मानिस जाेख्ने मेसिन सडकमा राखेर भविष्य खाेज्दै उमा

ओत लाग्ने घर भए फुटपाथमा बस्ने रहर कसलाई पो हुँदो हो । मन नहुँदा नहुँदै पनि बाध्यताले कैयौँ मान्छेलाई फुटपाथले तानेको छ । फुटपाथमा बिताउनु परेको कहालिलाग्दो दैनिकीका बारेमा अनविज्ञ मान्छेहरू सजिलै भनिदिन्छन् ‘फुटपाथे’ । शब्दै सुन्दा दिक्क लाग्छ, भोग्नेको भोगाइ कति दिक्क लाग्दो होला ? काठमाडौंमा मात्रै फुटपाथमा बसेर गुजारा गर्नेको संख्या यति नै छ भनेर किटान गरी साध्य नै छैन ।

वसन्तपुरको अगाडि त्यही फुटपाथमा गुजारा गर्दै आएकी ललितपुर लेले पुर्खेउली घर भएकी २५ वर्षीया उमा राउतको दैनिकी मानिसको तौल जोख्ने मेसिन राखेर बित्ने गरेको छ । बिहानको भिसमिसेमै बाटै सुरु हुन्छ उनको मान्छे जोख्ने काम । बिहानदेखि साँझको ६ बजेसम्म हरेक दिन उनी मान्छे तौलिने मेसिन राखेर कमाउने गर्छिन् । भान्छामा बसेर खाना नखाएको पनि धेरै भयो उनले । बहिनीले घरबाट ल्याइदिएको खाना त्यहीँ खुला फुटपाथमा बसेर खान्छिन् ।

‘घरको आर्थिक अवस्था कमजोर थियो, १४ वर्षको कलिलै उमेरमा प्रेम भयो र मागी विवाह गरियो । सानोमा मान्छेले भनेको सुनिकी थिएँ, अलि उमेर परिपक्क भएका सँग बिहे गरे माया धेरै गर्छन्, अरूतिर आँखा लगाउँदैनन् भन्ने, मैले पनि त्यही सोचेर आफूभन्दा पाको उमेरको व्यक्तिसँग प्रेम विवाह गरेँ ।’ उनले आफ्नो वास्तविकता सुनाइन । सेतो र कालो रंग मिश्रित तराजु भुइँमा थियो । भुइँमा ग्राहक कुरेर बसेको डिजिटल तराजुमा हिँड्दै गरेका मान्छे उभिएर आफ्नो तौल लिई जान्छन् । एक जना जोखिए वापत १० रुपैयाँ लिने गरेको उनले सुनाइन् । दिनभरमा उनको कमाइ २ सयदेखि ५ सयसम्म हुने गरेको उनले सुनाइन् ।

उमाको डेरा ढुंगेधारामा छ । उनी त्यही डेरामा जान्छिन्, जहाँ उनको परिवार छ । कहिलेकाहीँ न्युरोड नजिकै रहेको आफ्नी आमाको डेरामा बस्ने गरेको उनले बताइन् । एउटा सानो झोलामा तराजु बोकेर वसन्तपुर आउनु उनको दैनिकी हो । ‘फुटपाथ भन्नेवित्तिकै जहाँ पायो त्यहीँ बस्न पाइँदैन । म बस्ने ठाउँ पहिले नै तोकिएको छ,’ उमाले भनिन् ।

फुटपाथमा बसेर व्यापार गर्नेहरूको बस्ने स्थान फेरिरहने उनले बताइन् । मान्छे हिँड्ने फुटपाथको बाटोमा बसेर व्यापार गर्नुलाई अवैधानिक ठानिन्छ । हामी जस्तो व्यापार गर्नेहरू वेलावेलामा नगरपालिका प्रहरीको निसानामा पर्ने गरेका छौँ । आर्थिक अवस्था कमजोर भएका र गरिखान चाहनेहरूका लागि राज्यले उचित व्यवस्था नगरिदिँदा कैयौँ व्यक्तिले फुटपाथमै बसेर दैनिकी बिताउनुपरेको उनको गुनासो छ ।

‘नगरपालिकाका मान्छेहरूलाई ५०–१०० रुपैयाँ दियो भने केही गर्दैनन् नत्र आफूसँग भएको सामान र कमाएको पैसा सबै लगिदिन्छन्’ आक्रोशित हुँदै उनले भनिन् । ‘पसल थापेर भाडा तिर्ने खर्च आफूसँग छैन । अफिसमा काम गरूँ भने पढेलेखेकी छैन, अरू सीप केही जानेकी छैन । यस्तै काम नगरे कहाँ जानु उनले आफ्नो समस्याको भारी बिसाइन् ।

नगर प्रहरी हरेक दिन आएर दुःख दिने गरेको उनले गुनासो गरिन् । ‘कहिले को आउँछ कहिले को, थरिथरीका नगर प्रहरी आउँछन् पैसा दिएन भने लखेट्छन्, हिजो दिएको होइन भन्यो, मलाई दिएको हो भनेर उल्टै थर्काउँछन् ।’ आफ्नो दैनिकीको भोगाइ सुनाइन् उनले । फुटपाथमा बसेर व्यापार गर्ने उमा जस्ताका लागि महानगरपालिकाले कुनै व्यवस्था गरिदिए गरिखान सहिलो हुने थियो । ‘हामी रहरले यहाँ बसेका होइनौँ कति वेला यो तराजु लाने हुन् र दिनभरिको कमाइ गुमाउनु पर्ला भन्ने चिन्ता हुन्छ । यहाँ बसेर काम गर्ने सबैको अवस्था मेरो जस्तै छ ।’ सडकको भोगाइ उनले बताइन् ।

उमाका पति कुमार खड्का घर जग्गा किनबेचको काम गर्दछन् । ‘के गर्नु वेलामा पढ्न सकिएन, पतिको कमाइले मात्रै घर चलाउन मुस्किल छ । काठमाडौंको महँगीमा आफूले पनि केही गर्न पाए घर चलाउन केही सहयोग होला भनेर मान्छे तौलिने मेसिन राखेर बसेकी छु,’ उनले भनिन् । बिहेलगत्तै कामठमाडौंको भिडमा मिसिएकी उमालाई जीनवको रथ अगाडि बढाउन समस्या होला भन्ने लागेको थिएन । समय बित्दै जाँदा समस्याले थिच्दै गयो । ‘के गर्ने भविष्य बुझ्ने उमेर नहुँदै माया बस्यो, पाली त हाल्लान् भनेर बिहे गरेँ, अहिले पहिला सोचेजस्तो सबै सजिलो छैन,’ मुस्कुराउँदै उनले विगत सम्झिइन् ।

उनका एक छोरा एक छोरी छन् । दुवै होस्टलमा बसेर पढ्दै गरेको उनले बताइन् । छोराछोरीको सबै खर्च पतिले व्यहोर्ने गरेका छन् । छोराछोरीसँग उनको भेटघाट वर्षमा एकपटक मात्रै हुनेगरेको छ । ‘उनीहरू होस्टल बसेर पढ्छन्, म दिनभर यतै हुन्छु, साँझ बिहानको तरकारी खर्चको जोहो होस् भनेर यो काम गरेकी हुँ’ उनले भनिन्, ‘चार महिनाअघि २ हजार रुपैयाँमा तराजु किनेर यो काममा लागेँ, अहिले फुटपाथ घर जस्तै लाग्छ, तराजु दुई चार पैसा कमाउने मेरो भरपर्दो सहयोगी बनेको छ ।’ उमाका भाइ व्यापार गर्छन्, बहिनी उनकै छेउमा बसेर भित्तामा टाँस्ने पुतली र खेलौनाका सामानहरू बेच्छिन् । उनकी आमाले पनि फुटपाथमै चिया बेचेर जीविका चलाउँदै आएकी छन् ।

आमाप्रति आक्रोशित हुँदै उनले भनिन्, ‘कुन चाहिँले जीवनमा सुख हुन्छ, कुनै समस्या हुँदैन भनेर झुक्याइदिएछ र आमा क्रिस्चियन बन्नु भयो, हामीजस्ता गरिबलाई जुनसुकै ऐन आए पनि कहिल्यै चैन नपाइने, भो’ । उनी दसैँ र तिहारमा मात्र घर जान्छिन् । पतिसँग पनि उनको सधैँ भेट हुँदैन ।

बिहानीको चिसो सिरेटोमा हात कमाउँदै उमाले विगतको व्यथा सुनाइन्, ‘यसअघि अरूको घरमा भाडा माझ्ने, लुगा धुने र घर सफा गर्ने काम गर्दथेँ । त्यसो गरे वापत महिनाको ५ सय पाउथेँ । त्यहाँ भएन भनेर अर्को घरमा उही काम थालेँ त्यहाँ पनि पाँच सय नै हात लाग्यो । धन सम्पत्ति भएकाको घरमा काम गर्दा धेरै दुःख भोग्नुप¥यो । हामी गरिब त मान्छे नै होइन जस्तो व्यवहार गर्ने उनीहरू ।’ हिजोआज उनलाई कसैको विश्वास लाग्दैन । अरू ठगिएका र धोका पाएका कथा सुनेर उनी आफू सचेत बनेको बताउँछिन् ।

उनलाई फुटपाथमा बस्न डर लाग्छ । कुनै दिन कमाइ नभए भोकै बस्नुपर्ने हुन्छ । उनको छेउमै अन्दाजी २५–३० वर्षको युवती माग्न बसेकी थिइन । सडकमा गुडिरहेका गाडीको भन्दा ठूलो आवाज पारेर चिच्यिाउँदै ती महिलाले फुटपाथमै खेलिरहेका आफ्ना सन्तानहरूलाई हर्काउँदै थिइन् । ती महिलाको शरीरमा एउटा पातलो झुत्रे लुगा थियो । साथमा तीनवटा सन्तान सबै अर्धनग्न अवस्थामा खेलिरहेका थिए ।

उनीहरूका खुट्टा पनि खाली थिए । चिसोको अनुभूति त तिनलाई पनि पक्कै भएको होला । तर, के गर्ने आफूसँग चिसो छेक्ने सामथ्र्य नभएपछि ! माग्न बस्ने ती महिलाको उमेर हेर्दा काम गरेर खान सक्ने अवस्थाकी थिइन् । तर, उनीसँग सीप नभएर सडकमा माग्न बसेको उनले बताइन् । यद्यपि, मागेर खानमा चाहिँ सिपालु देखिन्थिन् । काठमाडौंका सडकमा यस्ता बग्रेल्ती भेटिन्छन् ।

उमा बस्ने अर्कोतर्फ २४–२५ वर्षको जस्तो लाग्ने युवा लम्पसार परेर बसिरहेको थियो । उनको हुलिया पनि तिनै माग्ने महिलाको जस्तै थियो । उमाले ती युवातिर देखाउँदै भनिन्, ‘त्यो केटो यहीँ बस्छ । सानोमा पकेटमार थियो रे । पछि गएर प्रहरी र अरूको कुटाइ खाएपछि उसको मानसिक सन्तुलन बिग्रियो रे, नयाँ फुटपाथमा बस्नेहरूसँग ऊ डराउँदैन । तर, प्रहरी देख्यो भने डराउँछ । हामीसँग पनि डराए जस्तो गर्छ अरूसँग डराउँदैन । कसैको हातमा पैसा देख्यो भने खोसेर लैजान्छ । सुरुसुरुमा मलाई पनि यी देखेर डर लाग्थ्यो । पछि थाहा पाएँ उसको मानसिक समस्या ।’ उनले आफूसँगै वरपर बस्नेहरूको पनि वास्तविकता सुनाउन भ्याइन् ।

उमा एउटा उदाहरणकी पात्र मात्र हुन् । उनीसँग मान्छेको मन, उनीहरूमाथि गरिने विश्वास र रुपैयाँ नाप्ने तराजु नभए पनि मान्छेको तौल नाप्ने एउटा डिजिटल तराजु छ । जुन उनका लागि आशा र भरोसा गर्ने माध्यम हो । उमाजस्तै तराजु तेस्र्याएर बस्नेहरू लस्करै भेटिन्छन् काठमाडौं मुख्य फुटपाथ र चोकहरूमा । फुटपाथमै भए पनि केही न केही काम गरी खानुपर्छ भन्ने भावना उमाजस्ता सयाैँ मान्छेमा छ ।

उनी मात्रै होइन उनको छेवैमा बसेर मागी खाने वा ती मानसिक सन्तुलन गुमाएका युवा सबै बाँच्ने कुनै आधार नभएर नै सडकमा पुगेका हुन् । उनीहरूका अघि भरपर्दो अरू कुनै उपाए भएको भए किन जाँदा हुन सडकमा ! उनीहरूको पनि जीवन सजिलै जिउने र केटाकेटीलाई शरीर ढाक्ने न्याना कपडा लगाएर स्कुल पठाउने रहर थियो होला । रहरले मात्रै जीवन चल्दैन जीवन चलाउन आधारभूत आवश्यकता पूरा गर्नेपर्छ जुन कुरा उनीहरूसँग छैन र सडकमा बाँच्ने आधार खोज्दै छन् ।

आफूले पढ्न नपाएका कारण उमालाई दुःख लागेको छ । त्यसैले, उनको सपना छ, आफ्ना दुई सन्तानलाई राम्रोसँग पढाउने र उच्च शिक्षा दिने जसले उनीहरूको भविष्य आफ्नो जस्तो लथालिंग नहोस् । त्यसका लागि उनी जस्तोसुकै दुःख भोग्न पनि तयार छिन् । छोराछोरीका लागि उनलाई आफूले भोगेका दुःख सामान्य जस्तै लागेको बताइन । कुन चाहिँ अमालाई सन्तान टाढा राखेर एक्लै बस्न मन होला र उमाले पनि सन्तानका भविष्यका लागि सडकमा एक्लै संघर्ष गर्दै छिन् ।

काठामाडौं सहरमा मान्छेले जीवनका आशा धेरै भएको ठान्छन् । यहाँ बस्ने सबै खुसी र सुखी भएको ठान्नेहरू धेरै छन् । त्यसैले, त मान्छेहरू हरेक दिन यहाँ थपिने गरेका छन् । तर, के थाहा यहाँ बस्नेहरूको कथा र व्यथा ? सबैको बाँच्ने वैकल्पिक आधार बनेको कान्तिपुरीमा कष्ट कति छ भोगेपछि मात्रै थाहा हुन्छ ।

जाडोमा कठांग्रिदै हात मुख जोड्न संघर्ष गर्नेदेखि अरूलाई शोषण गरेर मोजमस्तीमा रमाउनेहरू पनि यही सहरमा छन् । ओत लाग्नका लागि एउटा कोठा भाडामा लिन नसक्ने र जिउ ढाक्ने कपडा नभएका, एक छाक पेटभरि खान नपाएका र गगनचुम्बी महलमा बसेर तिनै गरिबका छोराछोरीलाई काममा जोताएर विलासिताको जीवन बाँच्नेहरूको साझा सहर हो यो काठमाडौं । जहाँ उमाजस्ता धेरैले संघर्ष गरिरहेका छन् ।

प्रतिक्रिया