कुटपिटबाट सहनै नसेकेपछि कोही न्याय खोज्दै आउँछन् त कोही विवाह गर्ने बहानामा गर्भ बोकाएर छोडेको भन्दै गर्भसँगै हराएको पुरुष खोजी गरिदिन भन्दै आउँछन् । दाङको घोराही उपमहानगरपालिका–१५ मा रहेको जिल्लास्तरीय सेवा केन्द्रमा पुरुषले दोस्रो विवाह गरेर आफूलाई अपहेलना गरको भन्दै न्यायको खोजीमा पनि महिला आइरहेका हुन्छन् ।
बलात्कारमा परेर परिवार एवं समाजमा बस्न नसकेका, जिल्ला बाहिरबाट भेटघाट गर्न आएका र होटलमा लगेर बलात्कार गरिछोडेका महिला पनि आउने गर्छन् । बेचबिखनका लागि भारत लगिँदै गर्दा प्रहरीले घर फर्काइ दिएका र बेचिएर समाजमा हेपिएपछि पनि सेवा केन्द्रसम्म आश्रय लिन आइपुगेका हुन्छन् ।
घोराहीमा रहेको महिला पुनस्र्थापना सेवा केन्द्रकी प्रमुख हुमा डिसीका अनुसार अहिले केही पीडितले प्रहरी वा अदालतमा जानुभन्दा पहिले नै सेवा केन्द्रमा न्याय माग्न आउने गरेका छन् । अघिकांश पीडित कुनै चिनेजानेको व्यक्तिको सिफारिसमा यहाँसम्म आउने गर्छन् ।
गत आर्थिक वर्ष ०७४÷७५ को तथ्यांक हेर्ने हो भने सेवा केन्द्रमा गत एक वर्षमा मात्रै करिब १ सय २१ जना महिला सेवा केन्द्रमा सेवा लिन आइसकेका छन् भने त्यति नै संख्यामा बालबालिका प्रभावित बनेका छन् । सेवा केन्द्रकी प्रमुख डिसी भन्छिन्, ‘दैनिकजसो महिला हिंसामा परेका घटना लिएर आउँछन् । उनीहरूले भोगेको पीडाको प्रकृतिअनुसार सेवा दिने गरेका छौँ ।’
उनका अनुसार महिलाको अवस्था हेरेर कसैलाई अल्पकालीन सेवा त कसैलाई सम्बन्धित निकायमा पुगेर न्यायका लागि पहल गरिदिने गरिएको छ । अहिले नेपाल सरकारले सेवा केन्द्रमा हिंसापीडित महिलालाई बढीमा ४५ दिनसम्म राख्ने व्यवस्था गरिदिएको छ । केन्द्रमा पीडितभन्दा पहिले पीडिक आउने, विभिन्न अफवाह सुनाउने, धम्क्याउने, पीडितलाई झन पीडा दिनेजस्ता कार्यले आफूहरूलाई समस्या परेको डिसीको अनुभव छ ।
०६६ सालमा स्थापना भएदेखि नै केन्द्रमा लैंगिक हिंसामा परेका आउने गरेको उनी बताउँछिन् । सेवा केन्द्रमा सेवा लिन मात्र नभई हिंसामा परेपछि के–कस्ता प्रक्रिया पुर्याएर न्याय पाउन सकिन्छ भनेर सल्लाह लिन आउने पनि छन् । घोराहीमा सञ्चालित उक्त सेवा केन्द्रमा दाङ जिल्लाका मात्र नभई रुकुम, रोल्पा, सल्यान र प्यूठानका महिला पनि आश्रय लिन आउने गरेका छन् ।
सेवा केन्द्रकी विष्णु बस्नेतले दिएको जानकारीअनुसार स्थापना भएदेखि हालसम्म सेवा केन्द्रमा घरेलु हिंसामा परेका ४ सय ३९ महिला आश्रय लिन आइपुगेका छन् भने उनीहरूसँग करिब २ सय ८ बालबालिका पनि प्रत्यक्ष हिंसामा परेर सेवा केन्द्रमा आश्रय लिनुपर्ने अवस्थामा पुगेका थिए ।
आर्थिक हिंसामा परेका ४१ महिला र तीनका १६ बालबालिकालाई पनि सेवा केन्द्रमा आश्रयमा दिएको तथ्यांक सेवा केन्द्रले राखेको छ । दुव्र्यवहारमा परेका १६ महिला र तिनका ६ बालबालिकाले पनि सेवा केन्द्रको सेवा लिएको तथ्यांक जिल्लास्तरीय सुरक्षा आवास केन्द्रसँग छ । आफन्तको खोजबिनमा हिँडेका २५ महिला र तिनका १३ बालबालिका पनि प्रत्यक्ष रूपमा हिंसामा परेका छन् । अलपत्रमा परेका १ सय ६६ महिला र तिनका ३३ बालबालिका एवं बेचबिखनमा परेका ६ जना पनि सुरक्षा आवासमा सेवा लिन आएका छन् ।
०६६ सालदेखि हालसम्म सेवा केन्द्रमा करिब ८ सय ३३ जना बालबालिकाले सेवा लिइसकेका छन् । सुरक्षा केन्द्रकी प्रमुख एवं महिला अधिकारकर्मी हुमा डिसीका अनुसार सेवा केन्द्रमा आएका महिलाको अवस्था बुझ्दा अधिकांश महिला अशिक्षा, बेरोजगार, आर्थिक अवस्था कमजोर र सामाजिक कुरीतिकै कारणले हिंसामा पर्ने गरेका छन् ।
महिलालाई शिक्षा दिने, रोजगारको अवसर सिर्जना गरेर उनीहरूको आर्थिक अवस्था बलियो बनाउने हो भने ९० प्रतिशत महिलाले हिंसा भोग्नु नपर्ने उनको अनुभव छ । विशेषगरी गरिब, पिछडिएका महिला नै हिंसाको सिकार भइरहेको उनले बताइन् ।
सेवा केन्द्रमा आएका अधिकांश महिला न्याय पाएरै फर्केको उनको अनुभव छ । सेवा केन्द्रमा आएका महिलाले प्रजिअको कार्यालयदेखि, प्रहरी, अदालत, सरकारी वकिलको कार्यालय र अस्पताल सबै क्षेत्रबाट आफूले राम्रो सहयोग पाइरहेको हुँदा हिंसा प्रभावितलाई न्याय दिन सजिलो भएको उनी बताउँछिन् ।
कहिलेकाहीँ सुरक्षा निकायको कार्यालयमा लैंगिक हिंसाको बारेमा नबुझेका, नयाँ कर्मचारी आउँदा भने आफूहरू समस्या हुने गरेको उनको भनाइ छ । हाल नेपाल सरकारले १० वटै स्थानीय तहमा हिंसापीडित महिलाका लागि सुरक्षा आवासको स्थापना गरेको छ ।
प्रतिक्रिया