मोटी युवती सौन्दर्य प्रतियोगिता

काठमाडौं । ‘सुपर प्लस साइज मोडल नेपाल–२०१९’ सौन्दर्य प्रतियोगिता हुने भएको छ । उक्त प्रतिस्पर्धामा अविवाहित तथा विवाहित मोटी युवती तथा महिलाले उक्त प्रतिस्पर्धामा भाग लिन पाउने छन् ।

ओमनियाकी प्रबन्ध निर्देशक प्रियंका बोथ्राका अनुसार प्रतियोगिता प्लस साइज (मोटोपन) भई निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधैँ पछि परेका महिलालाई उत्साहित बनाउने गरी आयोजना गरिएको हो । मोटोपनले गर्दा आफूलाई एक्सपोज गर्न हच्किएका महिलालाई लक्षित गर्दै प्रतियोगिता गरिएको प्रियंकाले बताउँदै भनिन्, ‘उनीहरूको क्षमता अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने प्रतियोगिताको लक्ष्य हो ।’

प्रतियोगितामा भाग लिनको लागि १६ देखि ४५ वर्ष उमेर समूहका महिला साथै उचाइ ४.८ फिट र तौल ५५ केजीभन्दा माथिका प्रतियोगी हुनुपर्नेछ । प्रतियोगिताका लागि छनोट हुने प्लससाइज सुन्दरीलाई पच्चिस दिन लामो विशेष प्रशिक्षण प्रदान गरिने मोडल संग्स नेपालका प्रबन्ध निर्देशक डेविलसिंह राजपूतले जानकारी गराए ।

जसमा नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट प्रतिस्पर्धीलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसनल क्लास तथा व्यक्तित्व विकाससम्बन्धी विविध विषयमा प्रशिक्षण प्रदान गरिने छ ।

डेविलका अनुसार विजेताले नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता टप अफ द वल्र्ड प्लस साइज, २०१९ मा सहभागिता जनाउन पाउनेछन् । प्रथम विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता वल्र्ड टप प्लस साइज, २०१९ मा सहभागिता जनाउन पाउनेछन् ।

मोडल संग्स नेपालको ब्रान्ड एम्बेस्डरको रूपमा कार्य गर्ने अवसर प्रदान गरिने पनि आयोजकले जनाएको छ । त्यस्तै, अनलाइन पत्रिका तथा अनलाइन म्यागाजिनमा मोडलिङ कन्ट्याक्ट र हरेक प्रतिस्पर्धीको निम्ति छुट्टाछुट्टै भिडियो प्रोफाइल बनाई बिन्ना म्यागेजिनमा प्रस्तुत गरिने बताइएको छ ।

प्रतिक्रिया