धर्मका बारेमा मान्छेका आआफ्ना विश्लेषण हुन्छन् । कसैले धर्मलाई अफिम भन्छन् त कसैले बाँच्ने शाश्वत आधार त कसैले धर्मलाई आडम्बरको रूपमा प्रस्तुत गरेर समाजका आँखामा छारो हाल्दै कमाइ खाने भाँडो बनाएका छन् । यति मात्रै होइन धर्मका नाममा सामाजिक र राजनीतिक अपराध गर्नेहरू पनि छन् हाम्रै समाजमा ।
नेपालमा पछिल्लो समय धर्मका नाममा बाराका युवा रामबहादुर बम्जनले गरेको उपद्रो त्यसैमध्येको एक हो । म आफैँ बाराकी भएकी र समाजमा भएका राम्रा वा नराम्रा कामबारे जनतालाई सूचित गर्ने पेसा अंगालेकाले सयौँपटक बम्जनको तपस्या स्थल भनिएको बाराको चारकोसे झाडीमा रहेको रतनपुरी जंगलमा पुगेँ । मेरो मनले उनलाई कहिल्यै तपसी वा धर्म गुरु मानेन । मात्रै मेरो जिल्लाको एक युवा आफ्नो सिर्जनशील समय तपस्याको नाममा खेर फाल्दै छन् र उनका नाममा हजारौँ मान्छेले समय बरबाद गर्दै छन् मात्रै ठानी रह्यो । मेरो सोचाइ कहिलेकाहीँ त्यस कुरामा प्रस्तुत हुन्थ्यो तर अनुयायीहरूले भने मलाई छड्के नजरले हेर्थे ।
कुरो ०६१ जेठ देखिको हो । उनी जेठ २ गतेदेखि निराहार तपस्या गरेर बसेको भनियो । उनलाई धेरैले ‘लिटिल बुद्ध’ पनि भने । बम्जनलाई हेर्न रतनपुरीको जंगलमा २०औँ पटक गएँ । सुरुमा बाराका पत्रकारको टोली उनी भएको स्थानमा पुग्दासम्म उनलाई कुनै सञ्चारकर्मीले भेटेका थिएनन् । भाइको चर्चा होस् भन्दै उनका जेठा दाजु बाराको सिमरा बजारमा भाइको दैवीशक्तिका बारेमा प्रचार गर्न व्यग्रतापूर्वक पत्रकारहरूको खोजीमा थिए । हामी त्यहाँ पुग्दा सुनसान वनमा उनी एक्लै एउटा सानो कुटीमा भित्र बसेका थिए । हामीले बसेको अनुमान लगायौँ । सुतेको पनि हुनसक्थ्यो । पछिल्ला घटनाक्रम हेर्दा नहोला भन्न सकिँदैन ।
दाजु गंगाले बोलाएपछि कुटीबाहिर निस्केका रामबहादुर गेरु वस्त्रमा नसम्हालेर अलपत्र परेको केशमा थिए । उनी हामीबीच आधा मिनेट तर नबोलीकनै उभिए । त्यसपछि फरक्क फर्केर कुटी प्रवेश गरी अन्तध्र्यान भए । हामीले त्यस कुटीको परिवेश नियाल्ने विचार ग¥यौँ । वरिपरि खोल्सामा बिस्कुट र चाउचाउका खोल प्रशस्तै भेटिएका थिए । गोठालाले ती खानेकुरा प्रयोग गर्ने सम्भावना थिएन । त्यसयता अनेक प्रकारले उनी चर्चामा छन् । समय १४ वर्ष बितिसकेछ । दोस्रोपटक त उनका बारेमा कलम चलाउँदै छु ।
हामीले रतनपुरीका जनतालाई रामबहादुर बम्जनजस्तो एउटा १६ वर्षे ठिटोको निराहार तपस्याको रहस्यबारे सोध्दा स्पष्ट ढंगले बताउन आनाकानी गरिरहेका थिए । ‘खै थाहा छैन’ भन्ने जवाफ नदिएर पन्छन खोज्नेहरू पछि ‘बोधी श्रवण धर्म संघ’ को नाममा संस्था खोलेर त्यसको हर्ताकर्ता भए । त्यतिवेला उनका अर्का दाजु दिलबहादुरले समेत उनको तपस्या र निराहारलाई विश्वास गरेका थिएनन् । उनका दौँतरीले समेत ‘रामबहादुरको चमत्कारी जंगलबास’ लाई विश्वास गर्न सकेका पनि थिएनन् । सायद, उनीहरू सोचिरहेका थिए । उनीहरू सोच्दा हुन्, ‘यो ठिटोको यस्तो के चाला होला ?’ केहीले त उनलाई मनोरोगीको समेत आरोप लगाए थिए ।
उनका कारण चारकोसे वन फाँडियो अनि उनको बस्ने क्षेत्र पनि फराकिलो र व्यवस्थित देखिँदै गयो । सामान्यरूपमा काठले बारेको ठाउँ तारबारले घेरियो । वरिपरि ध्वजापताका र तोरण देखिन थाले । धूपदीपका सुगन्धले जंगल मुग्ध हुन थाल्यो । वरिपरि पसल खुले । जंगलका रूख विस्तारै काटिँदै गए । बुट्यानहरू मासिए । गाडी, ट्याक्सी र मोटरसाइकलजस्ता आयातित यातायात र घोडाको चहलपहलमा वृद्धि भयो । चन्दा र भेटी ओइरिन थाल्यो अनि स्वयंसेवकका लागि थरिथरिका व्यञ्जन पाक्ने मेस सुरु भयो । र, हामीले पनि दुइचारपटक मेसको खानाको स्वाद लिन पायौँ । हेर्दाहेर्दै दिउँसोसमेत हिँड्न डर लाग्ने त्यो विशाल जंगल गुलजार बन्यो र बम्जन बिक्ने वस्तु बने ।
कात्तिकको महिनाको एक दिन रातको समयमा तपस्वीको शरीरमा ज्योति चम्कन्छ भन्दै हल्ला फैलियो । हल्लाको रहस्य पत्ता लगाउन हामीले त्यो ज्योति हेर्नैपर्ने ठहरियो । राती नौ बजेतिर पत्रकार र अधिकारकर्मी गरी करिब २० जनाको दल रतनपुरीको जंगलतिर लाग्यो । रातको समय, बम्जनका स्वयंसेवक रूप धारण गरेका अनुयायी सेनाबाहेक सुनसान जंगलमा अरू कोही थिएनन् । स्वयंसेवकहरूको बोल्न नपाइने सर्तमा हामी उनीहरूले खटाएको ठाउँमा चुपचाप बस्यौँ । तर, रामबहादुरको शरीरमा कहीँ कतै बत्ती बलेको देखिएन । उनका सेनाले भने आज तपस्वीलाई सर्पले टोकेको छ त्यसैले, उनको शरीरमा बत्ती बल्दैन भन्ने दाबी गरे । हामी रित्तो हात फर्कनुपर्ने भयो । रातको एघार बजेपछि हामी फर्कियौँ ।
आफूलाई बुद्धको अवतार भन्ने, आफ्नी आमालाई समेत हात हाल्ने र कहिले केटीसँग जंगलमा लठारिँदै हिँड्ने, कहिले हतियार बोकेर हिँड्ने, कहिले आफ्नै भक्त विदेशी पाहुनाको अपहरण गर्ने, कहिले पत्रकार कुट्ने रामबहादुरकी आफ्नै आमाले उप्रान्त आफ्नो नाम छोरा रामबहादुरसँग नजोड्न आग्रह गरेकी थिइन
त्यसको सत्यापन गर्न भोलिपल्ट बिहानै हाम्रो दल रतनपुरीतर्फ लाग्यो । जंगलमा तपस्वीको दर्शन गर्न हजारौँ मान्छे जम्मा भएका थिए । तपस्वीका सेनाले उनलाई सर्पले टोकेको हुनाले आराम गर्न रूखमा अदृश्य भएको सूचना दिए । हामीले उनीहरूलाई पर्दा खोल्न भन्यौँ र पर्दा नखोले हामी आफैँले पर्दा खोल्नेसमेत बतायौँ । उनका दाजु गंगाले आफ्नै मातृभाषामा केही भनेको दस मिनेटभित्र पर्दा खुल्यो । तपस्वी एकदम तनक्क परेका, भर्खर सुतेर उठेका जस्तो देखिएका थिए ।
एकदिन विश्वको चर्चित टिभी च्यानल डिस्कभरीको टोली रतनपुरीको जंगल पुग्यो । टोलीका सदस्यहरू सात दिनसम्म अहोरात्र त्यहाँको दृश्य खिचेर लाने र तपस्वीले कुनै खाद्य लिए नलिएको पुष्टि गर्ने बताइरहेका थिए तर बम्जनका स्वयंसेवकहरू छायांकन गर्न अस्वीकार गरिरहेका थिए । सबैका मनमा स्वाभाविकरूपमा आशंका उत्पन्न भयो, यसरी छायांकन गर्न अस्वीकार गर्नुका पछाडि अर्कै नियत हुनुपर्छ ।
मन लागेको वेला आफ्ना सहयोगीसित प्रेमसँग बोल्ने उनलाई दृश्य खिच्दा तपस्यामा अवरोध उत्पन्न हुन्छ भन्नु कुनै तर्कसंगत थिएन । कोदालो खनेका भए वा हलो जोतेर अएको भए पो उनलाई आरामको जरुरी हुन्थ्यो दिनभरि रूखको फेदामा आँखा चिम्लेर बस्दा पनि उनले खोेजेको आरामको रहस्य के थियो ? त्यतिवेला हाम्रो पनि स्वार्थ थियो । उनको निराहार पुष्टि भएमा विश्वभर बाराको नाम गौरवशाली हुनेछ तर हाम्रो स्वार्थ पूरा हुन पाएन ।
उनका बारे महिनैपिच्छे नयाँनयाँ हल्ला हुँदै गयो । बारा र पर्साका पत्रकारको काम त्यस दिनदेखि आजसम्म उनका राम्रा वा नराम्रा कुरा लेख्न र छायांकन गर्नमै सीमित रह्यो । कैयौँ दिन त हामीले बिहानैदेखि साँझसम्मै आफूलाई आधुनिक बुद्ध घोषणा गर्ने युवकको अघि रमिता हेरेरै बितायौैँ, रतनपुरी जंगलमा । हामीलाई त उनका सहयोगी र समितिले भनेअनुसार ‘उनी साँच्चै निराहार बस्छन् कि बस्दैनन् ?’ भन्ने सत्यको खोजी गर्नु थियो । मान्छेहरूलाई ठूलो भ्रम थियो र हामीसँग सोध्थे, ‘तपाईंहरूलाई त सबै थाहा होला, खास सत्य के हो ?
मानौँ कि हामी महात्मा हौँ । त्यहीबीच एक दिन फर्पिङ गुम्बाबाट नेपालकै ठूला बौद्धिक गुरु रतनपुरी आउने कुराले हामीलाई त्यहाँ जान उत्साही बनायो । त्यस दिन त्यहाँ दर्शकको व्यापक भिड थियो । गुरु तिब्बती हुनाले नेपाली बुझ्दैनथे । दोभाषेको सहयोगमा उनलाई सोधियो, ‘तपस्वी निराहार छन् कि छैनन् ?’ उनको जवाफ थियो, ‘भगवान् गौतम बुद्धले पनि दिनमा एकपटक खान्थे तपस्या गर्दा ।’ सायद, उनको नाम रोम्पोछे हुनुपर्छ (ठ्याक्कै सम्झनामा छैन) । ती तिब्बती गुरु पनि बम्जनको ‘निराहार तपस्या’ बारे प्रस्ट हुन सकेनन् । समय बितेको छ । उनलाई बारामा बस्न दिइएन विदेशी महिलाप्रति उनले गरेका व्यवहारले उनलाई त्यहाँबाट हटाइयो ।
आफूलाई बुद्धको अवतार भन्ने, आफ्नी आमालाई समेत हात हाल्ने र कहिले केटीसँग जंगलमा लठारिँदै हिँड्ने, कहिले हतियार बोकेर हिँड्ने, कहिले आफ्नै भक्त विदेशी पाहुनाको अपहरण गर्ने, कहिले पत्रकार कुट्ने रामबहादुरकी आफ्नै आमाले उप्रान्त आफ्नो नाम छोरा रामबहादुरसँग नजोड्न आग्रह गरेकी थिइन । उनलाई आफ्नै छोराका क्रियाकलापले दुःखी बनाएको थियो । तब किन रामबहादुरलाई बाराको नामसँग जोडेर सिंगै जिल्लाको बदनाम गर्नेकाम पटक–पटक गरे ?
उनै रामबहादुर बम्जन करिब १४ वर्षपछि फेरि चर्चाको केन्द्रमा छन् । मान्छेले कि राम्रो काम गरेर चर्चा कमाउँछ कि नराम्रो काम गरेर । उनले बटुलेको चर्चामा उनैका भक्तहरूका लागि प्रिय छैन । यतिवेला उनलाई यौन दुराचार र आश्रमबाट केही व्यक्ति बेपत्ता बनाएको आरोप लागेको छ ।
उनका अनुयायी भनिनेहरू भने अहिले पनि उनलाई तपस्वी, बुद्वको अवतार भन्न छाडेका छैनन् । तपस्या गर्ने क्रममा उनी बीचबीचमा हराउने र केही समयपछि फेला पर्ने क्रम चलिनै रह्यो । बम्जन पहिलोपटक १० महिना लामो ध्यान बसेकै वेला अचानक गायव भएका थिए । उनका नामका बारेमा वन मात्रै मासिएन देशका विभिन्न स्थानमा उनले आश्रमस्थल बनाउँदै र फेर्दै हिँडे । बारा, सिन्धुपाल्चोक, लमजुङ र सर्लाहीमा समेत उनले आश्रम खोले ।
पछिल्लो समय उनको विरुद्धमा हेटौंडामा उजुरी परेको छ । प्रहरीले उनको खोजी थालेको बताइएको छ । बम्जनले सञ्चालन गरेको आश्रमबाट अनुयायीहरू बेपत्ता भएको आरोप सार्वजनिक भएसँगै बम्जनमाथि विभिन्न किसिमका आरोप थपिँदै गएको छ । उनका बारेमा नकारात्मक टिप्पणी बढ्दै गएको छन् ।
तपस्वी र गुरु मानेर सबै कुरा त्यागेर आएका अनुयायीप्रति आरोप लागे अनुसारको व्यवहार उनले गरेको हो भने त्यो ठूलो अपराध हो । धर्मका नाममा कथित गुरु अवतारहरूले भारतमा महिलामाथि यौन शोषण गरेको समाचार धेरै सुनिएको थियो । तर, उनलाई श्रद्वा र भक्तिभाव गर्ने, उनको जयजयकार गाएर उनैलाई सर्वश्व ठान्नेहरूको शिर झुक्नेगरी उनले अपराध गरेका छन् । आफूलाई रामबहादुरको अनुयायी भएकोमा गर्व गर्नेहरू नतमस्तक भएका छन् उनका क्रियाकलापहरूले ।
उनले बारामा रहेकै वेलामा पनि केही स्थानीयहरूमाथि हातपात गरेको आरोप लागेकै थियो । ६ वर्ष अघि करिब तीन महिनासम्म दुई विदेशी महिलालाई बन्धक बनाएपछि उनी चर्चामा आएका थिए । ती विदेशी महिला उनको भक्त बन्न रतनपुरीको जंगलमा पुगेका थिए । उनीहरू रामबहादुरको तपस्यादेखि प्रभावित भएर अनुयायी बन्न आएका थिए । तर, आफूले श्रद्धा गरेर आएको मान्छेबाटै उनीहरू बन्दक बन्नुपर्दा कस्तो महसुस भयो होला त ?
समय निकै बितिसकेको छ । उनले डण्डीबियो खेल्ने गरेको रतनपुरी गाउँ फेरिएको छ । किशोर अवस्थामा तपस्या बसेको भन्दै लाखौँ मान्छे बरालेका उनी मस्त युवा भएका छन् । सार्वजनिकरूपमा देखानपर्ने उनकी पत्नी र सन्तानसम्म भएको पीडित आनीहरूको आरोपअनुसार उनी साँच्चै आधुनिक तपस्वी हुन् । ज्ञान प्राप्ति गर्न बसेका तपस्वीकी पत्नी र सन्तान हुन्छन् कि हुँदैनन् त्यो पनि उनका अनुयायीहरूले भनून् । उनका कारण वेलावेलामा बारा जिल्लाको समेत बदनाम गरिँदा दुःख लाग्छ । उनी को हुन् के गर्दै छन् कानुनले गर्नपर्ने के हो खोजी गरियोस् अनि धर्मका नाममा अपराध गर्ने र मान्छे बराल्ने काम बन्द होस् ।
प्रतिक्रिया