सुदूरपश्चिममा यसरी मनाइन्छ ‘भुवो’ पर्व

सुदूरपश्चिमका पहाडी जिल्लाहरू अछाम, बाजुरा, बैतडी, डोटी, डडेल्धुरा र बझाङमा मनाइने भुवो पर्व सुरु भएको छ । बाँजागाजासहित नाचिने भुवो पर्व करिब १५ दिनसम्म खेल्ने गरिन्छ । यो सुदूरपश्चिममा मनाइने गौरा पर्वपछिको दोस्रो ठूलो पर्व हो । महाभारतका योद्धा कौरव र पाण्डव बीचको युद्धको दौरानमा चालिने चालको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।

भुवो पर्व प्रत्येक वर्षको पुषे आँैशीका दिन राँको (मसाल आगो ) सल्काएर सुरु हुन्छ । राँको सल्काउने दिन प्रत्येक घरबाट आगो बाल्नका लागि काठको मुढा संकलन गरिन्छ । भुवो अखडा अर्थात् भुवा नाच्ने चौरमा राँको सल्काएर भुवो नाँच सुरु गर्ने गरिन्छ । राँको राम्रोसँग नबल्दासम्म भुवोको आधिकारिक सुरुआत भएको मानिँदैन । यो पर्व दिउँसोभन्दा साँझको समयमा खेलिन्छ ।

कौरव र पाण्डवबीच महाभारत युद्धमा भएको कथालाई समेट्ने गरी समूहमा गोलबद्ध भएर लयात्मक शैलीमा गाउँदै नाच्ने खेलिन्छ भुवो । पञ्चेबाजाको तालमा महाभारतको गाथालाई लयबद्ध तरिकाले भट्टयाइन्छ । सोही तालमा तरबार र ढालसहित पुरुषहरूले युद्धकला प्रस्तुत गर्छन् । यस नाचमा महिलालाई सहभागी गराइँदैन । पुरुषहरूले भुवो नाच्दै गर्दा महिलाहरू भने देउडा तथा फाग गाउँदै रमाइलो गर्छन् । भुवो नाच्नेहरू सबैको हातमा ढाल र तरबार हुन्छ । उनीहरू गोलाकार घेरमा घुम्दै नाच्ने गर्छन् । भुवो नाच हेर्न स्थानीयहरूको ठूलो भिड लाग्ने गर्छ ।
भुवो पर्वका वेला कामका सिलसिलामा घरबाहिर गएकाहरू पनि घर फर्कने गर्छन् । यसलाई सुदूरपश्चेमिले एउटा ठूलो पर्वका रूपमा मान्दै आएका छन् ।


किंवदन्तीअनुसार महाभारत युद्धको सबैभन्दा ठूलो उपलब्धि मानिने कुरुक्षेत्रको युद्ध सुरु हुनुअघि पाण्डवका भाइहरू अर्जुन र भगवान् श्री कृष्ण वनवास जाँदा आफ्नो भेष बदलेर हिमालय पर्वतदेखि भारत वर्षका विभिन्न ठाउँको भ्रमणमा निस्किएका थिए । सोहीवेला एउटा राक्षसले विभिन्न राज्यका १ सय राजालाई अपहरण गरी जंगलमा थुनेका थिए र ती राजाहरूको उद्धार गर्न कुरुक्षेत्रमा युद्ध भएको थियो विश्वास गरिन्छ । पाँच पाण्डव र भगवान् श्री कृष्ण मिलेर राक्षसलाई मारी अपहरणमा परेका राजाहरूको उद्धार गरेका थिए । त्यस समयमा पनि उनीहरूले हतियारका रूपमा तरबारको प्रयोग गरेका थिए । राजाहरूको उद्धारपछि पाण्डवहरूले विजयउत्सव मनाएका थिए ।

तत्कालीन समयमा कौरवसँगको युद्ध तयारीका लागि पाण्डवहरूले विभिन्न ठाउँमा भुवो पर्वको आयोजना गरी युद्ध अभ्यास गराएको समेत किंवदन्ती छ । सोही युद्धको सम्झनामा यो नाच नाच्दै आएको र अहिले परम्पराजस्तै बनेको स्थानीय बताउँछन् ।  त्यही सम्झनामा सुदूरपश्चिम तथा मध्य पश्चिमका पहाडी जिल्लाहरूमा भस्सो अर्थात् भुवो मनाइन्छ । राक्षसलाई आगोमा भस्म गरिएको हुनाले भस्सो नाम रहन गएको भनाइ छ । पाण्डवहरू विकास निर्माणका काममा स्थानीयसँग सहभागी भएका थिए । विकास निर्माणमा सहभागिता जनाउँदा पाण्डवहरूको कामप्रति उत्साहित भई विभिन्न कथालाई गद्यात्मक शैलीमा भट्टयाइन्छ । जसलाई स्थानीय भाषामा ‘माडा’ हाल्नु भनिन्छ । भुवो पर्वको मुख्य आकर्षण भनेको चाली नाच अर्थात् तरबार नाच हो ।


भस्सोलाई गाउँगाउँ बीचको आपसी सद्भाव आदानप्रदान गर्ने मेलाको रूपमा पनि लिने गरिन्छ । भस्सो खेल्दै एक गाउँबाट अर्को छिमेकी गाउँलगायत विद्यालयसम्म पुगिन्छ । त्यहाँ पुगेर भाका हालेर गाउँदै सबैको शुभकामनासहित टीकाटालो गरिन्छ । जसमा नयाँ धानबाट बनेको चिउरा र बेसारको पिठोले टीकाटाला गरिन्छ । जसलाई स्थानीय भाषामा पिठायो टीको भन्ने गरिन्छ ।

भुवो पर्व सुरु हुनु अघिदेखि नै नयाँ धान भिजाइन्छ । भिजाएको धान भुटेर ओखल अर्थात् ढिकीमा कुुटिन्छ र चिउरा बनाइन्छ । औँशीको द्वितीयालाई दुयो भन्ने गरिन्छ । दुयोको दिन घरमा बटुक र चुकानीजस्ता विभिन्न परम्परागत परिकार पकाउने गरिन्छ । भोजनपानका लागि आफन्त तथा इष्टमित्रलाई बोलाएर दसैँमा जस्तै पिठाको टीका लगाई आफ्नो गक्षअनुसार दक्षिणा दिएर विदाइ गर्ने परम्परा छ ।

घरमा कसैको मृत्यु भएर जुठो परेकाहरूले भने पर्व मनाउँदैनन् । यो पर्वमा पनि जुठो बार्ने चलन छ । पुस महिनामा मात्र मनाइने भुवो दुई किसिमले मनाइन्छ । १८ भन्दा बढी दिनसम्म कुरुक्षेत्र युद्ध चलेकोले यसलाई कतिपय ठाउँहरूमा पुस महिनाभरि पनि भुवो खेलिन्छ । अर्कातिर भुवो पुसको अन्त्यमा अर्थात् औँशी सुरु भएमा पूर्णिमा अगावै समापन गराइन्छ । पुस शुक्ल पूर्णिमाको अघिल्लो दिन देवी देवतालाई कालो रङको बोका बलि दिएर विधिवत् रूपमा भुवोको समापन गरिन्छ ।

भस्सोको सन्दर्भमा बझाङ थलारा गाउँपालिका–२ दंगाजिका नारायण खड्काले भने, ‘भस्सोको आफ्नै किसिमको ऐतिहासिक महत्व छ । यसले प्राचीन संस्कृतिको जगेर्ना गर्नमा सहयोग पु¥याएको छ ।’ साथै, मनोरञ्जनका लागि पनि भस्सो खेल्ने गरिएको उनले बताए । पुस महिनामा कामको चाप खासै नहुने भएकोले फुर्सद निकालेर बेलुकातिर भस्सो खेलिन्छ । ढाल तरबार चलाउन नसक्ने भएकोले महिलाले भुवो नखेल्ने गरेको तथा महिलाहरूले भुवो सकिएपछि फाग गाउने गरेको समेत खड्काले प्रस्ट पारे ।

परम्परागत रूपमा खेलिंदै आएको भस्सो पछिल्लो समय विभिन्न कारणले यसको महत्व घट्दै गएको छ । तर, समाजसेवी तथा संस्कृति प्रवद्र्धन गर्ने समूहले यो पर्व लोप हुन नदिन पहल गर्दै आएका छन् । मध्यपश्चिमाञ्चलको हुम्ला, जुम्ला लगायतका जिल्लाहरूमा भस्सोलाई ठूलो भैलो भनेर खेलिन्छ । यो पर्व भारतको उत्तर प्रदेश, हरियाणालगायत क्षेत्रहरूमा समेत धुमधामसँग मनाइन्छ ।

प्रतिक्रिया