रञ्जिताको बढ्दो व्यस्तता

पछिल्लो समयमा युट्युब बढ्दो प्रयोगसँगै यसको प्रभावले कलाकारलाई आम दर्शकसम्म पुग्न सहज भएको छ । यसको प्रभावसँगै कलाकारको आय स्रोतसमेत बढिरहेको छ । प्रविधिको विकाससँगै कलाकारको संख्या पनि बढ्दै गएको छ भने उनीहरूको व्यवसायको प्रभाव पनि फैलिँदै गएको छ ।  नेपालमा मौलिक लोकगीतमा लागेका अधिकांश कलाकारलाई युट्युवले विश्वमा छरिएर रहेका नेपालीसम्म पुग्नलाई निकै सहज बनाएको छ । यसले सांगीतिक क्षेत्रमा लागेका कलाकारको जीवनयापन निकै सहज बनेको छ ।

नेपाली लोकगीतका क्षेत्रमा लागेर सफलताको सिँढी चढेकी रञ्जिता थापा मगर अहिले दर्शक तथा स्रोताले मनपराउने लोकगायिकाको रूपमा देशविदेशमा परिचित छन् । ०४३ सालमा बुवा दिलबहादुर थापा र आमा लालमाया थापाको कोखबाट तनहुँमा जन्मिएकी रञ्जिता सानै उमेरदेखि गायन क्षेत्रमा लागिन् । उनले बालापनदेखि नै लोकदोहोरी गीत सुन्ने र आफैँले पनि गुनगुनाउने गरेको र त्यसको प्रभावले आफू गायिका बन्न सफल भएको बताइन् ।

मेलापात, चाडपर्व, सामाजिक कार्यमा तथा गाउँघर र मेला महोत्सवमा यही लोकदोहोरी गीत बढी गुञ्जिने भएकाले यसप्रति दर्शकको रुचि बढी नै भएको पाइन्छ । गाउँघरमा गाइने लोकगीतको प्रभावले उनले यसै क्षेत्रमा ढल्किएको जनाउँदै भनिन्, ‘लोकगीत नेपाली समाजको ढुकढुकी हो । यसमा नेपाली समाजको लोक परम्परा, संस्कृति तथा मनोरञ्जनको बढी प्रभाव हुन्छ । मेरो समाज र यसको प्रभावका कारण मैले लोकगीतमा आफ्नो करिअर बनाउने लक्ष्य राखेर अगाडि बढेकी हुँ ।’

नेपालको पश्चिमाञ्चल क्षेत्रमा गाइने झ्याउरे, कौडा र दोहोरी लगायतका गीतको प्रभावले उनी लोकगीतमै लागिन् । उनले आफ्नो गायन यात्राको स्मरण गर्दै भनिन्, ‘सानैदेखि रुचि भएको गायनलाई कहाँ र कसरी अघि बढाउने भन्ने सोचेकी थिएँ । त्यतिवेला गाउँघरमा भइरहने विभिन्न गीत प्रतियोगितामा पनि भाग लिँदै आएँ । तर, गाउँमै बसेर कलाकारिताको करिअरलाई अघि बढाउन सकिन्न भन्ने लागेर ०६१ सालबाट पोखराको एउटा दोहोरी साँझमा काम गरेँ । यहीँबाट मेरो सांगीतिक क्षेत्रको यात्रा अविरल अगाडि बढिरहेको छ ।’

गाउँको स्कुलबाट एसएलसी उतीर्ण गरेपछि उनी पोखरामा करिअर बनाउने ध्याउन्नमा लागिन् । त्यहाँको रहनसहन र वातावरण बुझेपछि उनी ०६३ सालमा काठमाडौं हानिइन् । अहिले गायन क्षेत्रलाई पेसाकै रूपमा अघि बढाएको उनले सुनाइन् । राजधानीको बसाइले उनलाई थुप्रै कलाकारसँग परिचित गरायो । यसले आफ्नो करिअरलाई अझ प्रभावकारी बनाउन सकेको उनले बताइन् । उनले भनिन्, ‘राजधानीमा आएपछि नयाँ र पुराना स्रष्टाको संगत र गीत संगीतले ममा उत्साह थपिँदै गयो ।’

ललितकला क्याम्पसबाट संगीतमा स्नातक गरेकी रञ्जिताले एकेडेमिक शिक्षाले कलाकारलाई गायन यात्रामा अघि बढ्न निकै सघाउने बताइन् । आफूले कलेज तहमा अध्ययन गरेपछि संगीतको बिहंगम क्षेत्रलाई बुझ्न सकेको सुनाइन् ।
गीत संगीतको आयामलाई क्याम्पस तहमा बुझेकाले नेपाली मौलिक गीतको महत्वलाई अझै संरक्षण गर्नुपर्ने तर्क गर्दै उनले भनिन्, ‘नेपालको संगीतको क्षेत्र निकै फराकिलो र मौलिक खालको छ । यसको मर्मलाई बुझेर गायन क्षेत्रमा ल्याउन सकिए त्यो नेपाली सांगीतिक जगत्का लागि कोसेढुंगा सावित हुनेछ ।’

काठमाडौंलाई कर्मथलो बनाउँदै गायनसँगै मोडलिङमा समेत उनले आफ्नो करिअर अघि बढाएकी छन् । उनले करिब १५ भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेको जानकारी दिइन् । त्यस्तै, उनले सारंगी तबला लगायतका वाद्यवादनमा समेत आफूलाई चिनाउने गरी काम गरिरहेकी छन् ।

सांगीतिक क्षेत्रमा शास्त्रीय संगीतको महत्व विशिष्ट रहने भएकाले यसको अध्ययनले आफूलाई परिमार्जित गर्न सघाउ पु¥याएको रञ्जिताले बताइन् । ‘डाँडीमा चै चै’ गीतबाट गायन सुरु गरेकी उनले खँैजेडीको ताल सुनेर, राष्ट्रिय भावको गीत ‘नेपाल प्यारो लाग्छ,’ झुम्के फुली, न्याउली जस्तै रुनु प¥या’ छ, सेनिन सेनी मगर भाषाको कौडा लगायतका दर्जनौं गीतमा आवाज दिएको उनले सुनाइन् ।

नेपाल मगर संस्कृति संघको केन्द्रीय सदस्य, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति ललितपुरको प्रथम महिला उपाध्यक्षसमेत रहेर देशको मौलिक लोक संस्कृतिको संरक्षण र संवद्र्धनमा आफूले सघाउ पु¥याएको उनले दाबी गरिन् । त्यस्तै, उनले विभिन्न प्रतियोगितामा थुप्रै पुरस्कार जित्दै आएको बताइन् ।

०७४ सालमा सर्वोत्कृष्ट मोडेल विधामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालबाट अवार्ड, लगायत सर्वोत्कृष्ट दोहोरी साँझ गायिका विधामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिद्वारा आयोजिक छैटौँ पृथ्वी अवार्डसमेत जित्न सफल भएको उनले जनाइन् ।

यस क्षेत्रबाट अहिले आफू सन्तुष्ट रहेको र व्यवसाय नै यही भएको कारण आर्थिक आम्दानी पनि राम्रै भएको उनले सुनाइन् । गायनमा आफ्नो भविष्य खोज्दै यस क्षेत्रमा हानिएकी उनले पछिल्लो समयमा विदेशमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा जानेक्रम बढ्न थालेको छ । उनी केही समयपछि नेपाल मगर संघ कतारको आयोजनामा हुन लागेको विशेष माघे सक्रान्ति तथा विविध सांस्कृतिक कार्यक्रममा भाग लिन जाने तयारीमा छन् ।

रञ्जिताले स्रष्टाको सिर्जनालाई पछाडि फर्किएर हेर्ने र स्वच्छ भावनाले भविष्य खोज्दै कलाकारितामा देशको मौलिक संस्कृतिको मनन गर्नेलाई यही क्षेत्रमा आर्थिकरूपमा वञ्चित हुनु नपर्ने धारणा राखिन् ।

प्रतिक्रिया