पर्यटकको गन्तव्य बन्दै बन्दीपुर



कोलाहल र धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोच बनाउनु भएको छ भने तनहुँको बन्दीपुर उत्कृष्ट गन्तव्य हुन सक्छ ।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटर पूर्व डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ जहाँबाट मनोरम हिमशृंखला, पहाड र टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे  र धौलागिरिलगायतका हिमशृंखला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर र महालक्ष्मी मन्दिरलगायतका स्थलहरू यहाँ आउने पर्यटकहरूको पहिलो रोजाइ बन्ने गरेको छ ।
सुन्दर हिमशृंखलाहरूको अवलोकनका साथै सूर्यास्तको दृश्य हेर्न र स्थानीय नेवारी कला संस्कृतिसँग रम्न पाइने भएका कारण पर्यटकहरूको पहिलो रोजाइमा बन्दीपुर पर्ने गर्छ । तर, संरचना विकासमा नेपाल सरकारले खासै ध्यान नदिएको भन्दै बन्दीपुरेहरूले नयाँ–नयाँ कार्यक्रम छनोट गरेका छन् । अहिले बन्दीपुर वरपर नयाँ गन्तव्यहरूको खोजी भइरहेको छ । बन्दीपुरेहरूले पर्यटकहरूका लागि होमस्टेको व्यवस्था पनि गरेका छन् ।

बन्दीपुर घुम्न आउने पर्यटकलाई आकर्षण गर्न बन्दीपुरमा सुविधासम्पन्न होटलहरू रहेका छन् । बन्दीपुर आउने पर्यटकहरू यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुने गरेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङ बताउँछन् ।

उनी भन्छन् –‘दुई÷तीन दिन मात्रै बस्ने गरेर आएका पर्यटकहरू पनि यहाँ आइसकेपछि थप केही दिन नबसी फर्किंदैनन् ।’ बन्दीपुर घुम्न भनेर मात्रै आउनेमध्ये अधिकांश बन्दीपुरमा बास बस्ने गरेको गुरुङ बताउँछन् । बन्दीपुर पर्यटन विकास समितिले बन्दीपुरको प्रचारका लागि वेला–वेला महोत्सवको समेत आयोजना गर्ने गरेको छ ।

जाडो मौसम सुरु भएसँगै बन्दीपुर घुम्न आउने पर्यटकको ओइरो लाग्ने गर्दछ । बन्दीपुर घुम्न आउने पर्यटकहरूलाई यहाँका पर्यटकीय एवं ऐतिहासिक स्थलका बारेमा जानकारी दिने गरिएको छ । बन्दीपुरमा ढुंगाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको छ । यहाँका पुराना घरहरू विदेशीहरूका लागि आकर्षण बन्ने गरेका छन् ।

मौलिकताको नमुना सहर
बन्दीपुरमा रहेका परम्परागत घरहरू यहाँको पर्यटन उद्योगको टेवा बनेको स्थानीय राजु बानियाँ बताउँछन् । काठका बुट्टा कँुदिएका झ्याल तथा ढोकाहरू र इँटाबाहिर देखिने मन्दिर शैलीका घर बन्दीपुरको मुख्य आकर्षणको रूपमा रहेको उनी बताउँछन् ।

१८औँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरूले भक्तपुरे शैलीमा घर र ढुंगा बिछ्याई बाटो निर्माण गरेको स्थानीय बासिन्दा बताउँछन् । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ ।

बन्दीपुर बजारमा भएका पुरानो घरहरूको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउन निषेध गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा बताउँछन् ।

गाउँपालिकाले बन्दीपुर चक्रपथ भित्र र चक्रपथ बाहिर ५ सय मिटर क्षेत्रलाई संरक्षित उपक्षेत्र घोषणा गरेको छ । यस क्षेत्रभित्र घर बनाउँदा बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड ०७२ का साथै गाउँपालिकाले बनाएका केही नियमहरू पालना गर्नुपर्ने उनले जानकारी दिए ।

उनी भन्छन्, ‘बन्दीपुरको प्राचीन कला तथा संस्कृति झल्किने घरका कारणले नै आज बन्दीपुर विश्वभर प्रख्यात भएको छ । बन्दीपुरको मौलिकता जोगाउन आधुनिक घर निर्माणमा रोक लगाएका छौं ।’ बजार क्षेत्रमा प्राचीन कला तथा संस्कृतिको संरक्षण हुनेगरी घर निर्माण गर्दा गाउँपालिकाले नक्सा स्वीकृतिमा ५० प्रतिशत छुट दिने व्यवस्थासमेत गरेको छ ।

बजार क्षेत्रभित्र बनिसकेका घरहरूको अग्रभाग प्राचीन शैलीमा निर्माण गर्न स्थानीयवासीलाई गाउँपालिकाले अनुरोधसमेत गरेको छ । उपक्षेत्रभित्र घर निर्माण गर्दा परम्परागत नेपाली शैली एवं आकारप्रकारका काठका झ्याल, ढोकाहरू पसलको कबलमा समेत राख्नुपर्ने, चोकमाथि पर्ने गरी क्यान्टिलिभर, बार्दली, कोठा निकाल्न नपाइने, बाहिरी गारोमा प्लास्टर नगरी प्रष्टसँग इँटा देखाउनुपर्ने, बाटो वा चोकतर्फ देखिने भागमा भिरालो छाना हुनुपर्ने लगायतका नियम बनाइएको छ । साथै, कला, वास्तुकला एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण ठाउँमा, स्मारक वा स्मारक परिसर वरपर पहिलो पंक्तिका घरहरू स्मारकभन्दा होचो हुनेगरी निर्माण गर्नुपर्नेछ ।

सुविधासम्पन्न होटल खुल्दै
बन्दीपुरमा पर्यटकको आगमन वृद्धि हुन थालेपछि व्यवसायीले सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएका छन् । ०५६ सालमा सरकारले बन्दीपुरलाई पर्यटकीय गन्तव्यको रूपमा स्वीकृति दिएपछि यस क्षेत्रमा होटल निर्माण सुरु भएको हो ।
पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले करोडौँ रुपैयाँको लगानीमा बन्दीपुर माउन्टेन रिसोर्ट स्थापना गरेपछि यस ठाउँमा चहलपहल बढेको हो । ०५७ सालमा श्रेष्ठले पहिलोपटक रिसोर्ट स्थापना गरेको बन्दीपुरमा हाल हिमालय दरबार, ग्रीनपार्क, फेवा, गाउँ घर, वल्र्ड इन, बन्दीपुर प्यालेस र मगर भिजेललगायत साना ठूला गरी ५७ वटा होटल तथा २२ वटा होमस्टे सञ्चालनमा छन् । ती सबै होटलमा एकै पटक १ हजार ४ सय पर्यटकले रात बिताउन सक्ने क्षेत्रीय होटल संघका अध्यक्ष विपिन प्रधान बताउँछन् ।

पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले हालै मात्र ८ करोडको लागतमा होटल सञ्चालनमा ल्याएका छन् । सोही ठाउँमा मगर भिजेल रिसोर्ट सञ्चालन गरिरहेका उनले विदेशी पर्यटकलाई लक्ष्य गरी सुविधासम्पन्न होटल खोलेका हुन् । उनी भन्छन्, ‘होटलमा सबै कोठा डिलक्स छन् । पर्यटकले होटलमा सुविधासम्पन्न सेवा सुविधा खोज्छन् ।’

गुरुयोजना निर्माणको प्रयास
गाउँपालिकाले बन्दीपुरको विकासका लागि २० वर्षे दीर्घकालीन गुरुयोजना निर्माणको प्रयास थालिसकेको छ । सबै सरोकारवालासँग समन्वय गरी २० वर्षे दीर्घकालीन गुरुयोजना निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष थापा बताउँछन् ।

गुरुयोजना निर्माणका सन्दर्भमा हरेक वडामा समेत सुझाव संकलन गर्ने कार्यक्रम भइरहेको छ । सरकारले सन् २०२० लाई पर्यटन वर्षको रूपमा मनाउने घोषणा गरिसकेको सन्दर्भमा उक्त वर्ष बन्दीपुरले गर्न सक्ने योगदानका बारेमा समेत छलफल भइरहेको उनले बताए ।

उनी भन्छन्, ‘बन्दीपुर नेपालकै मात्रै नभई विदेशमा समेत प्रख्यात पर्यटकीय स्थल हो । यसको थप विकासका लागि दीर्घकालीन गुरुयोजना आवश्यक भएको महसुस गरेर काम सुरु गरेका हौँ ।’ उनका अनुसार गुरुयोजना अनुरूपका नीति तयार गरी विकासका कार्यक्रमहरूलाई कार्यान्वयन गर्दै लगिनेछ ।

उनका अनुसार बन्दीपुरको विकासका लागि देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका गैरआवासीय बन्दीपुरवासीको सहयोग लिइनेछ । यस अतिरिक्त बन्दीपुरवासीको सञ्जाललाई सक्रिय बनाइ उनीहरूको आर्थिक, भौतिक तथा बौद्धिक क्षमतालाई यहाँको विकासमा प्रयोग गरिनेछ ।

काठमाडौं, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रहरूको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरूको पनि केन्द्रको रूपमा विकास गर्ने गाउँपालिकाको सोच रहेको छ । बन्दीपुर आफैँमा एउटा प्राकृतिक सुन्दरता र पर्यटकीय सम्भावना बोकेको ठाउँ हो र यही विशेषतालाई जगेर्ना गर्दै यस क्षेत्रको प्रमुख आयस्रोतको माध्यम नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रमहरू अगाडि बढाउन खोजेको छ ।

प्रतिक्रिया