संस्कृति जोगाउन कला संस्कृति महोत्सव

सल्यान । लोपोन्मुख कला संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ त्रिवेणी गाउँपालिकाले लोक कला संस्कृति सम्मेलन गरेको छ । समाजमा परापूर्वकालदेखि रहेका पुराना संस्कृतिको जर्गेना गर्ने उद्देश्यले शनिबार त्रिवेणी तीर्थशाला धाममा लोककला संस्कृतिको सम्मेलन गरिएको हो ।

सल्यानको पवित्र धार्मिक स्थल त्रिवेणी तीर्थशाला धामको प्रांगणमा मारुनी, पुरुसुङे र मादलेले भरपुर मनोरञ्जन दिए । कार्यक्रममा त्रिवेणीका ६ वटै वडाबाट १५ वटा समूहले पैस्यारु, सोरठी र बनगाडी टप्पा नाच प्रस्तुत गरेका छन् ।

त्रिवेणी–३ को पैस्यारु नृत्यको गुरु धनवीर ओलीले सयौँ जनाको बीचमा आफ्नो गाउँको पुरानो नाच देखाउन पाउँदा खुसी व्यक्त गरे । उनले भने, ‘पहिलेपहिले गाउँघरमा मेला, पर्व, विवाह, चाडवाडमा सोरठी, पैस्यारु नाच नाचिन्थ्यो । हाम्रो संस्कृतीको मलाइ निकै माया लाग्छ । तर, पछाडिका सन्तानले यो कला संस्कृति चटक्कै बिर्सने हुन् कि भनेर चिन्ता लाग्छ ।’

सोरठीको लागि त्रिवेणीको पिमखोला उद्गम थलो मानिन्छ । यहीँबाट सल्यानभर सोरठी फैलिएको बताइन्छ । सोरठीमा मारुनीले घाँगर, चोली, धरो, रुमाल, गाउँघरतीर पाइने वनस्पछि केतुकीको कपाल, चुरा, पोते, टिका आदि लगाउने गर्छन् । पुरुसुङेले दौरा सुरुवाल, स्टकोट लगाएको हुन्छ भने कम्पनी माला र शिरमा सेली पहिरिएको हुन्छ ।

यस्तै लहरे नाचले पनि परिचित पैस्यारु नाचमा सबैजना गोलो घेरामा नाच्ने गर्दछन् । मगर भाषाको पैस्यारुको अर्थ केलाउँदा ‘पै’ भनेको काठको कोसिको बिट र ‘स्यारु’ को अर्थ नचारु भन्ने हुन्छ । यसरी काठको कोसिको बिट जस्तै गोलो आकारमा नाच्ने भएकाले यसलाइ पैस्यारु नाच भन्ने गरिएको यससम्बन्धी जानकारहरूले बताउने गर्छन् । कतै कतै लहरे नाचलाई ढिकुरे नाच पनि भन्ने गरेको पाइन्छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर विष्टले मौलिक नृत्य सम्मेलनको आयोजना गरेर त्रिवेणी गाउँपालिकाले गाउँठाउँका मौलिक संस्कृति संरक्षणतर्फ सबैलाइ जागरुक बनाएको बताए । यस्तै शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले कला संस्कृतीमा धनी जिल्ला सल्यानमा मौलिकता जोगाउन पर्याप्त पहल हुन आवश्यक रहेकोमा जोड दिए ।

यस्तै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बनगाडी टप्पा, सोरठी सल्यानको सम्पत्ती र पहिचान भएकाले यसलाई दर्ता गरेर संरक्षण गर्नुपर्ने तथा यसलाइ नै पर्यटक भित्राउने र आर्थिक उन्नतीको माध्यम बनाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले आफूहरूले कुन वडामा कस्ता मौलिक संस्कृति रहेछन् भनेर योपटक कार्यक्रम राखेको बताउँदै मौलिक संस्कृति संरक्षणमा गाउँपालिकाले निरन्तर कार्यक्रमहरू गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । यस्तै पत्रकार महासंघका केन्द्रीय सदस्य टेकराज शाही, जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माले मन्तव्य राख्दै एक दर्जनबढी समूहलाई बोलाएर मौलिक नृत्य सम्मेलन गर्न सफल भएको भन्दै गाउँपालिकाको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया