खाडीको बाटो बन्द हुन सक्छः रुहानी

तेहरान । इरानी राष्ट्रपति हसन रुहानीले अमेरिकी प्रतिबन्धको विरोध गर्दै फेरि पनि खाडीको बाटो बन्द गरिदिने चेतावनी दिएका छन् । ‘यो कुरा अमेरिकालाई थाहा हुनुपर्छ, इरानबाट निर्यात हुने तेल रोक्न सकिँदैन । अमेरिकाले तेल रोक्ने कोसिस गर्यो भने फारसको खाडीबाट तेल निर्यात हुने छैन’, राष्ट्रपति रुहानीले भने । इरानले यस्तो कदम उठाएको खण्डमा अमेरिकासँग टकरावको स्थिति उत्पन्न हुन सक्नेछ ।

स्पष्ट छ, खाडीका कतिपय मुलुक यही बाटोबाट कच्चा तेल अधिका मात्रामा निर्यात गर्दै आएका छन् । खाडी देशमा बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब तथा संयुक्त अरब इमिरेट्स सामेल छन् । इरानले यदि फारसको खाडीमा व्यापार ठप्प पारिदियो भने साउदी अरबबाट हुने व्यापारमा पनि ठूलो असर पक्कै पनि पर्नेछ । वर्तमानमा साउदी अरब संसारभर तेल निर्यात गर्ने सबैभन्दा ठूलो देश हो । सन् १९८० देखि १९८८ को समयमा पनि यो खाडी विवादको विषय बनेको थियो । यही सिलसिलामा त्यसबखत दुवै देशले एकअर्काको तेल बोकेर हिँडिरहेको जहाजमा हमला गरेका थिए ।

सन् १९८० पश्चात् खाडीबाट तेल निर्यात क्रमलाई रोक्ने धम्की इरानले धेरै पटक दिइसकेको छ । अन्तर्राष्ट्रिय दबाबका कारण इरानले धम्की दिँदै आए पनि त्यसलाई लागू गर्न भने सकेको छैन । सन् २०१५ मा तेहरानको परमाणु सम्झौताबाट अलग भएपछि अमेरिकाले इरानमाथि दोस्रोपटक प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्धले इरानबाट तेल निर्यातको काम बन्द हुनुपथ्र्यो, तर आठ देशमा इरानबाट तेल आयात गर्न छुट दिइएको थियो ।

राष्ट्रपति रुहानीले गत जुलाइमा पनि खाडीको बाटो बन्द गर्ने चेतावनी दिएका थिए । उनले यस्तो प्रतिबन्धले मुलुकको अर्थव्यवस्थामा घाटा पर्ने कुरालाई अस्वीकार गर्दै सञ्चार माध्यमले सम्भावित असरलाई बढाइचढाइ गरेको आरोपसमेत लगाएका थिए । उनले भनेका थिए, ‘यसबाट कुनै पनि प्रकारको मन्दी वा बेरोजगारी उत्पन्न हुने छैन । पत्रकारहरूले अखबारमा यस्ता कुरा लेख्न बन्द गर्नुपर्छ ।’

रुहानीले यस्तो कदमबाट केही समस्या उत्पन्न भएको स्वीकार गर्दै डिसेम्बरमा प्रस्तुत हुने नयाँ बजेटबाट त्यसको समाधान गरिने बताएका थिए । उनले भने, ‘सरकारले सबैखाले छुट कायम राख्नेछ र सरकारी कर्मचारीको तलब तथा पेन्सनमा २० प्रतिशत वृद्धि गर्नेछ ।’ (नवभारत टाइम्सबाट)

प्रतिक्रिया