श्रीस्वस्थानी कथामा ‘लावण्य देश’ को नामबाट चित्रित शंखरापुरमा पर्यटकीय विकासको सम्भावना बढ्दै गएको छ । काठमाडौँ जिल्लामै रहेर पनि ओझेलमा परेको यस क्षेत्रमा ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेका क्षेत्रका साथै जहरसिंह पौवा वनभोजस्थल, देउरालीमा सञ्चालित प्याराग्लाइडिङ र स्थानीय होटेल खुलेसँगै पर्यटकीय चहलपहल बढेको हो ।
काठमाडौंको रत्नपार्कबाट १८ किलोमिटरको दूरीमा रहेको साँखुसम्म मोटरबाटोको स्तरोन्नति भएमा शंखरापुर अन्तर्राष्ट्रिय पर्यटक बढाउन सहज हुने देखिएको छ ।
काठमाडौंबाट उत्तर शालिनदी, साँखु, मणिचुड, बज्रयोगिनी, इन्द्रायणी सलम्बुदेवी, विश्वम्भरा नारायणजस्ता धार्मिक क्षेत्रका कारण यहाँ
बर्सेनि धार्मिक पर्यटकको वृद्धि हुँदै छ । ती क्षेत्रलाई थप विकास गर्दै प्राकृतिक पहाडी वन जंगल, मणिचुड, झुले देउराली, जहरसिंह पौवा र थाना भञ्ज्याङलाई पर्यटकीय र धार्मिक क्षेत्रका रूपमा विकसित गर्न शंखरापुर नगरपालिकाले बजेट विनियोजन गरेपछि थप पर्यटकीय विकास हुने सम्भावना देखिएको छ ।
स्वयम्भू, बौद्ध, मणिचुड, बज्रयोगिनी र काभ्रेको नमोबुद्धसम्म बौद्ध परिपथका रूपमा विकास गर्न पनि नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन बनाउन थालेको बताइएको छ ।
०६८ सालको जनगणनानुसार २५ हजार ३ सय ३८ जनसंख्या रहेको र ६० दशमलव २१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको ३ हजार ३ सय वर्षअगाडि बनेको शंख आकारको यो सहर मौलिक पाँच ढोकाका कारणले पनि परिचित छ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लासँग जोडिएको शंखरापुर नगरपालिकाको वनभोजस्थल जहरसिंह पौवामा नगरपालिकाले हिमाल र सूर्याेदय अवलोकनका लागि हालै बनाएको स्तम्भका कारण पनि यहाँ चहलपहल बढेको छ । यसका साथै थाना भञ्ज्याङमा केबुलकार सञ्चालनको पनि पहल हुँदै गरेको छ ।
कुल भूभागको ३६ प्रतिशत जंगल रहेको शंखरापुरमा जंगल सफारी, बंगुरपालन, हाइकिङ, साइक्लिङ, चामल र आलुको बजार विस्तारजस्ता काममा पनि नगरपालिकाले पहल जानकारी गराएको छ ।
नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले विनाशकारी भूकम्पमा थिलथिलो भएका सम्पदा र भवनको पुनर्निर्माण गर्दै पर्यटनलाई पहिलो प्राथमिकता दिएर नगरवासीलाई समृद्धि दिन आफूहरू लागि परेको बताए । ०७२ सालको भूकम्पमा यस नगरपालिकामा १ सय ८ को मृत्यु भएको थियो भने ६ हजार घर ध्वस्त भएका थिए ।
उनले मौलिकता झल्कने घरको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिने अनुदानमा नगरपालिकाका तर्फबाट थप १ लाख रुपैयाँ दिने नीति लिइएको जानकारीसमेत दिएका छन् ।
नगरपालिकाले चीनको ल्हासा नगरपालिका र अन्तर्राष्ट्रिय बौद्ध पर्यटन केन्द्रको सहयोगमा चाँपाबोट र चिहानडाँडामा स्रङ्चङ् गम्पो र भृकुटीको पार्क बनाउन पनि बजेट विनियोजन गरेको छ । नगर क्षेत्रभित्रको धार्मिक, सांस्कृतिक, पर्यावरणीय पर्यटनको सम्भाव्यता उजागर गर्न नगरस्तरीय एकीकृत पर्यटकीय गुरुयोजना तयार गरिने प्रमुख श्रेष्ठले बताए ।
छिमेकी कागेश्वरी मनहरा र गोकर्णेश्वर नगरपालिका सम्मिलित अन्तरनगर समन्वय समितिको पहलमा तारेभिरदेखि जहरसिंहपौवा कात्तिकेसम्म साइक्लिङ र पदमार्ग निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढेको छ ।
शंखरापुर होटेल एसोसिएसनका अध्यक्ष सुमन थापाका अनुसार हालसम्म सो क्षेत्रमा होटल व्यवसायका लागि १ अर्ब ६५ करोडको लगानी भइसकेको छ । यहाँका ३८ होटलमा गरी ५ सय कोठाको क्षमता छ । चाँडै केही पाँच तारे होटल बन्ने तयारीमा छन् । स्थानीय घरबास (होमस्टे) सञ्चालनका लागि पनि तयारी भइरहेको छ ।
देउरालीस्थित शंखरापुर प्याराग्लाइडिङ प्रालिका सञ्चालक कुशल थापाले नियमित सञ्चालनका हिसाबले प्रदेश–३ कै पहिलो प्याराग्लाइडिङ आफूले सञ्चालन गरेको र गतवर्ष ३ सय पर्यटकले मनोरञ्जन लिएको बताए ।
शंखरापुर खेलकुद विकास समितिका अध्यक्ष बद्रिप्रसाद चौलागाईंले खेल, पर्यटन र विकासलाई जोडेर स्थानीय युवाको भावनाको साथ लिएर नगरको समृद्धिका वातावण बनाउन थालिएको जानकारी दिए । समितिले शनिबार प्रथम मेयर कप फुटबल प्रतियोगिताको समापन गरेको थियो ।
प्रतिक्रिया