गाउँगाउँमा सिंहदरबार भेटेपछि भौँतारिदै संघीय राजधानी काठमाडाैँ पुगेको केहि दिनमा बिजुलीको पोल पोलमा सरकार देख्न पाइयो । सोचेँ सरकार त पत्रपत्रिका र बिजुलीको पोल–पोलमा पो रहेछ । म बबुरो गाउँगाउँमा सरकार खोजिरहेको न्याए खोजिरहेको समृद्धि खोजिरहेको । केहि दिन पहिले नयाँ युगको चर्चा मात्र चलेन नेपालका पत्रपत्रिका र बिजुलीका पोलमासमेल प्रधानमन्त्रीका फोटासहितको नयाँ युग देख्न पाइयो ।
सरकार बिजुलीको पोलमा मात्र देखिएन एउटा आइएनजिओको कार्याक्रममा सहआयोजक भएर विदेशी पाहुनालाई एयरपोर्टमा स्वागत गर्न गएको पनि देखियो । विवादित एसिया प्यासिफिक समिट र इसाई कार्यक्रम विरुद्ध विरोध गर्दा पूर्वमन्त्री विराज विष्टसहित २६ जना पक्राउ गरेर गौशाला लगिँदा पनि सरकार देखियो । सरकार आजभोलि यस्तै ठाउँ देखिन थालेको छ । यो सरकारको लाचारीपन हो कि क्रिश्चियन धर्मावलम्बीहरूले धर्म प्रचारको लागि आयोजना गरेको कार्यक्रममा आर्शिवाद थाप्नको लागि वामपन्थी नेता पदाधिकारीहरूले हानथाप गरेको हो बुझ्न सकेको छैन ।
यो नयाँ युग भनेको सरकारले श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गरेको कार्यक्रम हो । यो घोषणालाई सरकारले नयाँ युगको संज्ञा दिएको छ । यो सामाजिक सुरक्षा योजना रोजगारदाताले श्रमिकको बेसिक तलबबाट ११ प्रतिशत रकम कट्टी गरेर सो रकममा २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् । जम्मा हुने रकमबाट कामदारलाई पेन्सन, अवकास, सुविधाको साथमा काम गरेको ठाँउमा हुने दुर्घटनाको बिमा, उपचार खर्च र परिवारका लागि विभिन्न सुविधाको घोषणा गरेको छ ।
यो प्रयास अत्यन्त राम्रो हो तर एकाएक राजधानी नै रंगिचंगी बनाउने गरी विज्ञापन गर्नु कत्तिको उचित हो भन्ने मात्रै प्रस्न उठ्न थालेको छ । हामी एसियाको दोस्रो गरिब देशका नागरिक हौँ, देश आन्तरिक स्रोत भन्दा वैदेशिक सहायता र रेमिट्यान्सले धानेको छ । जे होस प्रतिपक्षलाई सरकार देखाउनको लागि गरेको प्रचार निजी क्षेत्रले पैसा तिरेर पोल पोलमा प्रधानमन्त्रीको फोटा झुन्ड्याइयो ।
राजधानी काठमाडांै बाट प्रकासित हुने पत्रपत्रिकाको जाडोमा ज्याकेट पनि लगाइयो समृद्धि भएकै मान्दा हामीलाई के फरक पर्छ र ? सरकार समृद्धिको पक्षमा र देश विकासको पक्षमा छ र शान्तिसुरक्षाको पक्षमा छ यो गौरवको कुरा हो । सरकारले नयाँ युगको सुरुआत गरेको दोस्रो दिन अर्थात् गत मंगलबार बिहानैबाट सामाजिक सञ्जालमा यो युगको आलोचना भने नभएको होइन । सामाजिक सञ्जालमा ‘पोल–पोलमा सरकार, टोल–टोलमा बलात्कार, समृद्ध नेपाल सुखी नेपाली, भन्नेहरूको पनि कमि थिएनन् ।
सरकार पक्षधरहरूले यसलाई कसरी लियो उनैले जानुन् । तर, प्रविधिको युगमा जनताले एक किसमको विरोध नै जनाएका हुन् । प्रधानमन्त्री ओलीले ल्याएका भनिएको गौरवका योजनालाई सामाजिक सञ्जालमा हावादारी गफ नभनेका त होइनन् उदाहरण नै लिने हो भने वृद्ध भत्ता, पानीजहाज, पाइपबाट ग्याँस घरघरमा पुर्याउने योजना, हावाबाट बिजुली लगायतका कार्यक्रमको आलोचना हुँदै आएको छ । माथि उल्लेखित सबैकुरा सरकार पक्षले हेर्ने हो भने विरोध र आलोचनाका लागि लेखिएका शब्दबाहेक केही पनि होइन भन्न सकिएला ।
तर, सरकारले भन्ने गरेको समृद्धि र वामपन्थी सरकारलाई दुर्गम जिल्ला र गाउँबाट भने हेर्न सकिएको छैन । भ्रष्टचार व्याप्त छ , न्यायका लागि अनसनतर पन्तले मानसिक सन्तुलन गुमाएर महेन्द्रनगरबाट काठमाडांै पु¥याई उपचार गरिरहेका छन् । काठमाडांैमै पूर्व राजदूतको हत्या कस्ले ग¥यो पत्ता लगाउन सकेको छैन ।
काठमाडाैँमै फिरौतिका लागि अपहरणपछि हत्याका घटना दिनका दिन बढ्दै गइरहेका छन । प्रधानमन्त्री केपी शर्मा ओली भाषण गर्दै भन्छन सरकार सिन्को भाच्न बनेको होइन काम गर्न बनेको हो । ३३ किलो सुन काण्डदेखि सिन्डिकेड र निर्मला काण्ड सम्म सरकारले काम गरेको र सरकार भएको भानसम्म पनि हुनसकेको छैन् । देशमा भयको वातावरण सिर्जना भएको छ ।
प्रदेश एकमा मात्रै एक महिनामा तीन जनाको गोली हानी हत्या गरियो । त्यसको हत्यारा पत्ता लगाउन सकिएको छैन । आफन्तहरू अहिले पनि हत्यारा पत्ता लगाउन माग गर्दै आन्दोलनमा छन् । प्रदेश–७ मा भएको बलात्कारपछि हत्यापछि दुई दर्जनभन्दा बढी बलत्कारका घटना बाहिर आए सरकारको ध्यान जान सकेन । नेपालमा हरेक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको शिकार भएका छन् ।
नेपालमा पनि बलात्कारको शिकारमा महिला कति रहेछन् भन्ने कुरा अहिले मिटु अभियानले समेत बाहिर ल्याउँदै गरेको छ । बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ । बलात्कारीको निसानामा धेरैजसो बालिका पर्ने गरेको प्रहरी तथ्यांकले देखाउँछ । नेपाल प्रहरीको तथ्यांक्अनुसार बलात्कृत हुनेमा सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेरका बालिका रहेको तथ्यांक बाहिर आएको छ । त्यसपछि १० वर्षमुनिका बालिका छन् ।
बालिका र किशोरी मात्रै होइन, वृद्धासमेत बलात्कारको शिकार भएका छन् । यो नेपाल प्रहरीसँग भएको तथ्याङक हेर्दा जनताले देशमा शान्ती सुरक्षाको आसा गर्नु पर्ने ठाँउ नै देखिँदैन । यहि नयाँ युगमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि आन्दोलनरत अधिकारवादीहरूलाई पक्राउ गर्न लगायो र फोटो च्यात्न लगायो । सरकार न्यायिक आन्दोलनलाई दबाउनसमेत सडकमा पनि देखियो ।
रोजगार र युवा व्यवस्थापनको सन्दर्भमा भन्ने हो भने मलेसियासँग श्रम सम्झौता गरेर नेपालमा विकास हुन्छ भन्दै नयाँ युगको विज्ञापनमा श्रम तथा रोजगार मन्त्रीको फोटो झुन्ड्याउनुको कुनै अर्थ छैन । सरकारले यस्लाई सफलता त मान्ला तर नेपालमा आन्तरिक रोजगार सिर्जना गर्नुको साटो फ्री भिसा र फ्री टिकट बनाई युवाहरूलाई खाडिमुलुक पठाउनु देशकै दुर्भाग्य हो ।
नेपालमा भइरहेको अव्यवस्थित बसाइसराई, गाउमा भएको जग्गा बाँझो राखी सहरीया जीवन यापन र युवाहरूलाई आत्मा निर्भर भन्दा परनिर्भर बनाउनुमा वैदेशिक श्रम सम्झौताले जलमल गरेको छ । यस क्षेत्रमा सरकारले ध्यान दिन सकेको छैन । विश्वका ७२ मुलुकका शिक्षालयमा अध्ययनका लागि स्वीकृतिपत्र लिएका छन् । पढ्नकै लागि भनेर नेपालबाट दैनिक सरदर २०० को हाराहारीमा विद्यार्थीहरूले स्वीकृतिपत्र लिइरहेका छन् । नेपालले रोजगारीका लागि १ सय ९ वटा देश खुल्ला गरेको छ तर पनि नेपाली युवा खुल्ला नगरेका देशहरूमा पनि रोजगारीका लागि गइरहेका छन् ।
कामको खोजीमा दैनिक रूपमा खाडी मुलुकमा जाने संख्या पन्द्र सय भन्दा बढेको छ । भएको कृषि पेसासमेत बन्द गरेर आफ्नो पाखाबारी बाझोराखेका छन । वैदेशिक रोजगारीमा जानेमध्ये सबैजसो युवा उमेर समूहका छन् । हाम्रो देशमा धेरैजसो घरपरिवारको आर्थिक आयआर्जनको प्रमुख श्रोत कृषि हो । कृषि छेत्रमा हाम्रो देशको कुल जनसंख्याको ६० प्रतिशत जनशक्ति खटिएको छ ।
आधुनिक कृषि प्रविधि र आधुनिक व्यावसायिक कृषि प्रणाली नभएकै कारण नेपालले खाद्यान्नमा समेत परनिर्भर हुनुपरेको छ । नयाँ युग सुरु भएपछि देश भित्रकै आन्तरीक स्रोतको उपयोग गर्न आन्तरिक शक्तिलाई नै प्राथमिता दिनुपर्ने हो । नेपालमा पाइने करिब ७ हजार प्रजातिका फूल फुल्ने वनस्पतिहरू मध्ये करिब ८ सय प्रजातिका जडिबुटीहरू पहिचान भइसकेका छन् । ६ हजारभन्दा बढी नदिनाला छन् । युवा जनशक्तिलाई फ्रि भिसा फ्रि टिकटमा विदेश पठाउनु भन्दा जडीबुटी खेतीको लागि आवश्यक तालिमदिई स्वदेशमै रोजगारी सिर्जना गनुपर्ने हुन्छ ।
जडिबुटीमा आश्रित घर धुरीलाई आधार मान्दा तराईमा तुलनात्मक रुपमा कम, पहाडमा मध्यम र हिमाली भेगमा बढी घरधुरीहरू आश्रित रहेको पाइन्छ । सरकारले आवश्यक प्रविधि र प्रविधिक लगाई जनतालाई व्यावसायिकतर्फ लैजाने हो भने प्रधानमन्त्रीको फोटो पत्रिकामा छपाउन कुनै आवश्यक देखिँदैन । यसैबाट देशमा नयाँ युग सुरु हुने छ । नेपालको जलसम्पदा पिउन, व्यक्तिगत सरसफाइ, कृषि, धार्मिक क्रियाकलापहरू, औद्योगिक उत्पादन, जलविद्युत् निर्माण र मनोरञ्जनका क्रियाकलापहरू आदिको निम्ति उपयोग गरिँदै आएको पाइन्छ ।
सम्पूर्ण नदीहरूको जलभण्डार क्षमतालाई हेर्दा यहाँ दुई लाख दुई हजार मिलियन क्यूबिक मिटरको जलभण्डार क्षमता रहेको छ । साथै कोसी, गण्डकी र कर्णालीजस्ता तीन ठूला नदीहरूको क्षमता एक लाख ४८ हजार क्यूबिक मिटर अर्थात् नेपालको कुल जलस्रोत क्षमताको ७५ प्रतिशत रहेको छ । विश्वको दोस्रो तथा एसिया महादेशको प्रथम पानीको धनी मुलुक नेपालले हालसम्म आफूसँग भएको ठूलो अर्थोपार्जनको खानीलाई राम्रो सदुपयोग गर्न सकिरहेको छैन ।
जलस्रोतमा विश्वको देस्रो धनी देश भए पनि नेपाली जनताले आफ्नो खेतबारीमा नजिकै खोलाको पानीले सिँचाइ गर्न पाएको छैन । यो समस्या समाधान तर्फ नयाँ युगको सुरुवात गर्दा सरकारले रत्तिभर सम्बोधन गरेको देखिएन । जनताको दैनिक जिवनमा परीवर्तन ल्याउनका लागि सरकारले भाषण र पत्रपत्रिकामा विज्ञापन छाप्नुभन्दा ग्रामिण क्षेत्रमा कृषिमै र जलविद्युत्मै लगानी गर्न सके जनताको जुग फेरीन्छ ।
बहुमतको दम्वमा विवादित धार्मिक कार्यक्रम गर्नु र न्यायको लागि आन्दोलनरत जनतालाई न्यायको आभाष दिलाउन नसक्नु, भाषण गर्दा सरकार देखाउनको लागि प्रचार गरेको भन्नुले जनतालाई के सन्देश जान्छ । अब कामरेडको सरकारलाई समृद्धिको मन्त्र जप्दै विजुलीकै पोलमा प्रधानमन्त्रीको फोटा देख्नुभन्दा समान न्याय, भ्रष्टाचार मुक्त समाज, विभेद मुक्त समुदाय र दुरदराजमा बिजुलीका पोल गुणस्तरीय शिक्षा प्रणाली देख्न पाए मात्र नयाँ युगको सपना सकार होला की ?
प्रतिक्रिया