपछि उहाँले पटक–पटक मलाई जचाउन जान भन्न थाल्नुभयो । मैले उहाँको कुरामा टेरपुच्छर लगाइनँ । यसैगरी, मेरो दुई वर्ष गाउँमा बिते । त्यसपछि म पढ्न काठमाडौं आएँ । मेरो गाउँका साथीहरू पनि कैयौँले अहिले पनि ढाँट्छन् । त्यो उनीहरूको गोठ छल्ने बाध्यात्मक उपाय हो । घरमा बस्न दिए कसले ढाँट्थ्यो र ?

मेरो मनामा अहिले प्रश्न उठ्छ । घरभित्र बस्दा रिसाउने देवताले ढाँटेको थाहा पाउँदैनन् ? यो प्रश्न वेला–वेला आइरहन्छ । हजुरआमा भन्नुहुन्थ्यो देवताले सबै थाहा पाउँछन् । महिनावारी भएका वेला महिलाले ढाँटेको चाहिँ थाहा पाउँदैनन् वा देवता रिसाउने कुरा महिलालाई दुःख दिने बहाना हो ? यो भने मैले बुझ्न सकेको छैन । न कसैसँग सोध्ने आँट नै छ । जेसुकै होस् हजुरआमालाई सोधौँ जस्तो पनि लाग्छ । तर, आँट भने आउँदैन ।

नैतिकताका रूपमा मैले मेरो समाज र त्यहाँको परम्परालाई चटक्कै बिर्सन सक्दिनँ । तर, मैले एउटा अभ्यास चाहिँ गरी छाडँे । सानैदेखि अरूले छाउ गोठमा बसेको मलाई पटक्कै मन पर्दैनथ्यो र मनमा अनेकौँ कौतूहलता थिए, महिनावारी भएका वेला घरमा बसे देवताले के गर्ने रहेछन् साँच्चै रिसाउँछन् त उनी ? मलाई त्यो सोचाइले बाल्यकालमा पारेको छाप अहिले पनि ताजै छ । एउटै घरमा आमा र बहिनीसँगै मेरो सोचाइले मेल खाइरहेको थिएन । ‘अहिले सोच्दा बुझेर वा नबुझेर मैले ढाँटेरै भए पनि त्यो कुप्रथाका विरुद्ध विद्रोह गरेको त थिइनँ ? भन्ने पनि लाग्छ ।

कानुनले दण्डनीय भने तापनि छाउपडी प्रथा अझै रोकिएको छैन । सामाजिक रूपमा सामाजिक तथा जागरण कार्यक्रमहरू जारी भए पनि सुदूरपश्चिमका गाउँगाउँमा छाउगोठ अहिले पनि भेटिन्छन् । अछाम, बाजुरा र बझाङका छाउगोठमा ज्यान गुमाउनेको संख्या धेरै पुगिसक्यो

आमा बुवा शिक्षित हुनुहुन्थ्यो । तर, परिवारको अघि उहाँको केही चल्दैन थियो । आमा ६ दिनसम्म महिनावारी भएका वेला विधिपूर्वक छाउ बार्ने बस्ने कोठामा बस्नुहुन्थ्यो । तर, आमा र काकीलाई त्यति बस्न मन पर्दैन थियो र पनि बस्न बाध्य हुनुहुन्थ्यो । बहिनीहरू पनि बाध्य थिए, हजुरबुवा र हजुरआमाको डरले लुरुक्क बस्थे । उहाँहरू बहिनीलाई हकार्दै भन्नुहुन्थ्यो, ‘यो केटीहरूले छाउ नबारेर हो कि केहो हामीलाई सन्चो भएन, हाम्रा कुल देवता रिसाए । तिमीहरू यसो नगर ।’ भन्नुहुन्थ्यो । बहिनीहरू भने घरको काम गर्न नपरेकोमा दंग हुन्थे ।

मैले ढाँटको बुद्धि प्रयोग गरेर छाउ नबारे पनि मेरो सुदूरपश्चिमा महिलाले भोगेको पीडा मरो आफ्नै हो । संस्कारका नाममा लादिएका यस्ता गलत सोचाइको सिकार भएका महिलाको अवस्था नजिक आफैँलाई राख्दा मन पोलेर आउँछ । आखिर कहिले होला यो गलत संस्कारको अन्त्य ? महिनावारीलाई सामान्य प्रक्रियाको रूपमा हेर्ने दिन कहिले आउला यो प्रश्नले मलाई सताइरहन्छ । जब–जब छाउगोठमा बस्ने महिलाको यो वा त्यो कारणले मृत्यु भयो वा हिंसामा परे भन्ने सुन्नुपर्छ त्यति वेला त्यो पात्र म आफैँ पनि हुन सक्थेँ भन्ने लागिरहन्छ ।

छाउ हुनु अर्थात् महिनावारी यो एक प्राकृतिक प्रक्रिया हो । उमेर पुगेका युवती तथा निश्चित उमेर समूहका महिलामा मासिक रूपमा महिनावारी हुन्छ । तर, मेरो समाज त्यसलाई सहज रूपमा स्वीकार गरिरहेको छैन । राजनीतिक चेतनाले छाएको छैन, न त शिक्षाको ज्योतिले । संसारभर प्रचलनमा रहेका केही धर्मले मात्र महिनावारीलाई पापको रूपमा लिने गरेको पाइन्छ । यसमध्ये हिन्दू धर्मावलम्बी मुख्य हुन् । विशेषगरी, भारतका कुनै–कुनै राज्यहरू र नेपालको सुदूरपश्चिमेलीहरूले महिनावारी बार्ने गर्दछन् । यसबाहेक क्रिस्चियानिटी, बौद्ध, तथा मुस्लिम धर्मावलम्बीहरूले यसको कडा अभ्यास गरेको पाइँदैन ।

कानुनले दण्डनीय भने तापनि छाउपडी प्रथा अझै रोकिएको छैन । सामाजिक रूपमा सामाजिक तथा जागरण कार्यक्रमहरू जारी भए पनि सुदूरपश्चिमका गाउँगाउँमा छाउगोठ अहिले पनि भेटिन्छन् । अछाम, बाजुरा र बझाङका छाउगोठमा ज्यान गुमाउनेको संख्या धेरै पुगिसक्यो । केही दिनअघि मात्र पनि बाजुरामा २ छोरासहित एक आमाले छाउगोठमै ज्यान गुमाइन् । यस्ता कहाली लाग्दा घटना प्रतिदिन बढिरहेका छन् । पछिल्लो समय धर्मको रूपमा अंगालिएको महिनावारी प्रक्रियालाई पाप मान्ने या नमान्ने भन्नेमा सबैले आआफ्नै तर्क राख्ने गर्दछन् । तर्क छाउपडी नमान्ने खालको राखे तापनि यस परम्परालाई व्यवहारिक रूपमा कसैले पनि छाडेको पाइँदैन ।

नयाँ पुस्ताले कानुनलाई केही हदसम्म अंगाले पनि पुरानो पुस्तामा यो प्रथा जस्ताको त्यस्तै देखिन्छ । मुलुकी ऐनअन्तर्गत अपराध संहिता ऐनअन्तर्गत छाउपडी प्रथालाई पहिलोपटक दण्डनीय बनाएको छ । तर, यो ऐन प्रभावकारी बन्न सकेको छैन । त्यो ऐनको दफा मेरो गाउँमा कहिले पुग्ला ? यस प्रथाका लागि जस्तोसुकै कानुन बने तापनि, सचेतनामूलक अभियान चलाए तापनि कुनै सकारात्मक परिवर्तन नहुने प्रमाणित देखिएको छ । जबसम्म समाजको अन्धविश्वास हट्दैन र नयाँ पुस्ताले आफै पनि छोडेनन् भने यो प्रथा कायमै रहनेछ ।

ढाँटेर पूजाकोठासम्म जानभन्दा ढुक्कले घरभित्र बस्न पाए पो महिला सुरक्षित हुने र हजुरबुवा हजुरआमाहरूले मान्दै आएको धर्मको रक्षा हुने अवस्था कहिले आउला ? मैले आफैँ प्रयोग गरेअनुसार पनि छाउ नबारेका कारण देवता रिसाउँदैनन् । रिसाउने भनेका घरका परिवार र समाज हुन् । त्यसैले, नयाँ पुस्तालाई ढाँट्न बाध्य पार्नभन्दा गोठबाट घरमा बस्ने वातावरण बनाइयोस् । छाउ अभिसाप होइन सामान्य प्रक्रिया हो भन्ने भावनाको विकास गरियोस् ।

प्रतिक्रिया