नेपाली महिला टोलीको लगातार विजयी

काठमाडौं । रोमा थापाको अविजित २० र उपकप्तान सिता मगरको १६ रनमा मलेशियालाई ६ विकेटले हराउँदै नेपालले थाइल्याण्डमा जारी वुमन ट्वान्टी–२० स्म्यासमा विजयी यात्रालाई दोस्रो खेलसम्म लम्ब्याएको छ ।  ६२ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपालले १६.२ ओभरमा जित हासिल गर्यो । ममता चौधरी ९ रनमा अविजित रहँदा काजल श्रेष्ठले ६ तथा इन्दु बर्मा ३ रनमा आउट भएकी थिइन् ।

यसअघि थाइल्याण्ड क्रिकेट एशोसिसनको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले १९.३ ओभरमा सबै विकेट गुमाएर ६१ रन बनाएको थियो । मलेशियाका लागिस्लो टिजिनले १२ रन बनाउँदा युसरिना याकोपले ११ रन बनाइन् । मास एसमिन र युनीफ्रिडले ९¬९ रन बनाउँदा अन्यको प्रदर्शन उल्लेख्य रहेन ।

नेपालकी सरीता मगरले सर्वा्धिक ४ विकेट लिँदा कबिता कुँवर, नेरी थापा र इन्दु बर्माले एक-एक विकेट लिए । यसअघि शनिबार समूह ‘ए’को पहिलो खेलमा नेपालले चीनलाई १० विकेटको नतिजामा पराजित गरेको थियो । नेपालले अब समूहको तेस्रो खेलमा यूएईसँग सोमबार प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेलमा बुधबार आयोजक थाइल्याण्ड ‘ए’ सँग खेल्नेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फागुनमा हुने आईसीसी महिला ट्वान्टी–२० विश्वकप छनोटको तयारी स्वरुप थाइल्याण्डले यो प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिक्रिया