नेपालको सबैजसो संरक्षित क्षेत्र दुर्लभ वन्यजन्तु तथा वनस्पति जोगाउने उद्देश्यसहित स्थापना गरिएका हुन् । तर, पश्चिम नेपालको एउटा आरक्षमा व्यवस्थित शिकार प्रक्रियाअन्तर्गत बग्रेल्ती पाइने नाउर र झारलको शिकार खेल्न पाइन्छ । त्यसका लागि शिकारीहरूले नेपाल सरकारलाई मोटो रकम तिरेर अनुमति लिनुपर्छ ।
लाखौँ रुपैयाँ तिर्नुपर्ने भए पनि धौलागिरि हिमालको दक्षिण पश्चिममा फैलिएको ढोरपाटन शिकार आरक्षमा हिमाली सौन्दर्यको रसपान गर्दै चुनौतीपूर्ण मानिने नाउर र झारलको शिकार गर्न विदेशबाट शिकारको सोख भएका पर्यटकहरू आउने क्रम बढ्न थालेको छ ।
उच्चहिमाली क्षेत्रका भीरपाखामा विचरण गर्ने जंगली नाउर र झारल निकै टाठा र फुर्तिला हुन्छन् । त्यसैले तिनको शिकार गर्न सजिलो छैन । तैपनि, यसपालि ढोरपाटन पुगेका विदेशी शिकारीले केही नाउर र झारल मारेर तिनको सिङसहितको टाउको आखेटोपहारका रूपमा आफ्नो देश लैजान सफल भएका छन् ।
यो आर्थिक वर्षको शरद् (असोज–मंसिर) मा शिकार भएका १० वटा नाउर र ६ वटा झारलमध्ये चार रुसी शिकारीले आठवटा नाउर तथा चारवटा झारलको सिङ आफ्नो देश लगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ । बाँकी शिकारीले आफ्नो आखेटोपहार स्वदेश लैजान अनुमति लिने प्रक्रिया थालेका छन् ।
ढोरपाटन रुस, अमेरिका, जर्मनी, फ्रान्स, स्पेन, क्यानडा, बेल्जियम लगायतका देशका ट्रफी शिकारका सौखिन व्यक्तिहरूमाझ प्रख्यात छ । ट्रफी शिकारीहरूले नेपालको ढोरपाटनलाई जीवनमा एकपटक पुग्नै पर्ने गन्तव्य मान्न थालेका छन् । शिकारीको संख्या बढेका कारण ढोरपाटन शिकार आरक्षको कमाइमा पनि वृद्धि भएको बताइन्छ ।
पोहर शिकार आरक्षले नाउर तथा झारलको शिकारबाट ५९ लाख ७५ हजार सात सय रुपैयाँ कमाएको थियो । यो वर्ष शिकार खेलेको पहिलो ऋतुमा कुल एक करोड आठ लाख ५७ हजार रुपैयाँ सङ्कलन भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ ।
पश्चिम नेपालका तीन जिल्ला रुकुम, बाग्लुङ र म्याग्दीको १,३२५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ढोरपाटन शिकार आरक्षमा ३२ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् । अनुमति लिएका शिकारीले तोकिएको समय र क्षेत्रमा निश्चित वन्यजन्तुको शिकार गर्न पाउँछन् । तीमध्ये नाउर र झारल प्रमुख हुन् ।
विभागका अनुसार यसरी शिकार गर्न दिँदा कुनै वन्यजन्तुको संख्या ह्वात्तै घट्ने वा ती सखापै हुने परिस्थिति बन्दैन । साथै तिनको संख्या बढेर आफ्नै वासस्थानलाई नोक्सान पु¥याउने वा आरक्षको छेउछाउमा रहेका क्षेत्रमा गरिने खेतीपातीमा क्षति पु¥याउने परिस्थिति पनि उत्पन्न नहुने आरक्षको दाबी छ ।
आरक्ष कार्यालयकी प्रमुख सरस्वती पौडेलका अनुसार नाउर र झारललगायत अन्य वन्यजन्तुको संरक्षण कार्यमा आरक्षका कर्मचारी र नेपाली सेना संलग्न छन् । उनी भन्छिन, ‘हामीले वन्यजन्तुको वासस्थानमा गस्ती गर्ने गरेका छौँ त्यसले संरक्षणमा सहयोग पुगेको छ ।’
समुद्र सतहबाट पाँच हजार मिटरभन्दा माथिका क्षेत्रमा नाउर पाइन्छन् । तीन हजार तीन सय मिटरभन्दा माथिल्लो भेगमा झारल पाइन्छन् । हिमाली क्षेत्रमा भएकोले ढोरपाटनमा विदेशी शिकारीहरूले विश्वका अन्य देशमा भन्दा फरक अनुभूति गर्ने गरेका छन् । उच्चपहाडी क्षेत्रको अति कठिन क्षेत्रमा बस्ने नाउर र झारलको शिकार गर्नुपर्ने भएकोले ढोरपाटन विश्वभरिका साहसी शिकारीको प्रमुख रोजाइमा पर्न थालेको छ ।
ढोरपाटन आरक्षले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा २० जना शिकारीहरू ढोरपाटन आएका थिए भने यो वर्ष त्यो संख्या अझै बढ्न सक्ने छ । ट्रफी शिकारीहरू हिमाली क्षेत्रमा शिकार खेल्न सफल हुनुलाई ‘हिमाली ट्रफी’ जितेको मान्ने गर्छन् । सफल शिकारीहरूले तोकिएको रकम तिरेर शिकारको टाउको लैजान पाउँछन् ।
शिकारका लागि बोलपत्र आह्वान भएपछि सबैभन्दा धेरै रकम तिर्न तयार व्यक्ति वा समूहलाई शिकार खेल्ने अनुमति दिइन्छ । एउटा ऋतुमा एउटा नाउर तथा झारलको शिकार खेल्नलाई कम्पनीमार्फत् आउँदा ४० देखि ५० लाख रुपैयाँसम्म खर्च लाग्ने गर्दछ । ’हिमाली ट्रफी’ शिकार महँगो हुने भएकोले नेपालीहरूले नाउर वा झारल शिकार गर्न चासो देखाउँदैनन् ।
सन् १९७६ मा नर्वेका एक प्रोफेसरले अध्ययनको क्रममा झारल र नाउरको संख्या धेरै भएकोले ढोरपाटनलाई शिकार खेल्न सकिने सम्भावनायुक्त क्षेत्र भएको सुझाव दिए । त्यसपछि सन् १९८७ देखि आरक्षलाई शिकारीहरूका लागि खुला गरियो ।
शिकारीहरूका लागि खोलिएपछि ढोरपाटनमा प्रायः रुस र जर्मनीका शिकारीहरू आउने गरेका छन् । शिकार आरक्षले ख्याति कमाउन थालेपछि अमेरिका र युरोपका अन्य देशबाट पनि शिकारीहरू आउने क्रम बढेको छ । थुप्रै देशमा आफ्नो शिकारी कौशलको परीक्षणमा सफल भएपछि नेपाल आएका जर्मनीका इरिक सिग्रिस्टले अन्य मुलुकको भन्दा नेपालको शिकार खेलाइ निकै रोमाञ्चकारी भएको प्रतिक्रिया दिए ।
ढोरपाटनभित्र सात दिन बिताएर झन्डै ९५ किलो तौलको नाउरको शिकार गरेका उनले भने, ‘अन्य देशभन्दा यहाँ शिकार गर्न पाउँदा मलाई धेरै रमाइलो लाग्यो । यस ठाउँमा म फेरि पनि आउन चाहन्छु ।’
शिकारका लागि २० वटा नाउर र ११ वटा झारल छुट्याउने गरिएको छ । पन्ध्र दिनको शिकार अनुमतिसहित नाउर र झारलको खोजीमा जाने शिकारीहरूले नियमानुसार पानी पिउने वेलामा, साँझ र बिहान, पासो थापेर वा भाले र पोथीबीच शारीरिक सम्पर्क भएका वेला शिकार गर्न पाउँदैनन् । शिकारीले ल्याएका हतियार र गोलीको अनुमति लिएपछि मात्र उसले आरक्षमा प्रवेश गर्न पाउने कानुनी प्रावधान छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अनुसार सफल शिकारीले शिकार गरिएको झारलको सिङसहितको टाउको र छाला विभागको अनुमति लिएर मात्रै आफ्नो देश लैजान पाउँछन् । नाउरको आखेटोपहार लैजान साइटिस अर्थात् संकटको सूचीमा रहेका वन्यजन्तु तथा वनस्पतिबारेको अन्तर्राष्ट्रिय महासन्धिसँग सम्बन्धित कार्यालयको अनुमति आवश्यक पर्छ । केही शिकारीले आखेटोपहार घाममा सुकाएर आफूसँगै र केहीले कम्पनीमार्फत् पछि लैजाने गरेका छन् ।
‘विगत १७ वर्षदेखि निरन्तर पथप्रदर्शकको काम गरिरहेका मानबहादुर पुन ‘साहस गर्न सक्नेले मात्र शिकार गर्न सक्ने’ बताउँछन् । ४२ वर्षीय उनले पढाइलाई बीचमै छोडेर १७ वर्षअघि त्यो काम थालेका हुन् ।
रुकुमको मईकोट पेल्मा स्थायी घर भएका उनी धेरैपटक आरक्ष पुगिसके । उनका अनुसार दुई ऋतुमा शिकारीहरूलाई सघाएपछि उनको आम्दानी झन्डै आठ लाख रुपैयाँ हुन्छ । उनी सन् २०१४ मा रुसी शिकारीसहित ढोरपाटन पुगेको वेला भएको एउटा घटना बिर्सन सक्दैनन् ।
उनका अनुसार पैँतालीस सय मिटरभन्दा माथि पुगिसकेपछि रातको ९ बजेपछि अचानक हिउँ पर्न थाल्यो । पुन भन्छन्, ‘लगातार हिउँ परेपछि त्रिपाल नै पुरियो । सबैजना आत्तिए, साहसी शिकारीले मात्र शिकार गर्न सक्छ भनेर सबैलाई सम्झाएँ ।’
सबै मिलेर हिउँ फालेर ठूलो कष्टका साथ त्यो रात त्यहीँ बसेपछि भोलिपल्ट त्यो टोलीले दुईवटा जनावरको शिकार गरेको उनी सम्झन्छन् । ‘त्यो सबैभन्दा डरलाग्दो रात थियो । जीवनकै अन्तिम समयजस्तो लाग्यो ।’ (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया