एउटै काम फरक ज्याला !

ओखलढुंगामा लिङ्गको आधारमा ज्यालामा विभेद छ । गलत संस्कृति र लैंगिक विभेदका कारण महिला र पुरुषबीच ज्यालामा भिन्नता रहेको हो । दिनभरि पुरुषले हलो जोते ८ सय कमाउँछन् । भने दिनभरि महिलाले कोदालो खने पुरुषको भन्दा आधा अर्थात् ४ सय मात्र पाउँछन् । लिङ्गकै आधारमा महिला र पुरुषमा ज्याला असमान हुँदा गरिबीको रेखामुनि रहेका दलित तथा जनजाति महिला थप मारमा पर्ने गरेका छन् ।

ओखलढुंगा टारकेराबारीकी पार्वती विश्वकर्मा उमेरले ३० नाघिन् । उनी गाउँघरमै मजदुरी गर्छिन् । दैनिक ज्याला मजदुरी नगरे उनको चुलो बल्दैन । अरू कुनै सीपमूलक काम जानेकी पनि छैनन् । दिनभरि ज्याला मजदुरी गरेबापत उनले ३ सयदेखि ७ सय रुपैयाँ कमाउँछिन् । तर, उनीसँगै गाउँमा मजदुरी गर्ने गणेशबहादुर विश्वकर्माले पाउने ज्याला भने उनको भन्दा दोब्बर बढी रहेको छ ।

चलन चल्तीमा गाउँघरमा दैनिक ज्याला ८ सयदेखि १ हजार ५ सयसम्म चलेको छ । पार्वतीले भने दिनभर परिश्रम गरेर पनि त्यति ज्याला पाउँदिनन् । उनी दिनको ४ सयदेखि ७ सयसम्म ज्याला पाउँछिन् । कारण, उनी महिला हुन् । महिलाको ज्याला पुरुषको जति हुन्न भन्ने गलत सोच हट्न नसकेका काण पार्वतीले पुरुष मजदुरको तुलानामा निकै कम ज्याला पाउने गरेकी हुन् ।

‘लोग्ने मान्छेभन्दा बढी नै काम गर्छौँ । तर, महिलाले लोग्नेमान्छे बराबर काम गर्न सक्दैनन् भनेर कम पैसा दिन्छन,’ पार्वतीले भनिन् । उनले आफूले पुरुषको तुलनामा कम ज्याला पाउँदा दुःख लाग्ने गरेको बताइन् । उनले भनिन्, ‘आफूसरह काम गर्ने पुरुषले आफ्नोभन्दा दोब्बर ज्याला पाउँदा ममाथि अन्याय भो भन्ने लाग्छ ।’

आफ्नो जमिनको अन्नले तीन महिना पनि खान नपुग्ने भएपछि लिखु गाउँपालिका–६ गाम्नाङटारकी सरिता भुजेल आफूले जानेदेखि नै ज्यालादारी गर्दै आएकी छिन् । तर, अहिलेसम्म पनि आफूसँगै काम गर्ने पुरुषसरह ज्याला नपाएकोमा उनलाई निकै दुःख लाग्छ ।

‘दैनिक खेतबारीमा काम गर्दा पुरुषभन्दा हामी महिलाको काम बढी हुन्छ । तर, पनि पुरुषले ६ सय पाउँदा हामीले ३ सय मात्रै पाउँछौँ’ सरिता भन्छिन्, ‘अरूको के कुरा गर्नु, मसँगै खेतबारीमा मेरा पति पनि ज्याला मजुदरी गर्छन् । पैसा थाप्दा उनको पैसा मेरोभन्दा दोब्बर हुने गरेको छ ।’ एउटै काम गर्दासमेत आफूभन्दा पनिको कमाइ धेरै हुँदा हेपिएको महसुस हुने उनले बताइन् ।

सिद्धिचरण नगरपालिका–७ कि माङङिमा शेर्पा पनि सदरमुकाम आसपासमा पक्की घर निर्माण गर्ने काममा व्यस्त देखिन्छन् । उनमा पनि एउटै काम गरेबापत पुरुषले पाउने भन्दा कम पैसा पाउने गरेकोमा ठूलो हिनताबोध छ । माङङिमा दैनिक ज्यालादारी गर्दा ५ सय पाउँछिन् । तर, उनीसँगै काम गर्ने बेतिनी रुप्सेका डम्बर बिकले भने दैनिक १ हजार कमाउँछन् ।

माङङिमा, डम्बर, सरिता, गणेश, पार्वतीलगायत दैनिक ज्याला मजदुरीमा काम गर्ने महिला पुरुषको कामको प्रकृति एउटै हो । तर, ज्याला किन फरक त ? भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ कसैसँग छैन । यद्यपि, महिलाभन्दा पुरुषको इज्जत र ओहोदा ठूलो छ भन्ने गलत सोचका कारण महिलाले समान काममा पनि पुरुषसरहको ज्याला पाउन नसकेका हुन् ।

एक निर्माण व्यवसायीले ठेक्काको काम सकिएपछि महिला कामदारहरूलाई प्रोत्साहन स्वरूप १ हजारदेखि २ हजारसम्म दिने गरेको बताए । बरू प्रोत्साहन स्वरूप हजार २ हजार नदिएर पुरुषसरहको ज्याला चाहिँ किन दिनु हुन्न भन्ने प्रश्नमा भने वर्षौंदेखि चलिआएको चलन आफूले मात्रै तोड्न नसकेको उनले बताए ।

महिला मजदुरहरू आफूभन्दा कम श्रम गर्ने पुरुषले ज्याला बढी पाउने तर आफूहरूले भने दिनभरि गिट्टी, बालुवा बोक्ने काम गरे पनि पुरुषसरह ज्याला नपाउने अवस्थाको अन्त्य खोजिरहेका छन् । मजदुर पार्वती विश्वकर्माले भनिन्, ‘बोल्नेले बोलिदिन्नन, हाम्मीले बोलेको कसले सुन्छ र ? अन्याय त भएकै छ ।’

जिल्लामा ज्याला निर्धारण समितिले आर्थिक वर्ष ०७४-७५ मा दक्ष कामदारका लागि ७ सय ७० र ज्यामीका लागि ५ सय ५५ ज्याला निर्धारण गरेको छ । आर्थिक वर्ष ०७५-७६ का लागि दक्ष कामदारलाई ८ सय ५४ र ज्यामीलाई ६ सय १० प्रस्ताव गरेको भए पनि कृषि क्षेत्रमा काम गर्ने कामदारका लागि महिलालाई ४ सय र पुरुषलाई ८ सय दिने गरेको पाइन्छ ।

निर्माण व्यवसायीहरूले घर निर्माण तथा अन्य काममा पुरुषका लागि १ हजार देखि १ हजार ५ सयसम्म र महिलालाई ६ देखि ७ सय रुपैयाँसम्म दिइएको पाइन्छ । ओखलढुंगामा न्युनतम ४ सय ४० देखि ८ सय ४५ सम्म सरकारी ज्याला निर्धारण गरिएको छ । यद्यपि, सरकारी ज्यालामा कुनै पनि स्थानमा मजदुरले काम भने गरेको पाइन्न ।

समयअनुसार निर्माण व्यवसायीको कार्यको अनुगमन गरे पनि ज्यालाको कुरा छायाँमा परेको र समान काममा असमान ज्याला प्रदान गरिएको भनी कसैले गुनासो गरे कारबाही गरिने ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताइन् ।

जिल्लाको लिखु गाउँपालिका–६ मा आमा समूहको सक्रियतामा महिला पुरुष दुवैैलाई समान ज्यालाका लागि चेतनामूलक कार्यक्रमहरू गरिने भएको छ । समान काममा पनि महिला र पुरुषबीच असमान ज्याला भएका कारण स्थानीय स्तरमा चेतनामूलक कार्यक्रम गरिने भएको हो ।

कानुनले लिङ्गकै आधारमा ज्यालामा विभेद गर्न नपाइने व्यवस्था गरे पनि व्यवहारमा त्यो लागू हुन सकेको छैन । पुरातनवादी गलत सोच र पुरुषवादी समाजको बाहुल्यताका कारण समान कामको समान ज्याला हुनुपर्छ भन्नेहरूले नै असमान ज्याला दिने गरेको श्री ग्रामोदय युगकवि सिद्धिचरण क्याम्पसकी उपप्राध्यापक नेत्रकुमारी पौडेलको भनाइ छ ।

महिलाको नाममा अर्बौं खर्च गर्ने सरकारी तथा गैरसरकारी निकायले कानुन कार्यान्वयन भए नभएको कुराको अनुगमन नगर्दा बनेका कानुन कागजमै सीमित भएको र यो अवस्थाको अन्त्य हुन नसकेको उपप्राध्यापक पौडेल बताउँछिन् ।

लिखु गाउँपालिका–६ का वडा अध्यक्ष टीकाराम क्याप्छामकी मगरले विशेषगरी खेतीको समयमा मजदुरहरू बढी आवश्यक हुने ग्रामीण भेगमा यो सालदेखि चेतनामूलक कार्यक्रमहरू गरी समान काममा समान ज्याला निर्धारण गर्न अभियान चाल्ने प्रतिबद्धता गरे ।

कसैले समान काममा असमान ज्याला दिएमा स्थानीय न्यायिक समितिमा उजुरी गर्नसमेत मगरले आग्रह गरेका छन् । ‘समान काममा असमान ज्याला दिएको उजुरी आएको खण्डमा कसैलाई पनि छुट दिने छैनौँ । कानुनी कारबाहीका लागि सिफारिस गर्नेछौँ’ वडा अध्यक्ष मगरले भने ।

ओखलढुंगामा पुरुष कामदारभन्दा महिला कामदार बढी देखिन्छन् । ग्रामीण भेगका अधिकांश परिवारमा पुरुषहरू सहर पलायन भएकै कारण हरेक काममा महिला खट्नु परेको छ ।

निर्माण व्यवसायीहरूले समेत दुई जना मिस्त्रीका लागि एक जना हेल्पर पुरुष र पाँचदेखि सात जना ज्यामी महिलाहरू नै लगाएको पाइन्छ । रोजगारीको सिलसिलामा पुरुषहरू गाउँबाट पलायन हुन थालेपछि महिला मजदुरहरूको संख्या ह्वात्तै बढेको वडाध्यक्ष टीकाराम क्याप्छामकी मगरले बताए । मगरका अनुसार जिल्लाका ग्रामीण भेगमा हलो जोत्नदेखि लिएर पुनर्निर्माणमा समेत महिलाहरू प्रशस्त मात्रामा खटेका छन् ।

युवा तथा पुरुषहरू अध्ययन तथा रोजगारीका लागि सहर अनि विदेश पलायन हुन थालेसँगै हरेक क्षेत्रमा महिला कामदारहरूको संख्या बढेको भए पनि जिल्लामा महिला मजदुरको संख्या यति नै छ भन्ने एकिन तथ्यांक (अभिलेख) भने नरहेको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताइन् ।

विशेषगरी, खेतीपाती लगाउने र भित्र्याउने समयमा कामदारहरूको आवश्यकता हुने हुँदा यो समयमा पनि महिलाहरू नै बढी काममा खटिएको पाइएको प्रमुख जिल्ला अधिकारी न्यौपानेको भनाइ छ ।

जिल्लामा निजी स्वामित्वमा रहेका विद्यालय (निजी विद्यालय) मा शिक्षकका रूपमा महिला, सहकारी तथा वित्तीय संघ संस्थाहरूमा महिला, विभिन्न गैरसरकारी संघ-संस्थाहरूमा कार्यालय सहयोगीदेखि फिल्ड कर्मचारी र कार्यालय प्रमुखका रूपमा महिला, होटल तथा रेस्टुराँहरूमा वेटरदेखि भान्से महिला र खेती किसानी तथा कृषि फार्महरूमा दैनिक ज्यालादारी गर्नका लागि काम गर्ने श्रमिक महिलाहरू नै धेरै रहेको प्रजिअ न्यापानेले बताइन् ।

एकताका रेडियो कार्यक्रममार्फत स्रोतामाझ निकै लोकप्रिय सानु लामाले अरूका बारेमा समाचार लेख्ने सञ्चार गृहमै महिला र पुरुषबीच समान ज्याला नभएको बताइन् ।

रेडियोमा कार्यक्रम चलाउनेदेखि प्राविधिकसम्मको जिम्मेवारी निर्वाह गर्दासमेत काम अनुसारको तलब नपाएपछि पत्रकारिता रुचिको विषय हुँदाहुँदै पनि धेरै पत्रकार महिलाले पेसाबाट पलायन हुनुपरेको तीतो अनुभव सुनाइन् उनले ।

‘अरू पेसाका मान्छेका बारेमा समाचार लेख्ने, कार्यरत संस्थाले नियुक्तिपत्र दिएन भन्ने, समान पारिश्रमिक दिएन भन्ने सञ्चार माध्यममै महिला र पुरुषबीच समान कामको असमान ज्याला छ’ रमाइलो सामुदायिक रेडियोमा समाचार सहायकको रूपमा काम गरेकी मुना खतिवडाले भनिन् । नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाका कोषाध्यक्ष बोधनारायण श्रेष्ठ सबैभन्दा बढी महिलाको श्रम शोषण निजी क्षेत्रमा नै हुने गरेको दाबी गर्छन् ।

मजदुर महिलालाई महिना बित्नासाथ तलब नदिने, कम्पनी तथा निजी क्षेत्रमा नियुक्तिपत्र नदिने, तोकिएको बिदा पनि नदिने चलन रहेको छ । कामदार महिला र निजी क्षेत्रको सम्बन्ध कामदार र व्यवस्थापक नभई मालिक र मजदुरको जस्तो रहने गरेको श्रेष्ठले बताए ।

श्रम ऐन ०७४ को दफा ६ मा ‘रोजगारदाताले श्रमिकलाई धर्म, वर्ण, लिङ्ग, जातजाति, उत्पत्ति, भाषा वा वैचारिक आस्था वा अन्य त्यस्तै आधारमध्ये कुनै कुराको आधारमा भेदभाव गर्न पाइने छैन’ भन्ने उल्लिखित गरिएको छ । सोही ऐनको दफा ७ मा समान कामका लागि पारिश्रमिकमा भेदभाव गर्न नहुनेः (१) लिङ्गको आधारमा श्रमिकबीच समान मूल्यको कामका लागि पारिश्रमिकमा भेदभाव गर्न हुँदैन । भन्ने लेखिएको छ ।

श्रम ऐन ०७४ को दफा २८ मा ‘रोजगारदाताले श्रमिकलाई प्रतिदिन आठ घण्टा र एक हप्तामा ४८ घण्टाभन्दा बढी समय हुने गरी काममा लगाउन पाइने छैन’ भन्ने पनि लेखिएको छ । दफा २८ को उपदफा (२) मा श्रमिकलाई लगातार पाँच घण्टा काम गरेपछि आधा घण्टा विश्रामको समय दिनुपर्नेछ भनिएको छ भने उपदफा (३) मा काम रोक्न नहुने तथा लगातार काम चलाइरहनुपर्ने भएमा श्रमिकलाई त्यस्तो विश्रामको समय आलोपालो गरी दिनुपर्नेछ । भन्ने उल्लिखित गरिएको भए पनि कानुन कार्यान्वयनको पाटो त परको कुरा नियमित अनुगमनसमेत भएको पाइँदैन ।

कानुनमा उल्लिखित भएबमोजिम ज्याला नदिए, महिला भएकै आधारमा ज्यालामा विभेद भए कानुनबमोजिम कारबाहीसमेत हुने प्रमुख जिल्ला अधिकारी न्यौपानेको प्रतिबद्धता छ । (महिला खबरबाट)

प्रतिक्रिया