मत-विमत

पौराणिक कालमा विवाह महोत्सव

सन्दर्भः विवाह पञ्चमी

विश्वनाथ खरेल २०७५ मंसिर २४ गते ७:३६ मा प्रकाशित

संसारमा एक मात्र हिन्दू राष्ट्र नेपाल हो । हाम्रो देशमा धार्मिक एवं सांस्कृतिक विविधता रहेको छ । यहाँ विभिन्न जातजाति र धर्मका मानिस बस्दै आएका छौँ । विभिन्न धर्म मान्ने मानिसहरू विभिन्न चाडपर्व मनाउँछौँ । त्यसमध्ये विवाह पञ्चमी मेला पनि एक हो । यो चाड विशेषगरी, जनकपुरधाममा मनाउने गरिन्छ । प्रत्येक जात्रा तथा मेलाको आफ्नै विशेषता र महत्व हुन्छ ।

प्रत्येक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन जनकपुर धाममा मनाइने विवाह पञ्चमी मेला हो । यस मेलामा नेपालको मात्र नभएर छिमेकी मित्रराष्ट्र भारतबाट हजारौँ श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । यस अवसरमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्र र आदर्श नारी सीताको विवाह महोत्सवका रूपमा मनाइने विवाह पञ्चमी मेला अरू ठाउँमा पनि मनाइने भए पनि जनकपुरधाममा लाग्ने मेला विशेष प्रकारको हुन्छ ।

त्रेतायुगमा अध्योध्याका राजा दशरथका पुत्र रामचन्द्र र जनकपुरका राजा जनककी पुत्री सीताको विवाह जनकपुरधामको विवाह मण्डपमा भएको थियो । अहिले पनि विवाह महोत्सवको गहिरो सम्झना दिलाउन विभिन्न किसिमका धार्मिक विधिबाट यो पर्व सम्पन्न गरिन्छ । यस पर्वका वेला छिमेकी मुलुक भारतका बिहार, उत्तरप्रदेश, मध्यप्रदेश, पश्चिम बंगाल र राजस्थान आदि ठाउँबाट लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरूको भिड लाग्ने गर्दछ ।

विवाह पञ्चमीका दिन जनकपुरका गंगा सागर, धनुष सागर र अरगजा सागर लगायतका धार्मिक एवं पवित्र पोखरीहरूमा स्नान गरी जानकी मन्दिर र रामन्दिरलगायत विभिन्न मन्दिरहरूको पूजा, अर्चना गर्दछन् । बेलुकीपख स्थानीय रङभूमि मैदानमा आयोजना गरिने रामजानकी स्वयम्वर समारोहमा असंख्य भक्तजनहरू भेला हुन्छन् । उक्त अवसरमा भारतको अयोध्या राममन्दिरबाट जन्तीका रूपमा आएका साधु तथा सन्तहरू, ऋषि, मुनि र महन्त पनि आउँछन् ।

हाम्रो देश धर्म र संस्कृतिमा ज्यादै नै धनी रहेको छ । त्यसैले, होला कि वैदिक कालमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्र र आदर्श नारी जानकीको विवाह त्रेतायुगमा जनकपुरमै भएको थियो । तत्कालीन मिथिला राज्यका राजा जनकको राज्यमा भोकमरी परको थियो ।

त्यसवेलाका ऋषिमुनिहरूको राय सल्लाहअनुसार राजर्षि जनकले हलो जोतेका थिए । उनले हलोे जोत्दाजोत्दै हलोको सियोबाट एक सुयोग्य कन्याको उत्पत्ति भयो । तिनै कन्यालाई जानकी भनिन् थालियो । ती कन्या बिस्तारै किशोरी अवस्थामा पुगिन । एकदिनको कुरा हो राजा जनकको पूजा कोठामा शिवधनुष जानकीले एक हातले उठाएर भुइँ पुछ्दै गरेका राजाले देखेर राजा छक्क परे र उनले मनमनै कल्पना गरे यिनी त सामान्य नारी होइनन् यिनका लागि त वीर पुरुष नै वर आवश्यकता पर्दछ भन्ने कुरा विचार गरी एउटा प्रस्ताव राखे ।

यदि, जसले यिनीसँग विवाहको प्रस्ताव राख्न आउँछ उसले शिवधनुष उठाएर भाँच्न सकोस् त्यस्तो व्यक्तिसँग मात्र यिनको विवाह योग्य हुन्छ, भन्ने प्रस्ताव राखेर यो कुरा सबै ठाउँमा प्रचारप्रसार गर्न लागे । आफ्नो प्रतिज्ञाअनुसार जानकी वर चयन गर्न जो कोही आएमा उसले शिवधनुष भाँच्न सक्ने प्रस्तावअनुसार धनुषयज्ञको आयोजना गरे । उक्त यज्ञमा भाग लिन देश विदेशबाट राजा, रजौटा, महाराजा, राजकुमार, वीर, पुरुषहरूको आमन्त्रण गरियो ।

त्यसै समयमा गुरुकुलमा शिक्षा आर्जन गर्न आएका अयोध्याका राजा दशरथका छोराहरू रामचन्द्र र लक्ष्मणको पनि उपस्थिति थियो । त्यसैवेला मिथिलाका (जनकपुर) का राजा जनककी पुत्री सीताको स्वयम्वर हुन लागेको थाहा भयो । जानकीको स्वयम्वरको तयारी पूरा सहरभरि नै हल्लाखल्ला चलेको थियो । त्यसवेला जनकपुर नगरीमा खुसियाली छाएको थियो । पृथ्वीभरिका राजकुमारहरू त्यहाँ जम्मा भएका थिए ।

विश्वामित्रले राम र लक्ष्मण राजकुमार भएको र उनीहरू पनि स्वयम्वरमा भाग लिन आएको खबर राजा जनकलाई दिए । अरू राजकुमारजस्तै राम र लक्ष्मणलाई पनि भव्य स्वागत भयो । त्यसपछि स्वयम्वरको वेला सुरु भयो । त्यहाँ धेरै राजकुमारहरू उपस्थित भएका थिए । त्यसपछि राजा जनकले शिव धनुषको बारेमा सबैलाई जानकारी गराए । जसले शिवधनुषलाई उठाएर ताँदो राख्न सक्छ उसैलाई मेरी छोरी सीताको विवाह गरिदिनेछु भन्ने प्रतिज्ञा गरे ।

सो कुरा सुनेर सबै वीरहरूले आआफ्नो बुद्धि, ज्ञान अन्माए तर धनुषलाई डगाउन पनि कसैले सकेनन् । त्यसपछि विश्वामित्रले रामलाई धनुष चलाउने आज्ञा दिए । सो गुरुको आज्ञालाई शिरोधार्य गरी श्रीरामले धनुष उचालेर ताँदो चढाउन लाग्दा धनुष भाँचिएर तीन टुक्रा भयो । यसबीचमा लक्ष्मण र परशुरामको ठूलो विवाद पनि भयो । तर, रामले दुवैलाई शान्त पारे । परशुरामको शक्ति खिचेर आफूले लिए ।

त्यसपछि जानकीले रामलाई नै वरमाला पहिराइन् । त्यसपछि राजाले शुभ लगन हेरी मार्ग शुक्ल पञ्चमीका दिन अयोध्याबाट जन्तीका साथ आएका भगवान् राम र जनक नन्दिनी जानकीको विवाह मार्ग शुक्ल पञ्चमीका दिन जनकपुरधाममा सुसम्पन्न भयो । त्यसरी रामको साीतासँग विवाह सम्पन्न भयो । केही दिन मिथिलामा बसेपछि राजा जनकले राम, लक्ष्मण र सीतालाई ठूलो सम्मानका साथ विदाइ गरे ।

धर्म र संस्कृतिमा बाहुल्य रहेको हाम्रो देशमा प्रत्येक दिनजसो एक न एक पर्व, चाड, उत्सव या मेलाहरू परेको नै हुन्छ । समग्रमा भन्नुपर्दा हिन्दूहरूका लागि यो महान् पर्व तथा मेला हो । त्यसैगरी, हरेक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन जनकपुरधाममा मनाइने विवाह पञ्चमीको पर्व महत्वपूर्णको हुन्छ । त्यसैले, गर्दा यो दिन विवाह पञ्चमीको दिनले अहिलेसम्म पनि हिन्दू धर्मावलम्वीहरूले मनाउँदै आएका छन् ।

अरू सामान्य व्यक्तिले पनि यस दिनलाई शुभ मुहूर्तको रूपमा विवाह गर्ने चलन अद्यावधिक रहेको छ । यस दिन विवाह गर्न कुनै पनि वर तथा वधुले साहित जुराइ रहनु आवश्यकता पर्दैन । यो शुभदिन नेपाललगायत छिमेकी मुलुक भारतका विभिन्न भागमा बसोबास गर्ने हिन्दू धर्मावलम्वीहरूले विवाह गर्दछन् । यसैले, यस महान् दिनलाई विवाह पञ्चमीको रूपमा नेपाललगायत विश्वका समस्त हिन्दूहरूले धुमधामका साथ मनाउने गर्दछन् ।

प्रतिक्रिया