गरिबको विद्यालय आर्थिक अभावमा

नारायणपुर । दाङ घोराहीदेखि पाँच किलोमिटर दूरीमा पर्ने बराह क्षेत्र मावि सेवार वनगाउँ जंगलको बीचमा छ । विद्यालयका आठ भवनमध्ये पाँच जीर्ण अवस्थामा छन् । वर्षौं पहिले निर्माण गरिएका पुराना शैलीका ती भवनभित्र बसेर अध्ययन गर्छन् विद्यार्थी ।

घोराही उपमहानगरपालिका–१३ सेवारको सो विद्यालयलाई धेरैले चिने पनि विभिन्न समस्याले पिरोलिएको छ । यो वर्ष कुनै निकायबाट विद्यालयले अनुदान प्राप्त गर्न सकेको छैन । ‘रु १५ लाख ऋण छ, विद्यार्थी, महँगो शुल्क तिर्न सक्दैनन् भने सरकारबाट पनि अनुदान पाउन सकिएन, त्यहाँसम्म पुहँच छैन ।’ प्रधानाध्यापक बाल्मी केसीले भने, ‘आर्थिक अभावमा विद्यालय चलाउन गाह्रो भएको छ ।’

विसं २०१७ मा स्थापना भएपनि २०३८ सालदेखि औपचारिक रूपमा सञ्चालन भएको सो विद्यालय स्थापना भएको ५८ वर्षसम्म प्राथमिक, निमावि हुँदै माध्यमिक त बन्यो तर विद्यालयको समग्र विकास भने हुन सकेन । यो वर्ष नगर शिक्षा कार्यक्रमबाट रु छ लाख ५० हजार विज्ञान प्रयोगशालाको कार्यक्रम भए पनि भवन अभावमा अहिलेसम्म स्थापना हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी चौधरीले बताए ।

सशस्त्र दश वर्षे जनयुद्ध अगाडि विद्यार्थी संख्या अनुपातमा भवन राम्रै थिए । शिक्षक उत्साहित थिए भने शिक्षाको लहरले गाउँ शहर प्रभावित थियो ।’ प्रधानाध्यापक केसीले भने ।

वनको नजिकै रहेको वनगाउँ विद्यालयमा युद्धकै जगजगीका कारण विद्यालयको शिक्षण सिकाइ र विकास प्रभावित भयो । १० वर्षे युद्धले करिब १५ वर्ष विद्यालयको भौतिक विकासमा कुनै पनि काम हुन सकेन । विकासले शून्य १५ वर्षका कारण अहिले विद्यालय ऋणमा चलेको छ । ‘म आउँदा तीन सय पनि थिएनन् विद्यार्थी, अहिले ५२८ जना विद्यार्थी छन । अभिभावकको मन जित्ने कोसिस गर्दै छौँ ।’

अंग्रेजी शिक्षाका नाममा अभिभावक सरकारी विद्यालयको नाम सुन्दैमा नाक खुम्च्याउँछन् । यही समस्याबाट गुज्रिएको मावि सेवार बनगाउँका शिक्षक घरघरमा पुगेर अभिभावकलाई विद्यार्थी भर्नाको लागि अनुरोध समेत गरे । तर त्यही विद्यालय छेउका बालबालिका घोराही आउँछन् बोडिङमा अध्ययन गर्न ।

‘विद्यार्थीको संख्या घट्यो, ३०० भन्दा कम नै भयो, हामी घरघरमा पुगेर विद्यार्थी भर्ना गर्नुस् भन्दा पनि अभिभावकले मन गर्नुभएन । त्यसपछि हामीले विद्यालय बिगारेछौँ भन्ने महसुस भयो’ प्रधानाध्यापक केसीले भने, ‘त्यसपछि हामीले अंग्रेजी शिक्षा शुरु गर्यौँ ।’

शैक्षिक २०७४ सालदेखि विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म अङ्ग्रेजी शिक्षा लागू भएको छ । सन्तानलाई अङ्ग्रेजी शिक्षा दिने अभिभावकको योजनालाई पूरा गर्ने गरी विद्यालयले सीमित स्रोत साधनको बीचबाट अङ्ग्रेजी शिक्षा शुरु गरेको छ । अहिले कक्षा ६ सम्म अङ्ग्रेजी भाषामा अध्यापन हुन्छ । ‘हामीले सक्दो राम्रो गर्ने कोसिस गरेका छौँ, अहिले विद्यार्थीको संख्यासमेत बढेको छ । यो राम्रो संकेत हो ।’

दुई घण्टा हिँडेर विद्यालय

गरिब विपन्न बालबालिका भने लामो बाटो हिँडेर विद्यालय पढ्न आउँछन् । मौलाकोट, बूढाकोट, लाहापेबाट विद्यार्थी दैनिक घण्टौँ हिँडेर विद्यालय झर्छन् र हिँडेरै घर फर्किन्छन । यस्तै लेटार जनकपुरबाटसमेत विपन्न वर्गका विद्यार्थी आउँछन् ।

‘यो विद्यालयमा धेरैजसो गरीब विद्यार्थी छन, कहिलेकाहीँ अभिभावकलाई पनि लिएर आउँ भन्छौं हामीहरूले तर घरमा काम गर्नुपर्छ, काम नगरे खाने कुरा हुँदैन भन्छन’, प्रअ केसीले भने, ‘दलित, जनजाति समुदायका बालबालिकाले अध्ययन गर्ने भएकाले हामीले उनीहरूलाई छात्रवृद्धिको समेत व्यवस्था गरेका छौँ ।’

टाढाका विद्यार्थीको सहजता र शैक्षिक सुधारका लागि विद्यालयले छात्रवाससमेत सञ्चालन गर्दै आएको छ । विद्यालयले सञ्चालन गर्दै आएको पुस्तकालय भवनमा छात्रावास चलाउन बाध्य रहेको प्रअ केसीले बताए । दुई वर्षदेखि सञ्चालन गरिएको छात्रावासका कारण शिक्षामा सुधार आएपछि अहिले छात्रावासमा ३० जना विद्यार्थी छन ।

प्रतिक्रिया