किन हुँदै छ, कांग्रेसमाथि प्रतिगामीको आक्रमण

०७ सालको जनक्रान्ति सकिएलगत्तै सुरु भएको नेपाली कांग्रेसमाथिको प्रतिगामी आक्रमण अहिले अझ तीव्र पारिएको छ । नेपाली कांग्रेसकै कारण आफूहरू फालिएको महसुस हिजो राणाहरूले गरेका थिए, आज शाहहरूले गरेका छन् । त्यसैले, नेपाली कांग्रेसलाई कमजोर बनाउन यतिवेला राणा शाहहरूको मोर्चाबन्दी सुरु भएको छ ।

लामो समयदेखि नेपाली कांग्रेसलाई पार्टीभित्रैबाट कमजोर बनाउने काम प्रतिगामी शक्तिबाट भइरहेको छ । ०७ सालको जनक्रान्ति सकिएलगत्तै सुरु भएको नेपाली कांग्रेसमाथिको प्रतिगामी आक्रमण अहिले अझ तीव्र पारिएको छ । नेपाली कांग्रेसकै कारण आफूहरू फालिएको महसुस हिजो राणाहरूले गरेका थिए, आज शाहहरूले गरेका छन् ।

त्यसैले, नेपाली कांग्रेसलाई कमजोर बनाउन यतिवेला राणा–शाहहरूको मोर्चाबन्दी सुरु भएको छ । नेपाली कांग्रेस गौरवपूर्ण इतिहास बोकेको राजनीतिक शक्ति हो । ०७ सालको जनक्रान्ति मात्रै होइन ०६२-६३ सालको राजनीतिक परिवर्तन र संघात्मक गणतन्त्रका लागि आधार निर्माण गर्ने काममा नेपाली कांग्रेसको नै महत्वपूर्ण भूमिका छ । जनयुद्ध गरिरहेको तत्कालीन माओवादी पार्टीलाई शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याउने कामको नेतृत्व पनि नेपाली कांग्रेसले नै गरेको हो ।

कांग्रेसले अग्रसरता नलिएको भए त्यो सम्भव थिएन । लोकतन्त्रका लागि लामो समयदेखि लड्दै आएको कांग्रेस अहिले कमजोर बनेको छ । प्रतिपक्षको जुनभूमिका खेल्नुपर्ने हो, त्यो खेल्न सकिरहेको छैन । सरकारले मनपरी गर्दा खबरदारी गर्नुपर्नेमा निरीह बनेर बसेको छ । देश र जनताको पक्षमा आफूलाई सचेत र सक्रिय बनाउने काममा नेतृत्वले ध्यान पु¥याउन सकिरहेको अवस्था छैन । पटकपटक सरकारमा रहँदा पनि देश र जनताको पक्षमा काम गर्न सकेन ।

नेपाली कांग्रेसका लागि काम गर्ने अवसरहरू प्राप्त नभएका होइनन् । अवसरलाई सही ढंगले सदुपयोग गर्न सकेन । कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको प्रमुख शक्ति हो । यो पार्टी कमजोर हुँदा लोकतान्त्रिक मूल्य मान्यतामा आधारित देशको राजनीति नै कमजोर हुने खतरा छ । तसर्थ, कांग्रेसलाई सशक्त र प्रभावकारी बनाउन जरुरी छ । पार्टीभित्रको गुट अनि उपगुटको अन्त्य हुन जरुरी छ । यो पार्टी कमजोर हुनुको कारण गुट उपगुटको विस्तार नै हो ।

अहिले पार्टीलाई एकताबद्ध ढंगले अगाडि बढाउनुपर्ने जरुरी देखिएको छ । पार्टीभित्रको गुट उपगुटको राजनीतिले कांग्रेसलाई एकताबद्ध हुन दिएन । यो नै ठूलो समस्या हो । कांग्रेसमा संस्थापन पक्ष र अर्को पक्षको रूपमा विभाजित छ । यो पार्टीभित्रको रोग हो । समयमै सही ढंगले उपचार गरिएन भने रोगले पार्टीलाई समाप्त पार्न सक्ने खतरा पनि छ । संस्थापन पक्षले सबैलाई समेट्ने गरी आन्तरिक राजनीतिलाई व्यवस्थित गर्नुपर्ने जरुरी देखिन्छ ।

अब कांग्रेस एक ढिक्का भएर स्थानीय तहसम्म पुग्नुपर्छ । पार्टीभित्रको आन्तरिक विवाद मिलाएर कांग्रेस एक ढिक्का हुन सकेन भने उसले भोलि ठूलो समस्या व्यहोर्नुपर्ने अवस्था आउन सक्छ । अहिले पार्टीभित्र गुट–गुटका आन्तरिक बैठकहरू हुने गरेका छन् । यो राम्रो पक्ष होइन । यसले राम्रो सन्देश दिँदैन । स्पष्ट विचार नीति सिद्धान्त लिएर जुन पार्टी जनतासँग पुग्छ, त्यही पार्टी नै बलियो हुन्छ । बलियो संगठनात्मक संरचना खडा गरेर कांग्रेसअघि बढ्न सक्यो भने ऊ पुरानो अवस्थामा फर्किन कुनै समय लाग्दैन ।

बिगतका कमीकमजोरीहरू सुधार गदै जानुपर्ने आवश्यकता कांग्रेससामु देखिएको छ । कुनै पनि राजनीतिक दलको नेतृत्व गर्ने व्यक्ति भिजनकारी हुनु जरुरी छ । अहिले कुनै पनि राजनीतिक दलमा त्यस्ता नेताको अभाव छ । दूरदर्शी नेता भएको भए देशको यो हाल हुने थिएन । सत्ता र शक्तिका लागि मात्र राजनीति गर्ने धेरै भए, देश र जनताको भलाइका लागि राजनीति गर्ने नेता थोरै भए ।

यसले गर्दा पनि देशको विकास हुन नसकेको हो । मुलुकलाई समृद्धिको मार्गमा लैजान स्पष्ट विचार र दृढ ईच्छा शक्तिको खाँचो हुन्छ । त्यो अहिलेसम्म देखिएको छैन । विकास र समृद्धिको नारा सरकारले अघि सारेको छ । यो नारा पूरा गर्न कांग्रेसको पनि ठूलो भूमिका हुनुपर्छ । कांग्रेस भनेको मुलुकको प्रमुख प्रतिपक्षी दल हो । प्रतिपक्षी दल भनेको छायाँ सरकार हो ।

त्यसो भएको हुनाले प्रतिपक्षको भूमिका कांग्रेसले राम्रोसँग खेल्न सक्नुपर्छ । सरकारका काम कारबाहीप्रति जनता निराश छन् । सरकारका गलत काम कारबाहीमाथि प्रतिपक्षले आवाज उठाइरहनुपर्छ । कांग्रसले त्यो पनि गर्न सकिरहेको छैन । संघीय गणतन्त्रको पहिलो चुनावमा कांग्रेस पराजित हुन पुग्यो । जनताको असन्तोष बढ्दै गएको कुरालाई कांग्रेसले विगतमा कुनै ध्यान नै दिएन ।

अहिलेको समय कांग्रेसका लागि धेरै कठिन हुँदै गएको छ । कांग्रेसले आफूलाई समयानुकूल चलाउन सकेको छैन । एउटा लोकतान्त्रिक पार्टीले आफ्नो मुलभूत लक्ष्यको पहिचान गर्न नसक्नु ठूलो कमजोरी हो । पार्टीभित्र बौद्धिक र ऊर्जावान् युवा नेताहरू पनि छन् । तर, तिनीहरूको आवाज पार्टीभित्र सुनिँदैन । यो अवस्थामा कांग्रेसले कसरी आफूलाई समयअनुसार लैजान सक्ला भन्ने प्रश्न उठेको छ । अहिले कांग्रेस आफ्नो संरचनात्मक सुधारमा लाग्नुपर्छ । कांग्रेसले यति लामो समय मुलुकमा शासन गरेर पनि देश र जनताको भलाइ गर्न सकेन भनेर विरोधीहरूले आरोप लगाइरहेका छन् ।

यस बारेमा पनि कांग्रेस नेतृत्व गम्भीर बन्न जरुरी छ । बिपी कोइरालाले अघि सारेको समाजवादमा कांग्रेस हिँड्न सकेको छैन । बिपी कोइराला डेढ वर्षभन्दा कम समय मात्र प्रधानमन्त्री भएका थिए । उनको सबैभन्दा लोकप्रिय काम भनेको बिर्ता उन्मूलन नै हो । उनको कार्यकाल सामन्ती सोचका विरुद्ध लड्दालड्दै बित्यो । महत्वपूर्ण काम मध्येको एक उनले बनाएको दोस्रो पञ्च वर्षीय योजनाको खाका हो । खाकालाई कार्यान्वयन गर्न उनले पाएनन् । बिपीकै पालामा नौवटा जति राजमार्गको सुरुआत एकैपटक गरिएको थियो । तिनले पनि निरन्तरता पाएनन् ।

बिपीको सोच दूरदर्शी थियो । बिपीको समाजवाद, समानता र सामाजिक न्यायका लागि हो । जसको अभाव अहिले कांग्रेसभित्र खड्किरहेको छ । बिपीको सोचअनुसार कांग्रेसअघि बढ्ने हो, भने जनताको साथ र समर्थन पाउन सक्छ । अहिले बिपी जीवित भएको भए देशको मुहार फेरिन सक्थ्यो । बदलिएको अन्तर्राष्ट्रिय परिवेश र मुलुकभित्रको चुनौती जटिल भएको छ । बिपीको समाजवादी विचार हाम्रो देशको माटो सुहाउँदो थियो । उत्पादन वृद्धिका साथै लगानी पनि वृद्धि गर्नुपर्छ र त्यसका लागि बढीभन्दा बढी बचत गर्नुपर्छ भन्ने बिपीको समाजवादी सोच थियो । बिपीका आर्थिक नीति पनि दूरदर्शी थिए ।

जति उत्पादन गरिन्छ, त्यसमध्ये केही जोगाउन सकिएन भने परिवारको विकास र उन्नति हुँदैन । समाजवाद भन्दैमा वितरणको कुरा गरेर मात्र पुग्दैन, उत्पादन बढाउनुपर्छ यसकालागी पुँजी चाहिन्छ भन्ने सोच बिपीमा थियो । मुलुकमा गरिबीको अवस्थाले पार्ने नकारात्मक असर र त्यसबाट प्रजातन्त्रमा पर्न सक्ने खतरा बारे बिपीमा राम्रो ज्ञान थियो । अहिलेको कांग्रेस र बिपीको पालाको कांग्रेसमा धेरै फरक छ । अब कांग्रेसले आन्तरिक संगठन बलियो बनाउने, पार्टीलाई सुदृढ, प्रभावकारी बनाउँदै संगठनका संरचना लगायतका कुरामा ध्यानदिनुपर्ने आवश्यकता देखिएको छ ।

दुई ठूला पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा इतिहासकै सबैभन्दा ठूलो पार्टी बनेको छ । काग्रेसका लागि यो ठूलो चुनौती हो । यो चुनौतीलाई चिर्न सक्छ कि सक्दैन ? भन्ने मूल प्रश्न हो । स्वाभाविक नै हो कांग्रेस कमजोर हुँदा लोकतन्त्र धरापमा पर्न सक्छ । कांग्रेसले आफूलाई सुधार गरेर देशव्यापी रूपमा संगठन विस्तारमा लाग्नुपर्ने जरुरी देखिन्छ । कांग्रेसले पार्टीलाई बलियो र शक्तिशाली बनाउन सकेन भने आउँदो चुनावमा पनि चिन्ताजनक नतिजा आउन सक्छ ।

त्यसबारेमा पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि गगन थापा, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह त्यस्तैगरी, कृष्ण सिटौला, विजयकुमार गच्छदार लगायतका नेताहरूबीच भावनात्मक एकताको खाँचो छ । यी नेताहरूका बीच गुट उपगुट बन्नु हुँदैन । संकटको वेला पार्टीलाई एक ढिक्का बनाएर लैजान सकेनन् भने नेकपासँग प्रतिस्पर्धा गर्न समस्या हुनेछ । नयाँ सोच, चिन्तन र कार्य योजनाका साथ कांग्रेसअघि बढ्न खोज्यो भने भविष्य राम्रो छ ।

०४६ सालपछि सत्ता प्राप्तिसँगै कांग्रेसभित्र गुट र उपगुट निर्माण भए, यसले गर्दा कांग्रेस कमजोर बन्दै आएको छ । कांग्रेस कमजोर हुनुको कारण उसले बिपी कोइरालाको सिद्धान्त र विचारधारा त्याग्दै जानुले पनि प्रमुख कारण हो । कम्युनिस्टसँग राजनीतिक सहकार्य गरेर कांग्रेसले आफ्ना मूल्यमान्यता बिर्सिंदै गयो । संघीयताको विषयमा प्रस्ट धारणा जनतासँग राख्न सकेन । धर्मको बारेमा पार्टीभित्र फरक–फरक विचारले अन्योलता दिइरहेको छ । अब कांग्रेसले समस्या समाधानको बाटो समाउनु पर्छ । काग्रेसले राष्टियता, प्रजातन्त्र र समाजवादको मूल सिद्धान्तमा फर्किएर हिँड्नुपर्छ । कांग्रेसले समाजवादको सान्दर्भिकता खोजेर अघि बढ्नुपर्छ । त्यसो भयो भने कांग्रेस कमजोर हुँदैन ।

प्रतिक्रिया