काठमाडौंका मुख्य पाँच शिव मन्दिर

प्राचीन समयदेखि नै काठमाडाैंमा धेरै मन्दिरहरू रहेको पाइन्छ । यहाँका हरेक गल्लीहरूमा कुनै न कुनै देवीदेवताका मन्दिर रहेका छन् । त्यसैले, काठमाडौंलाई ‘मन्दिरै मन्दिरको सहर’ को उपनामले पनि चिनिन्छ । शिव मन्दिर, राम मन्दिर, कृष्ण मिन्दर र बज्रयोगिनी मन्दिरलगायत थुप्रै देवीदेवताहरूका मन्दिर काठमाडौं उपत्यकामै अवस्थित छन् ।

खुला संग्रहालयजस्तै मानिने यहाँका धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटकले एक मन्दिरबाट अर्को मन्दिर घुमेर आफ्नो अमूल्य समयको सही सदुपयोग गर्न सक्दछन् । कति धार्मिक आस्थाका कारण मन्दिर जाने गर्छन् त कति समय बिताउन । जसरी भए पनि यहाँका मान्छे मन्दिर गएर मन बहलाउने गर्छन् । तीमध्ये काठमाडौंमा रहेका पाँच मुख्य शिव मन्दिरको यहाँ छोटकरीमा वर्णन गरिएको छ ।

१. पशुपतिनाथ मन्दिरः हिन्दू धर्म मान्नेहरूका लागि पशुपति मन्दिर अति नै पवित्र धार्मिक स्थल हो । उक्त धर्मका अनुयायीहरूका लागि यस मन्दिर सबैभन्दा ठूलो मन्दिर हो । यहाँ पूजा गरे मनोकामना पूरा हुने विश्वाससमेत गरिन्छ ।

ऐतिहासिक धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण यो मन्दिर काठमाडौंको गौशालास्थित पवित्र नदी बागमतीको किनारमा छ । सन् १९७९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा पर्न सफल पशुपतिनाथ मन्दिर २ हजार वर्ष पुरानो भएको जनविश्वास गरिन्छ । यस मन्दिरको क्षेत्रफल २ सय ४० हेक्टर जग्गामा फैलिएको छ ।

विश्वका २ सय ७५ शिवका पवित्र स्थलमध्ये पशुपतिनाथलाई प्रमुख धार्मिकस्थलको रूपमा मानिन्छ । यस मन्दिरमा भगवान् शिवको मात्रै पूजा आराधना गरिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध र गणपथ शिख आदि धर्मावलम्बीका लागि यो क्षेत्र खुला छ । शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरिश जगन्ननाथ लगायतका नामले पनि चिनिन्छ ।

आठ रुद्रमुखी शिवमध्ये पशुपतिनाथ मुख्य शिव हुन् । पशुपतिको पाँच भागतिर फर्किएकोे मुखले शिवका भिन्दाभिन्दै अवतारलाई प्रतिनिधित्व गर्दछ । जसमध्ये शिव सद्योजात अर्थात् बरुणरूपी पश्चिमतिर फर्किएको छ । उमा महेश्वर भनेर चिनिने वामदेव उत्तरी भेगतिर पर्दछ भने तत्पुरुष पूर्वतिर । यस्तै, अघोर रूप दक्षिणतिर फर्किएको छ भने इशान आकाशतिर फर्किएको छ । पशुपति क्षेत्र ५ सय ५९ वर्गकिलोमिटरमा फैलिएर रहेको छ । यहाँ सानादेखि ठूला मन्दिरहरू रहेका छन् । प्यागोडा शैलीमा निर्मित यस मन्दिरका आफ्नै विशेषता रहेका छन् ।

२. गोकर्णेश्वर महादेव मन्दिरः  काठमाडौंको जोरपाटीमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर कसरी शिव मन्दिर हुन गयो भन्नेमा विभिन्न तर्क रहेको छ । इसापूर्व १५८२ मा बनेको यो मन्दिर गोपिरान भारोद्वारा निर्मित मन्दिर हो । लिच्छिवीकालभन्दा अघिदेखि नै यो मन्दिर यहाँ अवस्थित रहेको इतिहास छ । सर्वसाधारणहरू गोकर्ण औँशीको दिन आफ्ना मृत पिताको सम्झनामा गोकर्ण महादेव मन्दिर पुग्ने गर्दछन् । बागमती नदीको किनारमा अवस्थित यस मन्दिर परिसर भित्रै गोकर्ण रिसोर्ट पनि रहेको छ ।

यस मन्दिर क्षेत्रमा भाद्र कृष्ण औँशीका दिन मनाइने कुशे औँशी पर्वमा वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् । उक्त दिन बुबाको मुख हेर्ने दिन भक्तजनको ठूलो भिड लाग्ने गर्छ ।

उत्तरगयासमेत भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुसे औँशीका दिन विशेष मेला लाग्छ र दिवंगत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भिड लाग्दछ ।

३.सन्तानेश्वर महादेव मन्दिरः  प्राचीन कथाअनुसार सतीदेवीले अग्निमा हामफालेर आत्मदाह गरेपछि उनको नजलेको शरीर महादेव शिवले बोकेर स्तन पहाडको टुप्पोमा खसेको स्थानलाई मानिन्छ । उक्त स्थानमा हाल सन्तानेश्वर मन्दिर अवस्थित छ ।

यो मन्दिर ललितपुरको झरुवारासीमा पर्दछ । निःसन्तान दम्पतीले सन्तानेश्वर मन्दिरमा गई भगवान् शिवको पूजा आराधना गरी खुसी पारेमा भगवान्को कृपाले सन्तान हुने विश्वास गरिन्छ । त्यहाँ बर्सेनि हजारौँ मान्छे सन्तान हुने आसमा भगवान्को दर्शन र पूजा गर्न जाने गर्छन् ।

४. डोलेश्वर महादेवः डोलेश्वर महादेव मन्दिर काठमाडौदेखि २० किलोमिटरको दूरीमा रेहेको भक्तपुरमा पर्दछ । शिवका भक्तजनहरू जीवनमा एकपटक डोलेश्वर र पशुपतिनाथको यात्रा नगरेमा केदारनाथ यात्रा पूरा नहुने विश्वास गर्दछन् । केदारनाथ, पशुपतिनाथ र डोलेश्वर महादेवको तीर्थयात्रा गरेमा जीवनमा गरेको सबै पाप नाश हुने जनविश्वास रहेको छ । डोलेश्वर मन्दिरलाई केदारनाथको शिर भनेर पनि चिनिन्छ । पछिल्लो समय डोलेश्वर महादेवको चर्चा बढेको छ ।

करिब ४ हजार वर्ष पहिले पाण्डव र कौरवबीच भएको महाभारतको कुरु क्षेत्र युद्धमा केदारनाथको (भगवान् शिवको वाहन साँढे) टाउको काटिएको धार्मिक विश्वास गरिन्छ । उक्त टाउको हिमालय पर्वत छेउ अर्थात् हालको डोलेश्वर मन्दिरमा फेला परेको विश्वाससमेत गरिन्छ । करिब ४ हजार वर्ष पुरानो मूर्तिसँगै डोलेश्वरमा तल्कालीन समयका विभिन्न प्रमाणहरू भेटिन्छन् ।

५. कैलाशनाथ महादेव (साँगा) भक्तपुर र काभ्रेको सिमानामा साँगामा रहेको शिवको मूर्ति विश्वकै सबैभन्दा अग्लो मूर्ति हो । यो मूर्ति उचाइ १ सय ४२ फिट छ । तर, हिन्दू मान्यतामा १ सय ८ हुनुपर्ने र यो नै पवित्र शब्द मानिने भएकाले यस मूर्तिको उचाइलाई १ सय ८ फिट मानिएको छ ।

मन्दिरको क्षेत्रफल ७५ रोपनीभन्दा बढी जग्गामा फैलिएको छ । यस मन्दिर परिसरमा रिसोर्ट, स्पा तथा योगा सेन्टरसमेत खोलिएको छ भने मदिरा र धूम्रपान निषेध छ । यो मन्दिर २१ जुन २०१० मा पहिलोपटक शिलान्यास गरिएको थियो । मन्दिर बनाउन एब सय जना नेपाली र भारतीय कालिगढहरू खटिएका थिए ।

प्रतिक्रिया